Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजलवायुमैत्री माटो संरक्षण तथा व्यवस्थापन

जलवायुमैत्री माटो संरक्षण तथा व्यवस्थापन


कृष्ण अधिकारी
नेपालका सन्दर्भमा माटो र पानीको उचित व्यवस्थापनको कमीले गर्दा कृषियोग्य जमीनबाट वर्षेनी मलिलो माटो बगेर खेर गइरहेको छ । भिरालो जमीनको व्यवस्थापन गर्न सकिए मात्रै जनसङ्ख्याको वृद्धिसँगै खेतीयोग्य जमीनमा पनि चापलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सकिन्छ । भिरालो जमीनका कान्ला र खोरियामा अत्यन्त मिहेनतसाथ काम गर्दा पनि कृषि उत्पादनले वर्षभरि दुई छाक टार्न छाक टार्न धौधौ पर्ने स्थिति छ । त्यसमाथि लगभग ८० प्रतिशतसँग आफूले भोगचलन गर्दै आएको जग्गा जमीनको धनीपूर्जा समेत नभएको अवस्था छ । सिंचाइयोग्य जमीन निकै कम हुनु, परम्परागत कृषि प्रणाली तथा निरन्तर घट्दो उत्पादकत्व यिनीहरूको खाद्यान्न समस्याका प्रमुख कारणहरूमध्ये पर्छन् । नेपालमा एकातिर जमीन बाँझो र अर्धबाँझो राख्ने क्रम बढ्दै गएको छ भने अर्कोतिर हाम्रा मौलिक कृषि प्रणालीहरू लोप हुँदै जाँदा खाद्यान्नमा परनिर्भरता र खाद्य असुरक्षा मुख्य समस्याको रूपमा रहेको छ । जमीन बाँँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राज्यस्तरबाटै ठोस पहल हुनु आवश्यक छ ।

भिरालो जमीनमा गरिने खोरिया खेती प्रणालीमा कृषि वनको अवधारणाअनुसार बढी उत्पादन लिन सकिने, बहुबाली लगाउने र नगदे बालीलाई प्रोत्साहन दिन सकिएमा निर्वाहमुखी कृषिलाई निर्यातमुखी कृषिमा बदल्न सकिन्छ । यसबाट वातावरण संरक्षण गर्न र जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्दछ । साथै, यसबाट पशुपालनलाई प्रोत्साहित गर्न, खाद्य उत्पादनमा विविधीकरण गर्न र पौष्टिकताको आपूर्ति बढाउनसँगै गरिबी निवारण र दिगो जीविकोपार्जनलाई सुनिश्चित गर्दछ ।

पहाडी जिल्लाका अधिकांश कृषि योग्य जमीनहरू भिरालो भएको र त्यस्तो जमीनमा उपयुक्त गह्रा सुधार नगरी खेती गरिने गरेका कारण वर्षेनी लाखौँ टन मलिलो माटो बग्ने गर्दछ । यसरी प्रत्येक वर्ष मलिलो माटो बगेपछि माटो कहिल्यै उर्वरा हुन सक्दैन । पानी बग्दा मिसिएर बग्ने धमिलोपनमा हुने माटोको कण सबैभन्दा मलिलो भाग हो । जसमा बिरुवालाई आवश्यक पर्ने खाद्य तत्वहरू विद्यमान हुन्छन् । एक मिटर क्षेत्रफलको जमीनबाट माटो बग्दा १० केजी नाइट्रोजन, ६ केजी फस्फोरस र १५ केजी पोटास नष्ट भई उत्पादनमा ह्रास आएको तथ्य एक अनुसन्धानले देखाएको छ ।

जलवायुमैत्री कृषि अभ्यासहरूलाई आवश्यकतानुसार प्रयोग गरी माटो स्थिर राख्न र विकास गर्न सके मात्र वर्षेनी त्यसमा मलिलोपना थप्दै उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । माटो संरक्षण तथा सुधारका लागि अपनाउन सकिने विभिन्न उपायहरू छन् । ३० डिग्रीभन्दा बढी भिरालो जमीनमा कान्लातर्फ हल्का भिरालो गह्रा सुधार गर्नुपर्दछ । किनारामा केही अग्लो आली बनाई सधैँ घाँस वा बिरुवाले छोप्ने गर्दा यसले माटो बाँध्ने काम गर्छ र र पानीसँग माटो बग्न पाउँदैन । भिरालो जमीनमा खेती गर्नुपर्ने भएमा न्यून वा शून्य खनजोत गरी खेती गर्ने, बीउ उर्मनाका लागि मात्र माटो खोर्सनु पर्दछ यस्तो जमीनमा मास, रहर, मुसुरो वा केही अन्य बाली पनि लगाउन सकिन्छ । धेरै भिरालो भए फलफूल, बगैंचा वा कृषि वन गर्न सकिन्छ ।

छापोको प्रयोग पनि परम्परादेखि गर्दै आएको एक प्रभावकारी खेतीको तरिका हो । यसमा सुकेका झारपात, पातपतिङ्गरलाई माटोको सतहमा राखेर गर्ने गरिन्छ । अदुवा, बेसार, पिँडालु आदिमा गर्ने चलन भए पनि अन्य बालीमा पनि गर्न सकिन्छ । गाईवस्तुले नखाने सुकेका झारपात माटोको तहमा मिलाएर राख्ने जसले माटो बग्नबाट रोक्नुको साथै चिस्यान कायम राख्छ । ती झारपात माटोमा कुहिएर प्राङ्गारिक मलसहितको माटो संरक्षण गर्न सकिन्छ । यसले गर्दा आकासबाट पर्ने र बगेर आउने पानीले त्यस जमीनको माटो बगाउने हुँदा यस्तो छापो लगाउँदा माटोको सुरक्षा हुन्छ ।

यस्ता भिरालो स्थानमा खेती गर्दा प्राङ्गारिक मल वा नसडेको पातपतिङ्गर, स्याउलाई माटोमा मिसाएर खेती गर्दा तत्काल माटो बग्ने वा उड्ने कुरामा कमी आउँछ भने माटोमा पनि मलिलोपना थपिन गई उर्वराशक्ति बढ्छ । वनजंगल नजिक हुने ठाउँहरूमा वनबाट सुकेका पातपतिंगरल्याई माटोमा मिसाउन सकिन्छ । कतिपय बाली काट्दा त्यसका डाँठ, पराल माटोमा छाड्ने गरिन्छ । भिरालो जमीनमा पानी बग्ने ठाउँको तह पानी जम्ने खाडल खन्दा माथिबाट बगेको पानी त्यस खाडलमा जम्मा हुन्छ । खाडल भरिएपछि मात्र पानी बाहिर बग्ने हुँदा माथिबाट पानीसँगै आएका माटोका कारण थिग्रिएर मलिलो माटो खेर जानबाट रोकिन्छ । वर्षा सकिएपछि यो माटो पुनः बारीमा राख्न सकिने हुँदा जमीनमा पानी रिचार्ज भई तल्लो भागमा चिस्यान बढ्ने र घटेका मूलहरू समेत बढ्न सक्दछन् ।

एक बाली मात्र लगाउनुभन्दा दुई वा बढी बालीहरू कृषिको आवश्यकता सम्भावित प्रकोपको अवस्था स्थानीय उपयुक्तता हेरी मिश्रित गरी वा अन्तरबाली लगाउन सकिन्छ । यसबाट बाली–बालीबीच अन्तरसम्बन्ध स्थापना हुनुको साथै जरा र बिरुवाको माथिल्लो भागले माटो बग्नबाट बचाउँछ । कुन बालीहरूबीच आपसमा मित्रवत सम्बन्ध रहन्छ भन्ने कुरा बुझ्न किसानले स–साना व्यावहारिक अनुसन्धान गरी पहिचान भएका बाली छनोटमा ध्यान दिनुपर्दछ ।

माटोमुनि र माटोमाथिको सतहको समुचित उपयोग गरी विभिन्न बाली लगाउने छिटो समयमा हुने मध्यम समय तथा एक वर्ष वा बढी समय लाग्ने बाली जराको गहिराई तथा बिरुवाको सम्भावित उचाइ प्रजातिबीचको अन्तरसम्बन्ध विचार गर्ने बालीहरू एकपटक लगाइने हुँदा प्रायः माटो सधैँजसो बिरुवाले ढाकेको हुन्छ । यसले माटो बग्न वा उड्न दिँदैन । कम जमीनबाट बढी उत्पादन, एक तहको बालीले लिन नसकेको मल जल अर्को बालीले प्राप्त गर्ने, जराले माटो बाँधिराख्ने र कुनै कारणवश एक बाली असफल भए अर्कोले सफलता दिने हुन्छ ।

भारपात वा वन व्यवस्थापनबाट प्राप्त खेर जाने जैविक पदार्थहरू बालेर तयार गरिने अर्गानिक कार्वनयुक्त वायोचारलाई माटोमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसले माटोमा लामो समय कार्वन स्थिरीकरण गर्न सकिन्छ । माटोमा मलिलोपन बढ्नुको साथै पानी अवशोषण गर्ने क्षमतामा वृद्धि हुन्छ । राम्रोसँग कुहिएको कम्पोष्ट मलको प्रयोग गर्दा माटोमा प्राङ्गारिक पदार्थ वृद्धि भई मलिलोपन बढ्छ । सुक्ष्म जीवाणुको गतिविधि बढ्ने, माटो बग्ने क्रम कम हुने र माटोको संरचना खुकुलो हुन्छ र उत्पादन बढी हुन्छ । मललाई एकदेखि डेढ महिनामा फर्काउने, बीचबीचमा माटो मिसाउने तथा प्रभावकारी सुक्ष्म जीवाणुको प्रयोगले छिटो र राम्रोसँग कुहिने हुन्छ ।

छिटो वृद्धि हुने कमलो प्रजातिहरूलाई जमीनमा रोपी त्यसको निश्चित अवधिमा पुनः माटोमा खनजोत गरी मिलाई मलिलोपना बढाएर खेती गर्न सकिन्छ । ढैँंचा, तिल, दाल बाली आदिलाई हरियो मलको रूपमा प्रयोग गर्दै आएको पाइन्छ । हरियो मल बनाउने बाली लगाउने समय तथा जोत्ने पल्टाउने समयको ख्याल गर्नुपर्दछ । खासयरी यस्ता बालीहरू फल फुल्ने समयमा माटोमा मिलाउँदा बढी मलिलोपन प्राप्त हुन्छ । सुख्खामा कम पानीबाट अधिक लाभ दिने थोपा सिंचाइको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । सादा पानीको अलावा सो पानीमा सातदेखि १० भागमा एक भाग गाईवस्तुको पिसाब प्रयोग गर्दा बिरुवमा नाइट्रोजन मलको मात्रा थप भई वादीको राम्रो वृद्धि हुन्छ । खासगरी पानीको अभाव रहेका क्षेत्रहरूमा यी विधि अपनाउँदा कम पानीले सधैँ बिरुवामा सिंचाइ गर्न सकिने र पिसाबको प्रयोग गर्दा कम श्रममा मलिलोपना थप गरी कृषि उत्पादन बढाउन सकिन्छ ।

फलफूलका बिरूवा लगाउने योजना भएको जमीनमा निश्चित दूरीमा दुई/तीन फिट गहिरो खाडल खनी त्यस खाडलमा अस्थायीरूपमा चर्पी बनाई प्रयोग गर्ने खाडल भरिएपछि माटामा खरानी मिसाई पुर्दा बिरुवालाई आवश्यक पर्ने पोटासको मात्रा थपिन्छ र अर्को स्थलमा त्यस्तै भरिएको खाडल बनाई अस्थायी चर्पी प्रयोग गर्न खाडलमा सिजनमा बिरुवा रोप्न सकिन्छ । खाडल भरिएको कम्तीमा पनि चार महिना पर्खिएर मात्र फलफूलको बिरुवा लगाउनु पर्दछ ।

पहाडी क्षेत्रमा धेरैजसो माथिललो भागमा वन तल खेतबारी हुने र वर्षामा वनबाट पानी बग्दै तल झर्ने गर्दछ । वर्षाको पहिलो भेलले वनको मलिलो पात पतिङ्गर तथा माटो बगाई ल्याउने र उक्त बानी खेतबारीमा लगाउँदा माटो मोलिलो भई उत्पादन बढ्छ । पहाडी क्षेत्रमा माटो संरक्षण तथा सुधारका लागि विभिन्न उपायहरूको बारेमा उल्लेखित तरिकाहरूलाई वन तथा वातावरण मन्त्रालयअन्र्तगत सञ्चालित पहाडी किसानका लागि अनुकूलन आयोजनाले कार्य क्षेत्रहरूमा कार्यान्वयन गगरेको छ । यसबाट स्थानीय किसानहरूको जीविकोपार्जनमा महत्वपूर्ण सुधार आएको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया