Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्रका सूचक र देशको वर्तमान अवस्था

अर्थतन्त्रका सूचक र देशको वर्तमान अवस्था


काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले विश्वको अर्थतन्त्रमा नै असर पा-यो । त्यसको असर नेपालमा पनि पर्न गयो । जसले गर्दा उद्योग, व्यापार, व्यवसाय, कलकारखाना, यातायात बन्द हुन पुगे । मानिसको दैनिकी कष्टकर बन्दै गयो । दैनिक श्रम गरेर छाक टार्नेहरूको लागि सडकमा थाल थाप्नुपर्नेजस्तो दयनीय अवस्था सिर्जना भयो । आर्थिक गतिविधि ठप्प भएको हुँदा मानिसमा निराशा आयो । देशको अर्थतन्त्र मूलतः वैदेशिक रोजगारी र पर्यटन सेवामा आधारित भएकोे हुँदा यिनीहरूहरूमा नराम्रो असर पर्न गयो ।

वर्तमान अवस्थामा अर्थतन्त्रले गति लिन सकेको देखिँदैन । हाम्रा अधिकांश अर्थतन्त्रका सूचकहरू कमजोर हुँदै गएका छन् । जसले गर्दा देशको अर्थतन्त्र ओरालो लाग्दै गएको छ । हामीले श्रीलंकाबाट धेरै पाठ सिकिसकेका छौँ । बुझ्नुपर्ने कुरा के छ भने श्रीलंका ऋणपासोमा परेको छ भने नेपाल भने जोखिममा परेको छैन । कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा कम नै ऋण भएको हुँदा अझै पनि केही ऋण लिन सकिने अवस्था सुरक्षित नै देखिन्छ ।

देशको अर्थतन्त्र सबल हुनको लागि अर्थतन्त्रका सूचकहरू सकारात्मक हुनुपर्दछ । अहिले अर्थतन्त्रका सूचकको बारेमा धेरैमा जिज्ञासा आएको छ । आर्थिक सूचकबारे जानकार हुनु सबैको लागि राम्रो हुन्छ, किनकि यसले धेरै कुरा समेटेको हुन्छ । अहिले आयात उच्चरूपले वृद्धि हुँदै गएको छ । आयात नियन्त्रण गर्ने कुरा पनि त्यति सजिलो छैन । कुल राजस्वको ५० प्रतिशतभन्दा बढी अंश भन्सारले ओगटेको छ । यसलाई नियन्त्रण गरिँदा खर्च व्योहोर्ने स्रोतमा प्रत्यक्षरूपमा असर पर्न सक्नेछ । कर्मचारीखर्च, कार्यालय सञ्चालन खर्च, अन्य साधारण प्रकृतिसम्बन्धी खर्चको लागि पनि रकमको अभाव हुन सक्नेछ ।

अर्कोतर्फ विचार गर्नुपर्ने कुरा के छ भने खाद्यान्न, लत्ताकपडा, औषधि तथा उपकरण, कच्चापदार्थजस्ता आधारभूत सामग्री अनिवार्यरूपमा आयात गर्नु नै पर्दछ । यस अवस्थामा आयात नियन्त्रण गर्ने काम पनि त्यति सजिलो देखिँदैन । आयात नियन्त्रण नगर्ने हो भने स्वदेशी उद्योगधन्दा कलकारखाना बन्द हुने सम्भावना पनि त्यत्तिकै प्रबल हुने देखिन्छन् । त्यसैले बुद्धिमानीपूर्वक आयातलाई बान्छित मात्रामा नियन्त्रण गर्ने र स्वदेशी उत्पादनलाई पनि प्रोत्साहन गर्ने नीति अबलम्बन गरिनुपर्दछ । हाल सरकारले आयातलाई निरुत्साहित गर्न केही विलासिताका वस्तुहरूमा रोक लगाएको छ । यसले केही हदसम्म विदेशी मुद्रा सञ्चितिमा सहयोग गर्नेछ ।

आयातलाई निरुत्साहित गर्ने कार्य भनेकै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो । स्वदेशी उत्पादन बढ्न सक्यो भने आत्मनिर्भर हुन सकिन्छ । जसबाट विदेशी आयातलाई स्वदेशी उत्पादनले विस्थापित गर्न सकिन्छ । तर, नेपालमा भने आयात प्रतिस्थापन गर्ने कुरा कता हो कता आयात झनै बढ्ने क्रममा देखिन्छ ।

आन्तरिक उत्पादन बढाउन नसकिने र बाह्य मुलुकबाट देशको आवश्यकता पूरा गर्ने प्रणालीमा जबसम्म सुधार गर्न सकिँदैन, तबसम्म देशको अर्थतन्त्रमा सुधार गर्न सकिँदैन । अहिले नेपालको अर्थतन्त्र यस प्रकारले गुज्रिरहेको हुँदा आन्तरिक उत्पादनमा सुधार गर्न पनि सकिएको छैन र आयातमा नियन्त्रण गर्न पनि सकिएको अवस्था छैन । विडम्बना कस्तो छ भने कृषिप्रधान देश भएर पनि कृषि उत्पादन निर्यात गर्न सकिरहेका छैनौँ, बरु विदेशबाट ठूलो मात्रामा खाद्यान्न आयात गरिरहेका छौँ ।

हामीले आयात र निर्यातमा सन्तुलन कायम गर्न नसकेको हुँदा शोधनान्तर घाटा बढिरहेको छ । ९४ रुपैयाँको सामान आयात गरेका हुन्छौँ भने छ रुपैयाँको सामान मात्र निर्यात गरेका हुन्छौं । यसबाट के बुझ्न सकिन्छ भने हाम्रो शोधनान्तर स्थिति एकदम प्रतिकूल हुनगएको छ । देशको अर्थतन्त्र सबल हुनको लागि निर्यात धेरै र आयात एकदम कम हुनुपर्दछ । जसबाट विदेशी मुद्राको सञ्चितिमा सकारात्मक योगदान पुगेकोे हुन्छ । तर, हामी भने उल्टो दिशातर्फ गएको हुँदा आन्तरिक उत्पादन बढ्न सकिरहेको अवस्था छैन ।

अर्थतन्त्रको कुरा गर्दा वर्तमान अवस्थामा व्यापारघाटा निकै उच्च छ । व्यापारघाटा हुनु भनेको देशको आर्थिक अवस्था कमजोर हुनु हो । अर्को शब्दमा भन्ने हो भने देशको अर्थतन्त्र आत्मनिर्भर हुन नसक्नु र परनिर्भर हुनु हो । त्यसैगरी विदेशी मुद्रा सञ्चििित पनि निराशाजनक अवस्थामा छ । हामीले बाहिर पठाउने सामानहरू खासै केही छँदै छैनन् भने पनि हुन्छ । नगन्य मात्रामा निर्यात गरिने र आयात भने उच्च हुँदा विदेशी मुद्रा आर्जन गर्ने कुरै भएन ।

मुख्यतयाः वैदेशिक मुद्रा आम्दानी गर्ने तीनवटा स्रोत छन् । पहिलो भनेको निर्यात नै हो । निर्यातलाई बढावा दिन आन्तरिक उत्पादन बढाउने हो । तर, आन्तरिक उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्ने कुरा त कहाँ हो कहाँ, उत्पादनले आन्तरिक आवश्यकता नै पूरा गर्न सकेको छैन । अर्को भनेको पर्यटन हो । कोभिडको कारणले गर्दा पर्यटकहरू पनि आउन सकेका छैनन् । होटेलहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यसमा पनि उनीहरूको बसाइलाई लम्ब्याउन सकिएको छैन । बिग्रँदो वातावरण, पूर्वाधारको अभाव, अव्यवस्थित व्यवसायजस्ता तत्वहरूले पनि पर्यटकहरूलाई आकर्षण गर्न सकिएको छैन ।

विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भनेको वैदेशिक रोजगारी हो । रोजगारी पनि स्थायी र भरपर्दो छैन । उनीहरूले जति पारिश्रमिक पाउनुपर्ने हो त्यति पाउन सकिरहेका छैनन् । देशबाट बाहिर जाँदा पनि श्रमिकहरू ठगिएकै हुन्छन् र विदेशमा पनि ठगिएकै छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सकेको भए यसबाट राज्यले मनग्गे विदेशी मुद्रा आर्जन गर्न सकेको हुन्थ्यो । अहिले त्यो अवस्था पनि देखिँदैन ।

विप्रेषणबाट प्राप्त हुने रकम पनि बैंकिङ प्रणालीमार्फत भित्र्याउन सकिएको छैन । घुमाउरो बाटोबाट भित्रिने हुँदा सरकारी ढुकुटीमा जान सकिरहेको छैन । यस प्रकारको विदेशी मुद्रा प्रवाहले देशको अर्थतन्त्रमा जोखिम निम्त्याउने डर हुन्छ । यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । विदेशमा पसिना बगाएर आर्जन गरेको पैसालाई वैधानिक बाटोबाट भित्र्याउन सकियो भने यसले देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिन्छ ।

यस्तो अवस्था हुँदाहुँदै पनि नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित छ । श्रमिकले कमाएको विदेशी मुद्राले देश धानिन परेको छ । उनीहरूले कमाएर ल्याएको रकमलाई पनि राज्यले सदुपयोगमा ल्याउन सकेको छैन । उक्त रकम उत्पादन क्षेत्रमा लगानी हुन सकेको छैन । घरजग्गा, भोज भतेर र फजुल कुरामा नै खर्च हुन गएको छ । न्यून आन्तरिक उत्पादन, नगन्य निर्यात, आकर्षण गर्न नसकिएको पर्यटक र नियमन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसकिएको विप्रेषणको रकमको कारणले गर्दा हाम्रो विदेशी मुद्रा सञ्चितिमा संकटको स्थिति देखा पर्न लागेको छ । सायद सरकारको ढुकुटीमा विदेशी मुद्रा नभएको कारणले गर्दा नागरिकले पाउँदै आएको सटही सुविधामा समेत कटौती भएको छ । अल्पविकसित देशहरूमा सञ्चित विदेशी मुद्राले करिब ८ महिनाको आयातलाई धान्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोषको भनाइ छ । तर, हाम्रो अर्थतन्त्रमा भने मुस्किले पाँच÷छ महिनाको लागि धानिन सक्ने अनुमान रहेको छ ।

माओवादी सशस्त्र युद्ध, त्यसपछिको अस्थिर राजनीति, कोभिड १९ र विकासको दीर्घकालीन सोचको अभावले गर्दा बेरोजगारी बढ्दै गयो । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत मानवीय सुविधाबाट जनता वञ्चित हुनुप¥यो । सर्वसाधारणको दैनिकी कठोर बन्दै गयो । आकाशिएको मूल्य वृद्धिले जनताको ढाड सेकाइरहेको छ । रुस र युक्रेनको युद्धले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अस्वाभिकरूपले बढ्दै गएको छ । यसको बहुआयामिक असर पर्ने हुँदा खाद्यान्नलगायत सबै वस्तुको मूल्य नियन्त्रण काबुबाहिर हुनगएको छ । विडम्बना के छ भने सरकारी पूर्ण स्वामित्व भएका संस्थाहरूले समेत मूल्य बढाएका छन् । यस अवस्थामा निजी क्षेत्रले मूल्यवृद्धि गर्ने नै भए । सरकारी नियमन निकायहरूले मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ कुनै पहलकदमी गरेका पनि देखिँदैनन् ।

मुद्रास्फिति पनि उच्चरूपले वृद्धि हुँदै गएको छ । सरकारी घोषित नीतिअनुसार ७ प्रतिशतभित्र रहने भने पनि त्यो सम्भव देखिँदैन । किनकि अहिले नै ८ प्रतिशत पुगेको कुरा तथ्यांकले देखाइसकेकोे छ । आर्थिक वृद्धि ८ प्रतिशत पुग्ने अनुमान रहेकोमा त्यो पनि सम्भव देखिँदैन । यही लक्ष्य प्राप्त गर्न पनि धेरै लगानीको आवश्यकता पर्दछ । विकासखर्च हुन नसकेको र आन्तरिक उत्पादन कमजोर रहेको अवस्थामा कसरी लक्ष्य प्राप्त होला र ? आशंका गर्न सकिन्छ । अर्थतन्त्रका अधिकांश सूचकहरू खस्किएको अवस्थामा कुल गार्हस्थ्य उत्पादनमा त्यति ठूलो वृद्धि हुने पनि देखिँदैन । अहिलेको ४८ खर्ब ५१ अर्ब को कुल गार्हस्थ्य उत्पादनमा थप वृद्धि गर्न नसक्ने हो भने अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन मुस्किल नै हुनेछ ।

अर्थतन्त्रका कुरा गर्दा बजेटका प्रावधानलाई पनि बिर्सनु हुँदैन । अहिलेको नयाँ बजेट कुल खर्च १७ खर्ब ९३ अर्बको छ । यसको संरचना हेर्दा ठूलो रकम चालूगत खर्चमा राखिएको छ भने भने पुँजीगत बजेट ज्यादै थोरै छ । उत्पादन र उत्पादकत्व बढाउने भनेको नै पुँजीगत बजेट धेरैभन्दा धेरै खर्च गर्न सक्नुपर्दछ । तर, हामीकहाँ भने आर्थिक वर्ष समाप्त भइसक्न लाग्दा पनि करिब ३४ प्रतिशत मात्र खर्च भएको आँकडाले देखाउँछ । खर्च नै गर्न सकिँदैन भने कसरी विकासनिर्माण कार्य अघि बढ्न सक्छन् त ? खर्चको अर्को पक्ष भनेको चालूगत खर्च हो । यो भने पूरापूर खर्च हुने देखिन्छ । जुन खर्चले उत्पादन र उत्पादकत्व बढाएका हुँदैनन् । खर्च गर्नुपर्ने कुरामा थोरै मात्र बजेट विनियोजन गर्ने र त्यो पनि खर्च गर्न नसक्ने । तर, कम खर्च गरे पनि हुने क्षेत्रमा भने सबै बजेट खर्च गर्ने हुँदा हाम्रो अर्थतन्त्र कमजोर हुन पुगेको देखिन्छ ।

अर्थतन्त्रका महत्वपूर्ण सूचकहरूमा हामीले सुधार गर्न सकेको अवस्था छैन । आन्तरिक उत्पादन बढाउन सकिएको छैन । आयातलाई नियन्त्रण गर्न सकिएको छैन । शोधनान्तर स्थितिलाई देशको पक्षमा ल्याउन सकिएको छैन । विप्रेषण, पर्यटनजस्ता महत्वपूर्ण विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरूको सुधार गर्न नसकेको कारणबाट हाम्रो अर्थतन्त्र खस्कँदो अवस्थामा छ । राज्यले लगाएको भन्सार रावस्वबाट आर्जित गरेको रकमले कतिसम्म देशको अर्थतन्त्रलाई धान्नेछ त्यसतर्फ सरकारको ध्यान गएको छैन । आम्दानीका सबै स्रोतहरू कमजोर भएको अवस्थामा अब हामीले प्राप्त गर्ने भनेको ऋण मात्र हो । कोभिडको कारणले गर्दा सबै दातृ मुलुकहरूको अर्थतन्त्र कमजोर भएको अवस्थामा ती देशहरूबाट प्राप्त गर्ने भनेको ऋणमात्र हो, अनुदान होइन । वर्तमान अवस्थामा ऋण पनि करिब १८ खर्ब पुगिसकेको अवस्था छ । योभन्दा बढी ऋण लिन सकिने पनि देखिँदैन । किनभने कुल गार्हस्थ्य उत्पादनको झण्डै ५० प्रतिशतको हाराहारीमा पुगिसकेको छ । यसभन्दा बढी ऋण लिने हो भने श्रीलंकामा आएको आर्थिक संकटजस्तो हुने आकलन अर्थशास्त्रीहरूले गरिसकेका छन् । केही वर्षयता आन्तरिक तथा बाह्य ऋण ह्वात्तै बढेको देखिन्छ । यो सबैको लागि चिन्ताको विषय हो ।

अहिले हाम्रो अर्थतन्त्रमा देखिएको अर्को समस्या भनेको बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हो । सरकारले पुँजीगत बजेट खर्च गर्न नसकेको कारणबाट सरकारी ढुकुटीमा रकम निष्क्रिय भई थन्किएको कारणबाट तरलताको अभाव सिर्जना भएको हो । त्यसलाई बाहिर ल्याउन सरकारले खर्च गर्न सक्नु प¥यो । सरकारले खर्चै गर्न नसकेको कारणबाट यो अवस्था आएको हो । सरकारको त्यसतर्फ ध्यान जानु पर्दछ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया