Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआँपकोे उत्पादन र बढ्दो माग

आँपकोे उत्पादन र बढ्दो माग


काठमाडौं । फलफूलमा आँपलाई राजा मानिन्छ । यसले शरीरको लागि आवश्यक तत्व प्रदान गर्दछ । विभिन्न फलफूलमा आ–आफ्नै किसिमको खाद्य तत्वहरू पाइने हुन्छ । यसमध्ये आँप पनि एक हो । खाद्य प्रयोगशालाको अध्ययनअनुसार पाकेको आँपमा प्रोटिन, खनिज पदार्थ, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम र फोस्फोरस पाइन्छ । यसरी आँपमा भिटामिन ए, बी र सीको तत्व पनि हुन्छ । यसको साथसाथै आँपको मुख्य घटक सर्करा हो, जुन फलहरूमा ११ देखि दुई सय १५ सम्म हुन्छ । आँपमा चिनीको मात्रा ६ दशमलव ७८ देखि १६ दशमलव ९९ रहेको हुन्छ । त्यसैगरी ग्लुकोज र अन्य सर्करा भने १ दशमलव ५३ देखि ६ दशमलव १४ सम्म पाइन्छ । यो आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ ।

यसरी आँपमा प्रोटिन ९ दशमलव ६, बोसो १ दशमलव १, खनिजपदार्थ १ दशमलव ३, रेसा १ दशमलव १, फोस्फोरस १ दशमलव १२ र फलाम १ दशमलव ३ प्रतिशत हुन्छ । एक सय ग्राम आँपमा करिब ९१ क्यालोरी शक्ति पाइन्छ । नेपालमा आँप तराईदेखि पहाडसम्म सामुन्द्रिक सतहदेखि ३ हजार फिटको उचाइको भू–भागमा आँपको बोट हुन्छ । स्थानीय जातदेखि लिएर आजभोलि कलमे आँपको खेती गर्ने प्रचलन पनि सुरुआत भएको छ ।

मुलुकमा आर्थिक वर्ष २०६७/०६८ सम्ममा नेपालमा ७९ हजार एक सय ८४ हेक्टर जमिनमा आँपखेती भएको अनुमान थियो । त्यस्तै गरी आर्थिक वर्ष २०६८/०६९ मा ३ दशमलव १ प्रतिशतले वृद्धि भई ८१ हजार छ सय २५ हेक्टरमा फलफूल खेती भएको कृषि विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी उत्पादन भने आर्थिक वर्ष २०६७/०६८ ८ लाख ३१ हजार पाँच सय ७६ मेट्रिकटन भएको अनुमान थियो भने आर्थिक वर्ष २०६८/०६९ मा भने ६ दशमलव ५ प्रतिशतले वृद्धि भई आठ लाख ८५ हजार पाँच सय २१ मेट्रिकटन पुग्ने अनुमान गरिएको छ । त्यस्तैगरी उत्पादकत्व दरमा पनि २ दशमलव ४३ प्रतिशतबाट ३ दशमलव ३ प्रतिशतले वृद्धि भएको अनुमान छ । यो प्रतिवर्ष सयदेखि तीन सय हेक्टरमा आँपखेती विस्तार भइरहेको छ ।

नेपालको सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायत जिल्लामा आँपको बढी खेती हुनेगरेको पाइन्छ । त्यसमध्ये पुरानो बोटबाट करिब दुई तिहाइ पुरानो बोटबाट करिब एक लाख २२ हजार मेट्रिकटन आँप उत्पादन भएको थियो । काठमाडौं उपत्यका, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट र बाजुरा गरी दश जिल्लाहरूमा आँपको व्यावसायिक रूपमा खेती गरिएको पाइँदैन । बाँकी ६५ जिल्लाहरूमा भने आँपको खेती हुने कृषि विकास मन्त्रालयको आँकडाले देखाएको पाइन्छ ।

मुलुकमा गत वर्षको तुलनामा यस वर्ष आँपको मूल्य वृद्धि भएको छ । आँपको बजारको माग दिनप्रतिदिन बढ्दै गएको छ । तर उपभोक्ताको मागबमोजिमको आपूर्ति कम हुनगएको कारणले गर्दा नै मूल्य वृद्धि भएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसमा स्वदेशी आँपको आपूर्तिमा कमी भएको कारणले गर्दा छिमेकी मुलुकहरूबाट आउने आँपको मूल्य बढी हुनेगरेको पाइन्छ । यसर्थ स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्य वृद्धि भएको हो ।

गत वर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । मुलुकमा गत जेठको पहिलो साता प्रतिकिलो ९० रुपैयाँ थोक मूल्य रहेको आँपको आपूर्ति बढेपछि असार पहिलो सातामा प्रतिकेजी थोक मूल्य ९०/एक सय रुपैयाँमा पुगेको छ । आँपको मौसम सुरु भएकाले जेठदेखि नै मूल्य बढेको थियो । स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्य वृद्धि भएको हो । गत वर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । गत वर्ष वैशाखमा औसत ८५ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप यस वर्षको जेठमा ८५ देखि ९० र असारमा एक सय/एक सय १० रुपैयाँमा सम्ममा बिक्री हुने अनुमान गर्न सकिन्छ । त्यस्तै गरी यो मूल्य बढेर गत वर्षको साउनमा ९० रुपैयाँ प्रतिकेजी पुगेको थियो भने यस वर्ष भने एक सय २५/एक सय ३५ रुपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा आँप नेपालमा मात्र होइन संसारका सबै मुलुकमा पौष्टिक फल मानिन्छ । खाँदा निकै स्वादिलो मानिने आँप मीठो मात्र होइन शरीरलाई फाइदाजनक पनि मानिन्छ । आँप बोटमा नै पाकेर पनि खान सकिन्छ । तर, यस फललाई टिपेर भण्डार गर्दा पनि आफैं पाक्छ । आँपलाई प्राकृतिकरूपले पाक्न दिएर खान सकियो भने यो अमृत पनि हो । त्यसैले गर्दा हाम्रो समाजमा आँपलाई फलहरूको राजा पनि भन्ने गरिन्छ । वैज्ञानिकहरूले आँप नियमित खानाले स्तनक्यान्सरबाट बच्न सकिने बताएका छन् । अमेरिकाको टेक्टास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरूले आँपको अनुसन्धानबाट अन्य फलहरूको दाँजोमा आँप स्तनक्यान्सरबाट बचाउ गर्नमा बढी फलदायी मानेका छन् । यस्तै आँप छालाको चाउरीपन रोक्न पनि लाभदायिक मानिन्छ । आँपमा हानिकारक स्याचुरेटेड फयाट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । त्यसैले गर्दा यसमा फाइबर, भिटामिन बी भिटामिन ए भिटामिन सी प्रशस्त पाइन्छन् ।

आँप खानाले अनेक किसिमका स्वास्थ्यमा फाइदा जनक पनि छ । यसको तथ्यांकलाई सरसर्ती हेर्दा गत वर्ष कालिमाटी तरकारी बजार र अन्य बजारमा गरी दैनिक सरदर ४० मेट्रिकटन आँप आएको थियो । त्यस्तै गरी गत वर्ष मोटामोटी रूपमा हेर्ने हो भने आठ हजार मेट्रिकटन आँप काठमाडौंमा भित्रिएको थियो । त्यसैगरी यस वर्षलाई पनि करिब आठ/१० हजार मेट्रिकटन आँप आवश्यक पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरूले बताएका छन् । यसको सरदर थोक मूल्य ५५ का दरले थोक भाउ राख्दा पनि ६० करोड मूल्यबराबरको हुन आउँछ ।

आँपलाई अन्य फलफूलको दाँजोमा अति उत्तम मानी राजा फलफूलको रूपमा संज्ञा दिइएको छ । यसबाट मानव शरीरलाई पनि निकै नै फाइदाजनक हुने हुँदा यस फलफूल सबैलाई मन पर्ने हुन्छ । दिनप्रतिदिन बढ्दो जनसंख्याको कारणले गर्दा राजधानीमा अहिले दैनिक ५० हजार केजीसम्म आँप भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । यस मौसममा ६० लाख केजीभन्दा बढी आँप राजधानी भित्रिसकेको फलफूल तथा तरकारी थोक व्यवसायी संघले जनाएको छ ।

गत वर्ष यो मौसममा ४४ लाख ५१ हजार सात सय केजी आँप राजधानी आएको थियो । राजधानीको आँपका उपभोक्तहरूले विशेषरूपमा मन पराउने माल्दा, कलकत्तिया, किसनभोग, दशहरी, बम्बईलगायत आँपको बिक्री हुनेगरेको छ । यहाँ केही दिनअघिसम्म ७५ देखि ८० रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप हाल आएर ८५ देखि एक सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ ।

यस वर्ष काठमाडौंको बजारमा आठ हजार मेट्रिकटन आँप भित्रिएको व्यवसायीहरूको अनुमान रहेको छ । अहिले बजारमा तराईको आँप सकिन लागेको छ भने भारतीय आँप आउन सुरु गरेको छ र केही दिन पछाडि गएर विभिन्न पहाडी भेगमा फलेका आँपहरू पनि राजधानीमा आउँदा मूल्यमा धेरै नै वृद्धि हुने व्यवसायीहरू बताउँछन् । देशमा आँपको आपूर्ति खास गरी छिमेकी देश भारतबाट आउने गरेको पाइन्छ ।

हाम्रो देशमा कृषि विकासको जिम्मा लिएको कृषि विकास मन्त्रालयले स्वदेशमा नै आँपमा आत्मनिर्भर हुने हो भने तराईका २० जिल्लाहरूलाई पकेट आँपको खेती रूपमा विस्तार गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकारले आवश्यक पर्ने बेर्ना, बीउ, मल, सिँचाइ, प्राविधिक सहयोग, ऋण, उन्नत औजारहरूको व्यवस्था गर्नुपर्ने एकातिर छ भने अर्कोतिर मुलुकका साना खाले कृषकहरूको व्यवसायमा पनि वृद्धि भई रोजगारीको अवसर प्राप्त हुने कुरामा कसैको पनि दुईमत नहोला ।

अहिले नेपालको बजारमा भारतको हैदरावाद र अन्य आँप उत्पादन हुने प्रान्तबाट दैनिक हजारौँ टन आँप भित्रिएका छन् । यसरी आउने आँपका जातहरूमा दशहरी, तोतापैला, लाल, कपुरक गौरजित आदि कलमे जातका आँप आउँछन् । फलफूलको क्षेत्रमा वैज्ञानिकहरूले बेमौसमी फलहरूमा आँप पनि उत्पादन गराएका छन् । जुन भारतका कृषकहरूले बेमौसमी आँपको उत्पादन गर्नेगरेका छन् । आँपका लागि नेपालको पूर्वी तराईका जिल्लाका कृषकहरूले पनि व्यावसायिकरूपले आँपको खेती गर्न थालेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

1
0
Would love your thoughts, please comment.x
()
x