Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवनजंगल नै जीवनको आधार

वनजंगल नै जीवनको आधार


काठमाडौं । सृष्टिको मिर्मिरेदेखि नै प्राकृतिकबाट अनुपम उपहारस्वरूप प्रदान गरिएको वनजंगल, जल, जमिन, जडीबुटी आदि हुन् । यसमध्ये वनजंगल पनि एक प्रमुख जीवनको आधारशीला हो । सोको सदुपयोग र संरक्षण गर्ने मानवताको प्रथम कर्तव्य हुनजानेछ । मानवको जन्मदेखि मृत्युपर्यन्त यी वस्तुहरूको आवश्यक पर्छ । हाम्रो मुलुकलाई केही वर्षअगाडि ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति अहिले आएर काहवतमा मात्र सीमित भएको छ । यसरी क्रमशः जन्मिरहेका मानिस र अन्य प्राणीहरूलाई सन्तुलित वातावरण कायम गर्नको लागि प्रत्येक राष्ट्रलाई ४३ प्रतिशत वन जंगलको आवश्यक पर्छ । त्यस्तैगरी विगतका अढाई दशकभन्दा अगाडी कूल भू–भागको झण्डै आधाजति वनजंगल रहेकोमा अहिले देशमा कुल क्षेत्रफलको ३९ दशमलव ६ प्रतिशत मात्र वन क्षेत्र रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

हाम्रो देशमा मात्र नभई विश्वव्यापी रूपमा दूषित हंँदै गएका ओजोन लियर, ग्रीन हाउस इफेक्ट, कार्बन मनोअक्साइड, अक्सिजन कमी, कार्बनडाइअक्साइडको मात्रा बढी आदि कारणले गर्दा जनमानस नै प्रतिदिन दुषित हुँदैछ । तर, मानव भोजनको अभावमा केही दिन जीवित रहन सक्छ तर वायुविना केही मिनेटभन्दा बढी जीवित रहन सम्भव छैन । फलतः एउटा स्वस्थ मानिस दिनको २२ सय चोटी सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्राभन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । यसरी प्रत्येक मानवलाई दैनिक १६ केजी अक्सिजन सास फेर्न आवश्यक पर्छ । यसको आपूर्ति रुखबिरुवाबाट सम्भव छ । यसरी एउटा मनुष्यलाई प्राणवायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरूको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाई बासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायुमण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छवटा रुखको जरुरत पर्दछ । एक वृक्षले सरदर २.७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ ।

विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रुखविहीन भएका छन् । यसरी विश्वमा वातावरण विनाश अहिलेको गतिमा जाने हो भने केही वर्षसम्म प्रत्येक आधा घण्टामा एकजाति प्रजाति जीवको लोप हुने अनुमान छ । प्रतिवर्ष विरुवाबाट ८० लाखदेखि दुई करोड हेक्टर जंगलको विनाश, त्यसबाट लोप भएका एक सय ३० जातका जंगली चराहरू स्तनधारी जन्तुहरू र १० प्रतिशत फूल फूल्ने जातका रुखहरू वर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमीकरण हुने तथ्यले केही वर्षभित्र वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्शा नै बदलिने संकेत मिलेको छ ।

यसैगरी प्राकृतिकलाई विनाशबाट जोगाउँदै लैजाने हो भने प्राकृतिकबाट परिपूर्ति हुने जस्तैः गाँस, बास, कपास, औषधि आदिको ९० प्रतिशत योगदान यसै क्षेत्रबाट आपूर्ति हुन्छ । पृथ्वीमा ५० लाखदेखि तीन करोडसम्म जीवहरू रहेको अनुमान जीवशास्त्रीहरूले गरे पनि हालसम्म १० लाख ५० हजार प्राणी र दुई लाख ५० हजार वनस्पति गरी कुल १३ लाख जीवहरूको नामाकरण भएको अड्कल काट्एिको छ । त्यसरी नै वन जंगल र वातावरण कृषि कार्यको लागि अपरिहार्य रहेको छ । जसको अभावमा कृषिको उन्नति गर्ने कार्यलाई दिवा सपना मान्न सकिन्छ ।

एक आधिकारिक तथ्यांकअनुरूप विश्वमा प्रतिसाल १९ करोड ८० लाख हेक्टर वन मासिन थालेको छ । प्राकृतिको अथाहा भण्डारमा जैविक विविधताको महत्वपूर्ण स्थान रहेको छ । यसमा एक करोडदेखि आठ करोड प्रकारका जीव जीवाणुहरूका महत्व आ–आफ्नै किसिमको छ । पर्याावरण प्रदूषणको अर्को नकारात्मक उपलब्धि ओजोन तह विनाश पनि हो ।

हाम्रो देशको कुरा गर्ने हो भने पृथ्वीको शून्य दशमलव एक प्रतिशतभन्दा कम क्षेत्रफल मात्र ओगट्ने मुलुकले संसारभरिका झण्डै २ प्रतिशत फूल फुल्ने वनस्पतिहरूको प्रतिनिधित्व गर्दछ । त्यसरी नै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत देशको ७० प्रतिशतभन्दा बढी भू–भाग पहाडै पडाडले ढाकेको छ । यसरी पहाडी क्षेत्रमा वर्षेनी देखापर्ने भोकमरी, वार्षिक २ दशमलव ३ प्रतिशतले भइरहेको वन विनाश, वर्षेनी ४० देखि २ सय टन प्रतिहेक्टरका दरले हुनेगरेका भू–क्षय, चुरे तथा मध्य पहाडी क्षेत्रमा वन विनाश र भू–क्षयले निम्त्याएको मरुभूमीकरण र त्यसले गर्दा पहाड र तराईमै गिर्दो कृषि उत्पादकत्व एवं बाढीपहिरो तथा जलाशय पुरिनेजस्ता समस्याले भर्खरै विकास र औद्योगिकीकरणमा बामे सर्न लागेको मुलुकमा विकराल समस्या उत्पन्न हुनसक्ने खतराको संकेत देखा परिसकेको छ । यसर्थ कृषि प्रणालीलाई दिगोरूपले निरन्तरता दिन प्रतिहेक्टर र खेतीयोग्य जमिनको व्यवस्थापन गर्न झण्डै २–३ हेक्टर वन जंगलको आवश्यकता पर्छ । जैविक विविधताको संरक्षण तथा सदुपयोग खाँचो आजको बदलिँदो विश्वसमुदायलाई चुस्त हुँदै गएको छ । अहिलेको विद्यमान वातावरणको ह्रास कायमै रहेको खण्डमा केही वर्षपछि प्रत्येक आधा घण्टामा एक जाति वा प्रजाति जीवको लोप हुने अनुमान छ ।

समग्रमा भन्नुपर्दा मानवकै अज्ञानको कारणबाट नै वन जंगल विनाश, भू–क्षय आदि हुनेगरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । यसरी विकासशील देशहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्याावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो । यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काईसौँ शताब्दीको खुड्किलोमा वनजंगलको विनाशले जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

यसरी देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पु-याउने महत्वपूर्ण माध्यमको रूपमा वन जंगल नै रहेको छ । फलतः वनजंगलको संरक्षण, सवर्द्धन र व्यवस्थापनको जिम्मेवारी बोकेको आधिकारिक निकाय वन विभाग हो । यसर्थ वनजंगलको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी राष्ट्रिय विकासमा योगदान पु-याउन, वातावरणीय सन्तुलन कायम गर्न, वन जंगलमाथि सबै क्षेत्रबाट भइरहेको अतिक्रमण रोकी प्राणीजगतको अस्तित्वको अनिवार्य तत्वको रूपमा रहेको वनजंगलको प्रभावकारी व्यवस्थापनको खाँचो परेको छ । यसरी आम जनताको दैनिक जीवनयापनको अभिन्न अंगको रूपमा रहेको तथा गरिबी निवारणसँग प्रत्यक्ष जोडिएको वन तथा वन पैदावारको व्यवस्थापनलाई प्रभावकारी बनाउनुको अतिरिक्त विश्वव्यापी रूपमा जनवायु परिवर्तनबाट सिर्जित समस्याहरूको न्यूनीकरणको चुनौती सामना गर्नको लागि सबैले यस क्षेत्रमा सक्दो योगदान गर्ने बेला आइपरेको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x