Techie IT
×
गृहपृष्ठविचारकृषि विकासमा खर्बुजाको योगदान

कृषि विकासमा खर्बुजाको योगदान


काठमाडौं । नेपालको खास गरी मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा पहाडी जिल्लाहरू प्रत्येक वर्ष खाद्यान्न संकट हुने एकातिर छ भने अर्कोतिर विश्व जलवायुमा आएको परिवर्तनको कारण अनावृष्टि, अतिवृष्टि, भू–क्षयजस्ता समस्याहरू दिनानुदिन बढ्दै गइरहेका छन् जसको कारण खेतीयोग्य भूमि घट्नुको साथै कृषि उत्पादनमा पनि नकारात्मक असर परेको छ, जसले गर्दा खाद्य सुरक्षाको स्थिति कमजोर भई भोकमरीको स्थिति बढ्दै गएको छ ।

यस्ता खालका जल्दाबल्दा समस्याहरूलाई निराकरण गर्नको लागि बेलैमा सचेत हुन र आवश्यक कदम चाल्नुपरेको छ । यसका लागि वनजंगल एवं पानीका मुहानहरूको संरक्षण, खाली जमिनमा वृक्षारोपण, भिरालो जमिनमा खेती गर्ने, वृक्षारोपण गर्ने, जमिनको बढीभन्दा बढी मात्रामा सदुपयोग गर्नुपर्ने स्थिति खड्किएको छ । त्यस्तै गरी अर्को जटिल समस्याको रूपमा विश्वमा आज खासगरी विकसित देशहरूमा पेट्रोलियम पदार्थको विकल्पको रूपमा जैविक इन्धनको प्रयोग भइरहेको छ । फलतः जैविक इन्धन उत्पादन गर्न खाद्यान्नको प्रयोग प्रमुख रूपमा गर्ने गरिएको छ । जसले गर्दा उत्पादनको तुलनामा खाद्यान्नको खपत एवं माग दुवै बढ्न गई खाद्य सुरक्षामा गम्भीर असर पुग्न गएको छ ।

यसरी तत्काल जैविक इन्धनको प्रयोगको सम्भावना कम देखिए पनि भविष्यमा त्यो अवस्था नआउला भन्न सकिन्न । त्यसको लागि विद्यमान कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोगलाई बढावा दिँदै आधुनिक कृषि पद्धतिको उचित संयोजनबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नुपर्ने अवस्था देखा परेको छ । कृषिप्रधान देश हुनुको साथ साथै ६६ प्रतिशत जनता यसमा निर्भर रहेका छन् । देशको अर्थतन्त्र कृषिमा आधारित छ । देशको प्रमुख औद्योगिक उत्पादनमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशतको हाराहारीमा रहेको छ । आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य भएकोले लगानीमार्फत कृषिमा आधुनिकीकरण तथा बजार प्रवद्र्धनमा सहयोग पु-याउन खोजिएको हो ।

मूलतः राष्ट्रिय आयको ३८ प्रतिशतभन्दा बढी योगदान कृषिक्षेत्रबाट नै प्राप्त हुन्छ । वैदेशिक व्यापारको निकासीयोग्य वस्तुहरूमा अधिकांश कृषिसँग नै सम्बन्धित छ । प्रथम पञ्चवर्षीय योजनाकालदेखि विभिन्न पञ्चवर्षीय योजनाहरूमा कृषिलाई प्रथम प्राथमिकता दिँदै आएको तथ्य स्पष्ट छ । यसरी कृषि विकासको लागि ठूलो धनराशि खर्च भए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन । जबसम्म कृषिको चौतर्फी विकास हुन सक्दैन तबसम्म देशको चौर्तफी विकास हुन सक्दैन । कृषिको विकास नभएसम्म प्रशस्त खाद्यान्न उत्पादन हुन सक्दैन् । हाम्रो देशमा बढ्दो जनसंख्याको कारणले गर्दा प्रतिव्यक्ति खाद्यान्न उत्पादकत्वमा वृद्धि गनु पर्ने आजको समयको माग हो ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तन र विभिन्न किसिमका रोगव्याधीका कारणले गर्दा सम्पूर्ण आर्थिक क्षेत्रमा आमूल परिवर्तन आएको यस शताब्दीमा कृषि क्षेत्रलाई पनि यस्तो परिवर्तनले उल्लेखनीय रूपमा प्रभाव पारेको छ । बालीनाली, तरकारी, फलफूल र पशुपन्छीको किसिम, खेतीपाती गर्ने तौरतरिकादेखि लिएर मानिसको स्वाद, चाहना र आकांक्षा समेतमा ठूलो परिवर्तन आएको छ । यस्ता परिवर्तनले हाम्रासामु ठूलो चुनौती र अवसरहरू देखिएका छन् । मुलुकमा यातायात क्षेत्र क्रान्तिकारी विकास, भौगोलिक परिवेशले उपलब्ध गराएको हावापानीको अवसर र आधुनिक प्रविधिहरूको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुनिश्चित गर्न सकिने सम्भावना छ ।

विश्वमा चर्किँदो खाद्य संकटले गर्दा धन कमाउन सबैभन्दा सम्भावना भएको क्षेत्र कृषि हो । यसमा पनि फलफूल खेतीको सम्भावना नेपालमा धेरै देखिएको छ । यसमा मुलुकको भू–बनोटलाई अवलोकन गर्ने हो भने पनि अधिकांश भाग पहाडै पहाडले भरिएको छ । यसले गर्दा ती डाँडा काँढामा फलफूल खेती गर्न सकिएको खण्डमा ठूलो धनराशि भुक्तानी छिमेकी मुलुकहरू भारत र चीनलाई दिनुपर्ने थिएन । हाम्रो देशमा उत्पादित फलफूलबाट नै देशको मागबमोजिमको फलफूल आपूर्ति गर्न सकिने थियो । यी फलफूलमध्ये खर्बुजा पनि एक किसिमको महत्वपूर्ण रूपको फलफूल हो ।

देशको तराई क्षेत्रदेखि लिएर मुलुकका विभिन्न सहरी क्षेत्रहरूमा खर्बुजको माग दिनप्रति दिन बढ्दो रूपमा भएको एकातिर छ भने अर्कोतिर त्यसैगरी देशको एक मात्र राजधानी काठमाडौं बढ्दो गर्मीसँगै दैनिक ९० मेट्रिक टनभन्दा बढी भारतीय खर्बुजा भित्रने गरेको तथ्यांकले देखाएको छ । मुलुकमा मौसम परिवर्तनसँगै बजारमा खर्बुजाको माग अत्यधिक भए पनि हाल नेपाली उत्पादन भने न्यून रहेको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । यो एक किसिमको गर्मीका लागि उपयुक्त मानिने फलफूल हो । यो हाल कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ४० देखि ५० मेट्रिक टन भित्रने गरेको अनुमान गरिएको छ ।

त्यस्तै गरी बल्खुमा दैनिक ३० देखि ४० मेट्रिकटन भारतीय खर्बुजा भित्रने गरेको नेपाल फलफूल व्यवसायी संघ बल्खुले जनाएको छ । हाम्रो मुलुकको कुरा गर्ने हो भने विशेष गरेर तराईका जिल्लाहरूमा जनकपुर, झापा, वीरगञ्ज, महोत्तरीलगायतका जिल्लाबाट सिजनअनुसार खर्बुजा उपत्यकामा भित्रने गरे पनि त्यसले वार्षिक १५ देखि २० दिनको मात्र बजारको माग आपूर्ति गर्न सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । देशको विभिन्न जिल्लाबाट आयात गरिने खर्बुजाले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिने कारण वर्षैभरि भारतबाट आयात गर्नुपर्ने बाध्यता टड्कारो रूपमा देखा परेको छ ।

समग्रमा भन्नुपर्दा हाम्रो देशमा विभिन्न किसिमका फलफूलहरूको खेती हुन्छ । यसमध्ये खर्बुजा तथा तर्बुजा फलफूल गर्मीको लागि उपयुक्त फल हो । देशका विभिन्न भागहरूमा गर्मी समयमा यसको माग बढी रहेको हुन्छ । नेपालको सबैभन्दा ठूलो मानिने कालिमाटी तरकारी तथा फलफूल थोक बजार, बल्खु फलफूल थोक बजार र बालाजुलगायतका बजारमा खर्बुजा किनबेच हुन्छ । यसले केही हदमा भए पनि गर्मी हटाउने कार्य गर्दछ । यसको प्रयोग दिनहुँ बढ्दो रूपमा भएको पाइन्छ । यसले गर्दा यसको मूल्यमा पनि बृद्धि भएको छ । यसकारणले गर्दा मुलुकको विभिन्न सहरी क्षेत्रमा यसको माग दिनहुँ बढ्दै गएको छ । यसको खेती प्रायः गरी तराईका २० जिल्लालगायत पहाडी भेगमा पनि आयआर्जनको रूपमा खेती गरिएको पाइन्छ ।

मुलुकका साना स्तरका कृषकहरूको लागि थोरै पुँजीमा यसको खेती गर्न सकिन्छ । विशेषरूपमा राजधानी काठमाडौंमा मात्रै एक सय ५० मेट्रिकटनको माग रहेको अनुमान गरिएको छ । यसमा एक मेट्रिक टन भारतीय बजारबाट उपलब्ध छ भने स्वदेशी उत्पादनबाट ५० मेट्रिक टन खर्बुजा बिक्रीवितरण हुने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । यसर्थ खर्बुजा उत्पादनका साधनहरू जस्तै भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र यस व्यवसायबाट धेरैभन्दा धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा व्यावसायिक कृषकलाई सिकाउनुपर्छ ।

कृषि उत्पादन अर्थशास्त्र एउटा यस्तो व्यावहारिक ज्ञान हो जसले कृषि व्यवसायमा उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने भन्ने कुरा थाहा पाउनुपर्छ । जसले गर्दा प्रतिइकाइ उत्पादन वृद्धि गर्न सकिन्छ । जसले गर्दा आयआर्जन वृद्धि गरी कृषकहरूको जीवनस्तर उकास्न मदत पु-याउने हुन्छ । यसर्थ कृषि विकास गर्ने निकायको रूपमा रहेको सरकारको कृषि विकास मन्त्रालयले बेलैमा मुलुकको खर्बुजाको मागलाई आपूर्ति गर्न सकिने खालको यसको खेती विस्तार गर्नुपर्ने आजको टड्कारो आवश्यकता एकातिर छ भने अर्कोतिर छिमेकी मुलुकहरूबाट आयात गर्ने खर्बुजालाई प्रतिस्थापन गरी स्वदेशी खर्बुजाको उत्पादनमा जोड दिनुपर्ने सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ ।

यसबाट नै देशको ठूलो धनराशि विदेशलाई भुक्तानी गर्नुपर्ने हुन्थ्यो । तर यसलाई रोकी स्वदेशमा नै स–साना स्तरका किसानहरूबाट यस्ता किसिमको खर्बुजा खेतीको क्षेत्रफल बढाउन सकेको खण्डमा यसको उत्पादनमा विस्तार गर्नसके रोजगारीको साथसाथै प्रतिव्यक्ति आय समेत वृद्धि हुने कुराको कसैको पनि दुईमत नहोला ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया