Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक रोजगारीमा युवाशक्ति

वैदेशिक रोजगारीमा युवाशक्ति


केबी बस्नेत
कुनै पनि राष्ट्रमा युवाशक्तिलाई एक बलियो एवम् भरपर्दाे खम्बाको रुपमा अंगीकार गरिन्छ । वास्तवमा यस्तो शक्तिबाट नै जुनसुकै राष्ट्रले आफ्नो लक्षित उद्देश्य हासिल गर्नसक्छ । यो कुरा विकसित राष्ट्रहरुको अनुभवबाट प्रष्ट हुन्छ । कुनै पनि राष्ट्रका युवाहरु त्यस देशका भाग्यको प्रतीक र आदर्श व्यक्तिहरु मानिन्छ किनभने उनीहरुको बुद्धि, विवेक, सद्विचार र सहभागिताविना कुनै पनि क्षेत्रको विकास सम्भव छैन र राष्ट्रिय आकाङ्क्षा पनि पूर्ति गर्न सकिँदैन । यसर्थ युवाहरु आफ्ना अधिकारप्रति जागरुक कर्तव्यनिष्ठ र चेतनशील भएर विकास मार्गमा सक्रिय रुपमा सहभागी भएमा कुनै पनि देशले चाहेको शान्ति, विकास र सहभागिताको आदर्शलाई व्यवहारमा परिणत गर्न सकिन्छ । युवा जागरण र सक्रियताको परिचायक पनि यिनै राष्ट्रिय हितका कार्यक्रमहरुमा आधारित हुन्छ । परन्तु यो धु्रवसत्य धेरै देशका सम्बन्धित क्षेत्रका व्यक्तिहरुले राम्ररी बुझ्न सकेका छैनन् ।

वास्तवमा जुनसुकै देशको सामाजिक तथा आर्थिक चुनौतीहरुलाई त्यहाँका युवाहरुले सामना गर्न सक्छन् । उनीहरुको वास्तविक सहभागितामा नै मुलुकको सर्वाङ्गीण विकास हुन सक्छ । तर हाम्रो देशमा युवाहरुलाई सही परिचालन गर्न नसकेकोले उनीहरुबाट आजसम्म पनि ठोस योगदान प्राप्त हुन सकेको छैन । वर्तमान समयमा यहाँ शैक्षिक बेरोजगारी दिनप्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यहाँ प्रत्येक वर्ष अन्दाजी चार लाख युवाहरुलाई आ–आफ्ना दक्षताअनुरुप रोजगारीको आवश्यकता छ भने अर्काेतर्फ सरकारी क्षेत्रमा रोजगारीका अवसरहरु न्यून छन् । यति मात्र होइन, निजी क्षेत्रमा पनि रोजगारी सिर्जना गर्ने खास सम्भावना देखिँदैन । त्यसैले यहाँ रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्नु स्वाभाविक हो ।

वस्तुतः स्वदेशमा रोजगारी पाउन नसकेका युवाहरुका लागि वैदेशिक रोजगारी एक अवसर भएको छ किनभने एकातिर उनीहरुले काम पाएका छन् भने अर्काेतिर उनीहरुले थोरबहुत धन आर्जन गरेर घरखर्च पनि जुटाएका छन् । बेरोजगारीको पीडाबाट पर्नसक्ने मानसिक तनावबाट मुक्ति प्राप्त भए वैदेशिक रोजगारीले केही राहत दिएको मान्नुपर्छ । परन्तु यसमा केही विकृति र विसंगतिहरु पनि छन् ।

वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरुले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपाङ्ग एवम् ज्यानसमेत गुमाउनुपरेको छ । यति मात्र होइन, धेरैजसो नेपाली युवतीहरु विदेशमा गई यौनशोषणको शिकार भएका छन् भने कतिपयको लास आजसम्म पनि बेपत्ता भएका छन् । यस सम्बन्धमा नेपाल सरकारले खासै चासो लिएको देखिँदैन र विदेशमा जाने नेपाली युवायुवतीहरुले यस किसिमका समस्याहरु धेरै वर्ष अघिदेखि सामना गरिरहेका छन् ।

यही तीतो यथार्थको कारण वैदेशिक रोजगारी एक अभिशापको रुपमा पनि हेरिन्छ । सरकारले व्यवस्थित तवरबाट एउटा मापदण्डअन्तर्गत आफ्नो नागरिकलाई सुरक्षित र सरल ढङ्गबाट विदेश पठाउन नसकेको अवस्थामा पनि वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरुले आफ्नो आम्दानी विभिन्न माध्यमद्वारा नेपाल भित्र्याई विगत केही दशकदेखि ठूलो गुन लगाइरहेका छन् । तर पनि नेपाल सरकारले उनीहरुको गुन राम्ररी तिर्न सकेको छैन ।

हालसम्म पनि विदेशमा चाहिने जनशक्तिअनुरुप दक्ष कामदारहरुको उत्पादनतर्फ सम्बन्धित पक्षको यथोचित ध्यान जानसकेको छैन । अदक्ष व्यक्तिहरु विदेशमा पठाएर न त प्रचुर आम्दानी गर्न सकिन्छ न त नेपालको इज्जत विदेशमा रहन्छ । त्यसैले विदेशमा नेपाली स्वाभिमान बढाउन र राष्ट्रिय आम्दानी अभिवृद्धि गर्न दक्ष जनशक्तिको उत्पादनमा विशेष जोड दिन आवश्यक छ । हुन त यस सम्बन्धमा यहाँ स्थापना गरिएका केही संस्थाहरुले थोरबहुत प्राविधिक तालिम नदिएका होइनन्, तर विदेशमा चाहिने जनशक्ति भने अझसम्म पनि आवश्यकताअनुरुप तयार गर्नसकेका छैनन् ।

नेपालमा रोजगार प्रवर्द्धन गर्ने दायित्व सरकारको हो । तर यसलाई कार्यान्वयन गर्न एउटा स्वतन्त्र निकायले जति सक्षमताका साथ गर्नसक्छ, त्यति सरकारी निकायबाट नहुनसक्छ । एउटा स्वतन्त्र निकायको कामको श्रेय सरकारले खोस्नु भनेको यसले आफ्नो निजामती प्रशासनलाई बोझ थप्नु हो । जसले रोजगार प्रवर्द्धनजस्तो चुनौतीपूर्ण एवम् प्रतिस्पर्धी हुँदै गएको क्षेत्रलाई न्याय गर्न नसक्ने हुन्छ । हाल नेपालका लागि वैदेशिक रोजगारी एक बाध्यता भएको छ । तर आगामी दिनमा स्वदेशी श्रम तथा सीपलाई विदेशमा बिक्री गर्न जोड दिनुहुँदैन । विदेशमा मात्र रोजगारी पाउन सकिन्छ भन्ने मानसिकता यहाँका युवायुवतीहरुमा आउन दिनुहुँदैन । यसका लागि सरकारले स्वदेशमा नै रोजगारी प्रवर्द्धन गर्नेखालका नीति तथा कार्यक्रमहरुको तर्जुमा गरी व्यवहारमा उतार्न नितान्त आवश्यक छ ।

सरकारले जतिसुकै समृद्धिको डम्फु फुके पनि रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या कम छैन र युवाहरुका लागि स्वरोजगार कार्यक्रम ल्याएर ग्रामीण विकासका लागि अहिलेसम्म भरपर्दो कार्यक्रम ल्याउन सकिएको छैन । त्यसैले आज धेरजसो ग्रामीण क्षेत्र शून्य छ । आज नेपाल तेस्रो देशमा श्रम बेच्ने देश भएको छ । वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरुको लर्काे हेर्दा यो देश चाँडै नै युवाविहीन हुनेछ । वर्तमान सरकार युवाहरुलाई स्वदेशमा रोजगारी दिनुको सट्टा जसरी भए पनि विदेशमा पठाउन चाहन्छ किनभने युवाहरु यहाँ बसे भने देश लुट्न सिपालु नेताहरुलाई असहज हुनेछ ।

नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डन र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि कामको खोजीमा डेढ सयभन्दा बढी देशहरुमा नेपाली युवाहरु पुगेका सरोकारवालाहरुको अनुमान छ । चालू आथिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अर्थात् साउन, भदौ, असोज र कात्तिकमा गरी एक लाख ४१ हजार एक सय ५७ जना युवाहरु कामका लागि विदेश जानका लागि श्रम स्वीकृति लिन म्यानपावर कम्पनी तथा व्यक्तिगत श्रम स्वीकृति लिने युवाहरु गरी पहिलो चौमासिकमा झण्डै डेढ लाख युवाहरुले श्रम स्वीकृति लिएका छन् । यसरी विद्यमान युवाशक्तिको विदेश पलायनबाट यहाँको सर्वतोमुखी विकासमा नकारात्मक प्रभाव पर्नेछ । त्यसैले यस सम्बन्धमा सम्वन्धित व्यक्ति तथा संस्थाहरुको ध्यान जान आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया