Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयोमरी नेपाली समाजमा सांस्कृतिक रूपमा अति महत्वपूर्ण परिकार

योमरी नेपाली समाजमा सांस्कृतिक रूपमा अति महत्वपूर्ण परिकार


काठमाडौं । यो भनेको मनपर्ने, मरी भनेको रोटी । यसरी यो प्लस मरी जोडेर योमरी भयो । असार महिनामा खेती गरी उत्पादन भएको धान मंसिरसम्म घरमा भित्र्याई नयाँ धानबाट चामल तयार गरी चामललाई पिठोको रूपमा तयार पारी शंखको रूपमा नयाँ रोटी, मिठो रोटीको भित्र चाकु र तिल राखेर मनपर्ने रोटीको आविष्कार अथवा यस स्वरूपमा योमरी बनेको देखिन्छ ।

योमरी नेपाली समाजमा सांस्कृतिक रूपमा अति महत्वपूर्ण परिकार हो । धानलाई पूजा गर्ने दिन, धान्य पूर्णिमा, योमरी पूर्णिमा धान पूर्णिमा अपभ्रस भएर धान्य पूर्णिमा हुन गएको हो । जे–जस्तो भए पनि यो परिकार वैज्ञानिकरूपमा पनि अति महत्वपूर्ण छ किनकि मंसिर महिना भनेको काठमाडौं उपत्यकामा जाडो सुरु हुने महिना भएकोले यसमा राख्ने चाकु र तिलको विशेष महत्व छ । यसले जाडोबाट बच्न शक्ति प्रदान गर्छ । योःमरीलाई धनधान्य सम्पन्नको प्रतिकको मिठाइ वा परिकारको रूपमा लिने र विभिन्न मन्दिरमा चढाउने चलन चलिआएको छ ।

नेपालको इतिहासलाई केलाउने हो भने यहाँ काठमाडौं उपत्यका नेपालमा पहिला गोपाल वंश, महिषपाल, किराँतीहरूले शासन गरेको कुरा उल्लेख छ । किराँती राजा जितेदास्ति १३औँ को पालामा यहाँ शाक्य कोलिय तथा लिच्छवी वंशको उपत्यकामा आगमन भएको इतिहासमा उल्लेख छ । उपत्यकामा गाईवस्तु पालन गरेर त्यसबाट उत्पादित दुध, दही, जंगलमा फलेका फलफूलहरू सेवन गरेर यहाँका गोपाल वंशीहरूले जीविको पार्जन गर्दथे त्यस्तै महिषपालहरूले राज्य गर्दा राँगो, भैंसी पालन गरेर जीविको पार्जन गर्दथे भने किराँतीहरूको आगमन भएपछि भेडाबाख्राहरू पालेर जीविकोपार्जन गर्दथे, किराँती शासनकालमा कपिलवस्तुबाट जब शाक्य र कोलियहरूको उपत्यकामा आगमनपछि यहाँ बल्ल जमिन जोतपोट गरेर अन्नको उत्पादन गर्ने प्रविधि सुरु भएको देखिन्छ । त्यसभन्दा अगाडि जमिन जोत पोल गर्दा अर्थात् धर्तीमातालाई खनजोत गर्दा पाप लाग्ने, धर्तीमाता आमाको प्रतिक भएकोले त्यस कालमा यहाँ भएका बसोबास गर्ने गोपालवंशी महिषपाल, किराँतीहरूले खेती गर्नेगरेका थिएनन् ।

कोलियवंश जो भगवान् बुद्धका मावली खलक उपत्यकामा आगनको साथै खेतीपातीको प्र्रविधि कपिलवस्तु कोलियग्रामबाट लिएर आएका थिए, त्यतिबेला तराई कपिलवस्तु कोलियग्राममा अन्न उत्पादन गर्ने प्रविधि विकसित भइसकेको थियो । कोलियहरूको आगमनपछि पनि उपत्यकामा जमिन खनजोत गरेर खेती गर्नु पाप हो, पृथ्वीमातालाई हतियारले खनेर घाउ पर्नु हुँदैन अनिष्ट हुन्छ, ज्यान जान सक्छ भन्ने अन्धविश्वासले व्याप्त थियो तर कोलिय वंशका वलवल भन्ने बलभद्रले पहिलो पटक उपत्यकामा खनजोत गरेर खेतीपातीको सुरुवात गरे, सो खेती जमिन खनजोत गरेको ठाउँ हालको सानुगाउँ अथवा थःसि ख्यः हो । पहिलो पल्ट जमिन खनजोत गर्दा धर्तीमातालाई घाउ गर्दा पापले मर्छ, जुन ठाउँमा घाउ ग-यो त्यही मर्छ भन्ने विश्वास थियो । निडर, मानवमात्रको कल्याण हुने, बहादुर वलवलले (बलभद्र) खनजोत गरेको ठाउँ थःसि, सानुगाउँ हो । थःसिको नेवारी अर्थ थः भनेको आफू र सि भनेका मर्ने, आफू मरे पनि मरोस् भनेर पहिलो पल्ट खेती गरेको ठाउँ हाल थःसिकै नामले प्रचलित छ । यसरी पहिलो पटक उपत्यकामा खेतीपातीको सुरुवात भयो र मलिलो उर्वरा भूमिमा धानको साथै अरु अन्नहरूको उत्पादन सुरु भयो । पहिलोपटक खेती गर्ने रोपाइँका नायक वलवलको (बलभद्र) मूर्ति उनको मृत्युपछि काठको मूर्ति बनाएर पाटनको तःबहाल रातो मछिन्द्रनाथको पूर्वपट्टि ढोकामा मन्दिर बनाएर स्थापित गरियो । यो मूर्ति जलहरिया पादपिठ अभिलेखका इ.सं ६८५ मा बनेको मानव मूर्ति हो पछि सो मूर्ति चोरी भएपछि नयाँ मूर्तिको स्थापना गरिएको छ । वलवल (बलभद्र) उपत्यका खेती गर्ने पहिलो किसान हुन, रोपाइँका नायक हुन् ।

उपत्यकामा बसोबास गर्ने मानिसहरूले जब धानको राम्रो उत्पादन सुरु गरे त्यसबाट खानको लागि चामल, चिउरा मात्र खाने नभई विभिन्न प्रकारका रोटी परिकार बनाएर खान सुरु गरे । सोही परिकारको उपज आज हामीले नेवारीमा चतामरी, योमरी, लोचामरीको सुरुवात भयो । धानको उत्पादन त्यसबाट चामल बनाउने, चामलबाट विभिन्न परिकार बनाउने अथवा एक किसिमले भन्ने हो विकास गर्ने, आविष्कार गर्ने, जाती कोलियवंशका तण्डुकार जाति हुन किनकि चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ तसर्थ तण्डुकार शब्दको अर्थ ‘धान कुटेर चामल बनाउने हुन्छ’ अथवा तण्डुलबाट चामल र कारबाट काम गर्ने, चामलको उत्पादन गर्ने भन्ने बुझिन्छ ।

योमरीको महत्व नेपाली समाजमा विशेषरूपमा धार्मिक कार्यमा भएको देखिन्छ, विभिन्न मठ मन्दिर नयाँ सगुण, खुशी हर्षोलासको आदान प्रदान गर्न यसको उपयोग गर्ने गरिन्छ । योःमरीलाई अति महत्वका साथ पूजा गर्ने र यसको धार्मिक एतिहासिक महत्व रहेको छ ।

Open photo

(१) वलवल (बलभद्र) जसले उपत्यकामा खेती गर्ने प्रविधि भित्र्याए, रोपाइँका नायकको मन्दिर तःबहाल मछिन्द्रनाथ करुणामयको मन्दिर पूर्वतर्फ अवस्थित वलवल (बलभद्र)को मन्दिरमा योमरी पूर्णिको दिन विभिन्न बाजा गाँजासहित होम गरेर कुछिकुछि (२ माना) चामलको पिठोबाट १६ वटा ठूला–ठूला योमरी चार कुनामा चारवटा र १२ वटा मन्दिरमा चढाउने चलन चल्दै आएको थियो तर हाल सो बन्द भएको अवस्था छ ।

(२) श्री मछिन्द्रनाथ, करुणामयीलाई अभिषेक गर्ने दिन पनि रथको माथिबाट योमरी खसाल्ने चलन छ ।

(३) पाटनको झतापोल ललितापुर सत्तलको पश्चिमतिर ललितज्यापुको शिला, मुखाकृति, मछिन्द्रनाथ बोकेको नोल, टेक्ने लौरो पानस रहेको स्थानमा हरेक वर्ष यसै पूर्णिमाको दिन तण्डुकार जातिले वैदिक पूजा गरेर बाजागाजासहित योमरी र लोचामरी चढाउने र प्रसादको रूपमा बाढ्ने चलन हालसम्म पनि चलिआएको छ ।

(४) प्रत्येक वर्ष चौलाथ्वः नवमी (चैत्र शुक्ल रामनवमीका दिन ‘फर्किवाता’ पूजाको दिन तण्डुकार जातीले ज्योतिरूप श्री स्वयम्भू महाचैत्यमा सबभन्दा माथि टुप्पोमा भएको मणि सर्वबुद्ध महामुकुट उष्णषि चुडामणिमा बुसाधं पूजा गर्ने भनेर चामलको पिठोबाट बनेको चतामरी र ल्होंचामरी बनाएर चढाउने साथै माथि चैत्यमा बसेर चारैतिर भक्तजनलाई प्रसादको रूपमा छरेर ल्याउने चलन छ ।

(५) स्वयम्भू महाचैत्यको हालको स्वरूप नै योमरीको आकारमा निर्माण भएको हो भन्ने कथन छ । विसं १४०६ मार्गमा सुल्तान शमसुद्धिनले उपत्यकामा गरेको आक्रमण र तोडफोडको सिलसिलामा स्वयम्भू चैत्य भत्काइयो र पछि निर्माण गर्दा योमरीको आकारमा बनाइयो ।

(६) योमरी थःसि ख्यःहाल सानुगाउँमा जहाँ वलवलले खेतीको सुरुवात गरेका थिए सो ठाउँमा हालसम्म पनि योःमरी बनाई चढाउने चलन चल्दै आएको कुरा स्थानियको भनाइ छ ।

(७) राम्रो काममा सगुनको रूपमा, आशीर्वाद दिन, स्वागत सत्कार गर्न, बच्चाहरूको दुई वर्षदेखि १२ वर्षसम्म योमरीको माला लगाएर शुभ र निरोगीको कामना गर्न विभिन्न मूल देवतालाई चढाउन धार्मिक रूपमा यसको उपयोग भइआएको देखिन्छ । योःमरी पुन्हि पर्वलार्ई नेपाली समाजमा आत्मनिर्भर धन धान्य सम्पन्नको प्रतिकको रूपमा चल्दै र मान्दै आएको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया