Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविषादीबाट बच्न कौसी खेती

विषादीबाट बच्न कौसी खेती


विश्वनाथ खरेल
हाम्रो देशको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टर रहेको छ । यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार सात सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार पाँच सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख एक हजार नौ सय हेक्टर पर्दछ । यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार तीन सय २३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५ दशमलव ७ प्रतिशतभन्दा बढी मानिसहरू कृषि पेशामा लागेका छन् ।

यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखा पर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल एक हजार अमेरिकी डलर र ३१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ । जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ ।

कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । यसरी सर्वाङ्गिण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासको निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ । तसर्थ हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती त्यसको एउटा भरपर्दो विकल्प हो ।

आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । विशेषगरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ ।

यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्राङ्गारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिकरूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । यसमा सागबाली, कोसेबाली, लहरेबाली, जरेबालीजस्तै चम्सुर, पालुङ्गो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौँला, काँक्रो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रत खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुको साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ ।

अन्त्यमा भन्नुपर्दा देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासविना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रमहरू कृषक समक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ । सीमित स्रोत र साधानको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकारणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्यनको सफलता मान्न सकिन्छ ।

अतः देशमा स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देश विदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलाएको छ । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिगौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन् । यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ ।

अझ भन्नुपर्दा कौसी खेतीले हरियाली ल्याउनका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ । बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बुढाबुढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् ।

यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका पनि खेलेको हुन्छ । मानिसको दैनिक आहारमा चाहिने पौष्टिक तत्वहरूमा कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रायः सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पानीको मात्रा, प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन, खनिज पदार्थ र बढी मात्रामा रेसा हुन्छन्, जसले पाचन प्रक्रिया सुचारु राख्नमा सहयोग गर्छ । जसका लागि विभिन्न प्रकारका तरकारीजस्तै हरियो सागसब्जी, कन्दमुल तथा जरे तरकारी, कोसेबाली तरकारी, फल तरकारीको उपभोग गर्नुपर्छ ।

यस्तैगरी धनियाँ, लसुन, अदुवा, खुर्सानी, पुदिना, मेथी, रायो, प्याज आदि तरकारीमा पनि मानव जीवनलाई स्वस्थ राख्नका लागि आवश्यक अनेक तत्व हुन्छन् । कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तत्व दिने खालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ । त्यस्तै गरी उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक एक हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ । हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक सात सयदेखि नौ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ ।

वर्षौँदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलाञ्चोकलगायतबाट बढी मात्रामा तरकारी भित्र्याउने गरेको छ । कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । उक्त बजार समितिका भनाइअनुसार मागअनुसार पूर्ति गर्न सकेको छैन । नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु-याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु-याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रिने गरेको किसान गुनासो गर्छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया