Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको व्यापारघाटा र घाटा घटाउने उपाय

नेपालको व्यापारघाटा र घाटा घटाउने उपाय


काठमाडौं । विषयसन्दर्भ : कुनै वर्ष अनुकूल मौसम नभएको खण्डमा नेपालको व्यापारघाटा सोही वर्ष बढ्ने सम्भावना देखिँदै आएको छ । उदाहरणका रूपमा आव २०७३–७४ मा अनूकूल वर्षा, समयमा रोपाइँ तथा खेती, रासायनिक मलको सहज उपलब्धता कृषि प्रविधिको बढ्दो प्रयोगलगायतका कारण कृषि फसल बढी हुनगई निकासी तथा उत्पादन बढ्न गएको दखिन्छ। कुनै वर्ष र कुनै जिल्लाबाट कृषि उपज निर्यात हुने गर्दछ। नेपालबाट निकासी हुनसक्ने कृषि उपजहरूमा ताजा तरकारी, सुन्तला जातको फलफूल, हिउँदे फलफूल, वर्षे फलफूल, अदुवा, अलैँची, आलु, अकबरे खुर्सानी आदि छन् । तर हरेक आर्थिक वर्ष नेपालले वैदेशीक व्यापारको असन्तुलन भोगिरहेको अवस्थामा निकासी व्यापारको अवस्था कमजोर हुँदै गएको छ। २०७७।७८ मा पनि असोज २०७८ मा बेमौसमी वर्षातले कृषि उत्पादनमा असर ग-यो । २०७९ मा भएको अत्यधिक वर्षा धान पाक्ने र रोप्ने बेलामा अनुकूल भएकाले २०७९ मा कृषि उत्पादन बढ्ने आशा गरिएको छ ।

नेपालको निकासी व्यापार झण्डै स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढ्न नसक्दा अर्थतन्त्रको एकमात्र आधार रेमिट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र संकटमा पर्नसक्ने अवस्था विगतमा रहेको थियो । नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरू समेत उल्लेखनीय रूपमा आयात गर्दा पनि वैदेशिक व्यापारमा नेपालमा सधैँ पछाडि धकेलिँदै आएको छ। नेपालको कुल निर्याातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन । विदेशबाट खर्बौँको रूपैयाँको वस्तुहरू आयात हुँदा नेपालले एक आर्थिक वर्षमा एक खर्बका वस्तुहरू निकासी हुन सकेको छैन । विगत चार वर्षमध्ये २०७०–७१ मा सबैभन्दा बढी ९१ अर्ब रूपैयाँको निर्यात भएको देखिन्छ । नेपालले ६८ देशमा निर्यात तथा ७४ देशबाट सामान आयात गरेको देखिन्छ ।

वैदेशिक व्यापारघाटालाई कम गर्नका लागि उत्पादन वृद्धिका विकल्प नभए पनि नेपालले स्वदेशमै प्रचुर मात्रामा उत्पादनको सम्भाव्यता भएका वस्तुहरूको उत्पादन वृद्धिमा सुधार ल्याउन सकिएको छैन । नेपालको कुल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन । विदेशबाट खर्बाैँकौ वस्तुहरू आयात हुँदा नेपालले एक आर्थिक वर्षमा एक दृई खर्बका वस्तुहरू तथा उत्पादनहरू निर्यातसमेत गर्न सकेको छ। विगतका आर्थिक वर्षको अवस्था हेर्दा आव २०७०–७१ मा मात्र कुल निर्यात ९१ अर्ब रूपैँयाँसम्म पुगेको देखिन्छ। २०७८।७९ मा नेपालको निकासी पौने दुई खर्ब जति पुगको छ ।

राजनीतिक दलहरूका योजना र भनाइबाट मात्रै समृद्धि नहुने स्पष्ट देखिन्छ। नेपालको निर्याात पछिल्ला वर्षमा २०७०–७१ को भन्दा कमजोर देखिएको छ। त्यो बेला व्यापारघाटा नभएको अवस्था थियो । नेपालको कुल निर्यातमा अर्ब रूपैयाँमाथि निर्यात हुने वस्तुहरू १७ वटा जति मात्र रहेका छन् । ती वस्तुहरूमा अलैँची, चिया, औषधिजन्य जडीबुटीहरू, जुस, जुट ब्याग, उलन ब्याग, पश्मिना सल, टुथपेस्ट, जुत्ता, फलाम तथा स्टिलजन्य वस्तुहरू, चाँदीका गहना सामान, टेक्सटाइल, कटन धागो, फेल्टलगायतका वस्तुहरू रहेका छनन् ।

निर्यात प्रवर्द्धनका लागि सरकारको चर्का नारा दिए पनि कमजोर उत्पादन कमी, बारकोड, विश्वबजारमा फितलो प्रचारप्रसार, ब्रान्डिङ कारणले नेपाली उत्पादन विदेशिन नसकेको दाबी भएको बताइन्छ। नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठ्ने गरेको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर महत्वपूर्ण कुरा हो । नेपाली उत्पादनले पहिलेदेखि नै परिमाणभन्दा गुणस्तर सुधारमा ध्यान दिइँदै आउनु पर्दथ्यो। नेपाल–भारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ। सरकारी नीति प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हुँदै आएको छ । भूपरिवेष्ठित भएका कारणले उद्योगी–व्यापारीहरूले हैरानी बेहार्दै आएका छन् ।

निकासी विकासका अनेकौँ आधार तथा सम्भावना हुन्छन्। राष्ट्रिय व्यापार रणनीति २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडीबुटी पनि समावेश छ। तीमध्ये जडीबुटी एवं अनुसन्धान, उत्पादन एवं व्यवसायीकरण र संरक्षण एवं सदुपयोग गर्न सके आर्थिक–सामाजिक विकासमा नै सहयोग पुग्दछ। वन नीति २०७१ ले वनस्पती एवं जडीबुटीका नवीनतम प्रवृति र क्षेत्रहरूलाई समेटेको छ । वन, वनस्पति र जैविक विविधता संरक्षण अभियान अगाडि बढाउन २०७१–२०८० लाई ‘वन दशक’ घोषणा गरी ‘एक घर एक रुख, एक वन र एक नगर अनेक उद्यान’ कार्यक्रहरू आर्यान्वयनमा आउँदै गरेका छन् ।

वाणिज्य नीति २०७२ ले १२ वटा वस्तुमध्ये सम्भावनायुक्त वस्तुहरूका सूचीमा जडीबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरूको संकलन एवं प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न, प्रशोधन केन्द्रहरू स्थापना गर्न सहयोग पु-याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरूको सुदृढीकरण तथा एक्रिडीटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउद्देश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यावसायिक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने र विविधताको अवसरलााई उपयोग गरी निर्यातजन्य वस्तुहरूका उत्पादन ततथा प्रशोधन बाह्य मागबमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भन्डारण, प्रमाणीकरणमा सहयोग पु-याउने, निर्यात प्रवर्द्धनको लागि असल कृषि अभ्यास र प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ ।

त्यसर्थ समग्रमा भन्नुपर्दा नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्दछ । जुन वस्तु नेपालमा बृहत्रूपमा उत्पादन गर्न सम्भव छ त्यस्ता वस्तुहरू अत्यधिक बढाउँदै लग्नु पर्दछ । नेपालका कच्चा पदार्थमा आधारित औद्यागिक उत्पादनहरू बढाउँदै जानु पर्दछ । नेपालको विश्वका करिब एक सय ८६ देशसँग वैदेशिक व्यापार हुँदै आएकोमा अधिकांश देशसँग नेपालको व्यापारघाटा रहीआएको छ । नेपालमा दैनिक उपभोग्य सामग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिकरूपमा आयात हुँदा व्यापारघाटा निरन्तर रूपमा बढ्दै गएको छ । त्यसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक रहीआएको देखिन्छ ।

देशलाई आवश्यक परेको वस्तुहरूका आयात कल्पनै गर्न नसकेर ह्वात बढेको र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरू नेपालमा अन्तर्राष्ट्रिय मापदण्डमान्यता प्राप्त निकायको अभावमा त्यस्ता मानवहितविपरीतका वस्तुहरू सहजरूपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ । अर्कोतर्फ जुन उद्देश्यले नेपालमा विदेशबाट सामान आयात गरिन्छ त्यही उद्देश्यका लागि अर्थात् उद्योगका कच्चा पदार्थका रूपमा उपयोग नभई त्यस्ता वस्तुहरूका दुरूपयोग हुनु आयात बढ्दै गएको हो । आयात गरिएका वस्तुहरूका उद्देश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यक्तिलाई कारबाही पनि भएको देखिँदैन अनि त सहजरूपमा नेपालमा आयात दिन दुगुना रात चौगुना बढेर गएको गए छ । विगतमा वार्षिकरूपमा प्रत्येक नेपालीको भागमा २२ हजार एक सय ५९ रूपैयाँ ऋण थियो । तर २०७४–७५ मा यो बढेर २३ हजार नौ सय ६२ पुगेको छ । २०७७ । ७८ मा यो ४० हजार पुगेको छ । तर देशको ऋण २० खर्ब रूपैयाँ पुगेको छ ।

नेपालबाट चिनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरू भुइँचालोअगाडिका अवस्थामा जति पठाउन सकिएको थियो त्यति हालका वर्षहरूमा पठाउन सकिएको छैन । तर चीनबाट नेपालमा आयात हुने सामानहरू जस्तैः केही तयारी पोशाक, जुताचप्पल, यातायातका पार्टपुर्जा र रासायनिक मललगायतको आयात भारतको कोलकाता बन्दरगाह भएर आयात भएकाले आयात बढदै गएको छ। जसले गर्दा चीनसँग व्यापारघाटा बढेको छ ।

भारतबाट विशेषगरी पेट्रोलियम पदार्थको आयात उच्च छ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिका आयात पनि बढेको कारण भारतसँगको व्यापारघाटा पनि बढेको हो । तेस्रो देशहरूमा निकासी हुने दाल, चिया र हस्तकलाका सामानहरूको निर्यात पनि घट्न गएको छ । यी देशहरूबाट सुनचाँदी, पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा तामाको तारलगायत वस्तुहरू नेपालमा आयात बढ्दो छ ।

भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापारघाटा पनि बढेको देखिन्छ। करिब दुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हालका वर्षमा ३० अर्ब रूपैयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै वर्षेनी करिब दुई खर्ब भइआएको छ। वर्षेनी ३२ अर्बजतिको कुनै सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ ।

आव २०७४–७५ मा वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घिउ, तयारी पोशाकलगायतको निर्यात बढेको छ भने जुस, अलैँची, जीआई पाइप, ऊनी गलैँचासहितको निर्यात घटेको छ । समग्रमा वस्तुगतरूपमा पेट्रोलियम पदार्थ, यायताका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायतका वस्तुका आयात बढेको छ । तर कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनीटरी बेयर्स, खाने तेल, ब्याट्रीलगायतका वस्तुहरूको आयात घटेको छ ।

२०७४–७५ का सुरुमा नेपालमा बढी आयात भएका वस्तुहरूमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कारपेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए ।

वर्तमानको व्यापार अवस्था
आर्थिक वर्ष २०७८।७९ मा नेपालमा एक सय ६४ देशबाट १९ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८।७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो। १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८।७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड चार लाख रुपैयाँभन्दा बढीको व्यापारघाटा व्यहोरेको थियो ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। २०७८।७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाखबराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजारबराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ७३ अर्ब ९७ करोड ४९ लाखबराबरको व्यापारघाटा भएको थियो। चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ। २०७८।७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाखबराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो। २०७७।७८ मा नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाखको निर्यात गरेको थियो । २०७७।७८ को तुलनामा २०७८।७९ मा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हँदा नेपालको व्यापारघाटा वृद्धि भएको थियो । २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको देखिन्छ । २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको थियो। २०७८।७९ मा देशको व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो। आव २०७७।७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँबराबरको थियो ।

२०७८।७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाखबराबरको वैदेशिक व्यापार गरेको थियो । तर २०७७।७८ को तुलनामा २६ दशमलव १५ प्रतिशतले बढी रहेको छ। २०७७।७८ मा नेपाल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाखबराबरको वैदशिक गरेको थियो ।

कृषिप्रधान देशमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुन हीनताबोध भएको छ। २०७८।७९ मा वार्षिक बजेटभन्दा झण्डै तीन खर्ब बढीको आयात, १७ खर्बको बढीको व्यापारघाटा रहेको देखिन्छ। एक वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्बको आयातको गरिएको देखिन्छ। २०७८।७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्बको थियो । २०७८।७९ मा व्यापारघाटा १७ खर्ब २० अर्बको रहेको छ। २०७८।७९ मा नेपालले सबैभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ। एक वर्षको अवधिमा नेपालले तीन खर्ब ८३ अर्ब बढीको इन्धन आयात गरेको छ। नेपालले इन्धनपछि सबैभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक सामग्री आयात बढी रहेको छ

व्यापारघाटा सबैभन्दा बढी भारतसँग भएको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात भएको छ। भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हुँदा केवल ५५ अर्ब २२ करोडबराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ। भारतमा मात्र १० खर्ब ४४ अर्ब ९३ करोडभन्दा बढीको व्यापारघाटा भारतसँग व्यहोरेको छ ।

भारतपछि चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोडको व्यापारघाटा रहेको छ। एक वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार रहेको छ। आव २०७७।७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्याापार भएको थियो ।

सबै देशसँग व्यापारघाटाको कुरा गर्ने हो भने आव २०६९।७० मा पाँच खर्ब ३६ अर्ब २३ करोड थियो भने दश वर्षपछि अर्थात् आव २०७८।७९ मा १७ खर्ब २० अर्ब ४१ करोड रहेको छ ।

आव २०७८।७९ मा मात्र डिजेलमा एक खर्ब ६८ अर्ब २३ करोड, पेट्रोल ७१ अर्ब ३८ करोड र एलपी ग्याँस मा ६५ अर्ब ५५ करोड व्यापारघाटा रहेको छ ।

नेपालको निर्यात व्यापार दुई खर्ब ३० करोड पुगेको छ । निर्यात व्यापार २०७७।७८ मा तुलनात्मक रूपमा २०७८।७९ मा ४१ दशमलव ७ प्रतिशतले बढेको छ ।

२०७८।७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधन भटमासको तेल ४५ अर्ब ३५ करोडो, प्रशोधन पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोडको, उनी गलैँचा र कार्पेट सात अर्ब, तयारी कपडा पाँच अर्ब ७६ करोडको रहेको छ ।

सुधारका उपायमा कमी : निर्यातजन्य वस्तुको पहिचान प्रवर्द्धन र बजारीकरणको अभावले वर्षेनी र बजारीकरण्को अभावले वर्षेनी व्यापारघाटा बढेको सरोकारहरूको भनाइ छ। व्यापारघाटा टिठलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ। देशको एक आर्थिक वर्षको बजेटबराबरको प्रतिवर्ष व्यापारघाटा बेहोर्नु लाजमर्नु अवस्था हो । त्यसर्थ व्यापारघाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रवर्द्धन गर्न सख्त आवश्यकता रहेको छ। व्यापारघाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रवर्द्धनमा सघाउ गराउने काम अघि बढाउन आवश्यक देखिएको छ ।

नेपालको मुख्य निकासीका वस्तुमा पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ, सुन आदिलगायत वस्तु विदेशबाट आयात गर्नेगरेको छ। विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक एक खर्ब रूपैयाँको खाद्यान्न आयात गर्न परेको अवस्था छ। सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैँची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ । हालका वर्षमा पेट्रोलमात्र २५ अर्बभन्दा बढी आयात भइआएको छ। सुनको आयात पनि त्यत्तिकै हुनेगरेको छ। सम्भावना रहेको पस्मिना, गलैँचाजस्ता वस्तुका उत्पादन बढाई बजारीकरण नहुँदा नेपालको बाह्य बजार सहभागी अंश कमजोर हुँदै छ। अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता रहेको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यात–आयात अनुपात वर्षेनी बढेर गएको छ। विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ। त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ। राजनीतिक दलहरूका ध्यान पनि व्यापारघाटातर्फ गएको देखिँदैन किनभने देशमा सधैँ व्यापारघाटा भइरहेछ। तर उनीहरू प्रभावकारी योजना बनाएर व्यापारघाटा घटाउन सफल भएका देखिएका छैनन् ।

नेपालमा करोडौँ रूपैयाँ मात्र होइन अर्बाैँ–खर्बौँ रूपैयाँमा व्यापारघाटा सदाबहार रहँदै आएको छ। प्रत्येक वर्ष नेपालले आफ्नो वार्षिक बजेटबराबर भन्दा बढीको रकमको व्यापारघाटा व्यहोर्दै आएको छ। नेपालको व्यापारघाटा वार्षिक करिब १८ खर्ब नाघिसकेको छ तर पछिल्ला वर्ष अझ व्यापारघाटा बढेर गएको छ। बताइन्छ कि मानिसहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापारघाटा बढेर गएको छ। यदि सरकारले व्यापारघाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्दछ। यसको लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ। अनि मात्र देशको व्यापारघाटा घट्न सक्छ। (लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया