Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता

नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता


काठमाडौं । वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । अन्तर्राष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तुहरू, सेवाहरू, उपहारहरू, पुँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो जसमा ती वस्तुहरूको स्वामित्व दुई देशहरूको बासिन्दाहरूको बीच परिवर्तित हुन्छ । विश्वमा जति विकास भइरहेको छ, अन्तर्राष्ट्रिय व्यापारको महत्व पनि त्यति नै बढी रहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कारोबार गर्न पनि नयाँ किसिमका समस्याहरू आइराखेका छन् । यी समस्याहरूको उचित समाधानको लागि अन्तर्राष्ट्रिय व्यापारको वैज्ञानिक अध्ययन आवश्यक छ । त्यसको लागि अन्तर्राष्ट्रिय व्यापारको एउटा पृथक सिद्धान्तको रूपमा अध्ययन गर्नु जरुरी हुन्छ । परम्परा, वास्तविक विश्वमा अन्तर्राष्ट्रिय आर्थिक प्रश्नहरूबाट उत्पन्न महत्वपूर्ण एवं अनिवार्य समस्याहरू तथा यसको अध्ययनबाट सम्पूर्ण अर्थशास्त्रको बढी राम्रो ज्ञान प्राप्त हुनको कारणले अन्तर्राष्ट्रिय व्यापारको पृथक अध्ययन हुन्छ ।

नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जुन महत्व छ त्यही नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यापारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहाँ हुन सकेको छैन । विकासका लागि आवश्यक पुँजीगत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ ।

वैदेशिक व्यापारको विकासबाट वस्तुहरूको बढीभन्दा बढी उत्पादन भई बचत उत्पादनमा सहायक हुन्छ । वैदेशिक व्यापारबाट आफ्नो राष्ट्रलाई चाहिनेभन्दा बढी भएको वस्तु अन्य विदेशी मुलुकमा बिक्री गर्नसक्ने भएकोले ठूलो स्तरमा बढी उत्पादन कम लागतमा गरी अरु लाभ प्राप्त हुन आउँछ । अन्तर्राष्ट्रिय सहयोग बढाउनको लागि पनि विदेशी व्यापार गर्नु अत्यावश्यक छ । नेपालले धेरै देशहरूसँग विदेश व्यापारको लागि सन्धि गरेको छ र अरु नयाँ देशहरूमा बजार पत्ता लगाइँदै छ । विदेशी लगानी प्रोत्साहित गरिँदै छ । यी सब कुराले अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि गर्न मद्दत पु-याउँछ । वैदेशिक व्यापारबाट उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । वैदेशिक व्यापारबाट अनिकालजस्तो सङ्कटको सामना पनि गर्दछ । बजार क्षेत्रको विस्तार हुनुको साथै उत्पादन विधिमा सुधार गर्न मद्दत गर्छ । योजनावद्ध आर्थिक विकासका लागि मेसिन, औजार, कच्चा पदार्थ र प्रविधिहरू विदेशबाट झिकाउन मद्दत पु-याई योजना सफल पार्न सहयोग गर्छ । विदेशी मुद्रा आर्जनमा टेवा पु-याउनुको साथै उत्पादकहरूले देशमा आफ्नो वस्तुलाई उचित मूल्यमा बेच्न सक्छन् । यसले गर्दा उनीहरूले नाफा प्राप्त गर्न सक्छन् । वैदेशिक व्यापारले सरकारको आम्दानी वृद्धि गराउनमा मद्दत पु-याउँछ । किनभने विदेश व्यापारको क्रममा वस्तुहरूको आयात र निर्यात गरिन्छ र सरकारले आयात कर तथा निर्यात करद्वारा आम्दानी प्राप्त गर्छ । देशले समुचित औद्योगिक विकास गर्न नसकेर देशभित्र उत्पादन हुन सक्ने वस्तुहरू जस्तैः कपडा, प्लास्टिक, नाइलन कागज र रासायनिक पदार्थ र धातुका सामान वैदेशिक व्यापारबाट नै प्राप्त गर्न सकिन्छ ।

नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जुन महत्व छ त्यही नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यपारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहाँ हुन सकेको छैन । विकासका लागि आवश्यक पुँजीगत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । नेपालमा वैदेशिक व्यापारको विकासबाट निम्न किसिमको लाभहरू प्राप्त गर्न सकिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ ।

कोभिड १९ को संक्रमण क्रमश : कम भएपछि वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको छ । आर्थिक वर्ष २०७७७८ मा निर्यात ४४ दशमलव ४ प्रतिशत र आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १० दशमलव १ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई एक सय ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारततर्फ १०४ दशमलव २ प्रतिशत र अन्य मुलुकतर्फ २९ दशमलव १ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ ११ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतसँग ११ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ २ प्रतिशतले निर्यात बढेको थियो । भने चीनतर्फको निर्यात ४३ दशमलव ७ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म पाम तेल, स्वयाविन तेल, सोयाविन तेल, पिना, धागो– पोलिस्टर तथा अन्य) ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँचा, चिया, जडीबुटी, तार तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७८ को सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेर नौ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारतबाट भएको आयात २८ दशमलव १ प्रतिशत, चीनबाट भएको आयात २६ दशमलव ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको अधिकांश निर्यात वस्तुहरू ऊनी गलैँचा र तयारी पोशाक हुन् । तयारी पोशाक अधिकांश रूपमा अमेरिकामा निर्यात हुन्छ । यसले नेपाली निर्यातलाई चिन्ताजनक स्थितिमा पु-याएको छ । नेपालको मुद्रा र पुँजी बजार शिशु अवस्थामै छ । निर्यात बढाउनको लागि व्यावसायिक संस्थाहरूलाई प्रशस्त निर्यात कर्जाको आवश्यकता पर्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु-याउन सकेका छैनन् । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चापदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातीत मेसिनरी र कच्चा पदार्थको आयातमा आश्रित रहेको छ । देशमा तीव्ररूपमा वृद्धि भइराखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुनेगरेको छ । कुल निकासीमा कृषिजन्य वस्तुहरूको अग्रन्य स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । कतिपय वस्तुहरूको गुणस्तरमा संवृद्धि हुन सकेको छैन । तयारी पोशाक निर्यातमा पनि स्थायित्व आउन सकेको छैन ।

नेपालबाट निर्यात हुनसक्ने कृषि उपजहरूको उत्पादनमा कमी, गुणस्तर परीक्षणको अभाव, सानो परिमाण, उच्च मूल्य भएका वस्तुहरू उत्पादन हुन नसक्नुजस्ता कतिपय कारणहरूले गर्दा परम्परागत निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूको निर्यातमा ह्रास आएको छ । पर्यटन उद्योगको आयबाट शोधनान्तर स्थितिमा सुधार गर्न थप योगदान नहुनु र समुद्रपारका मुलुकहरूबाट हुने पैठारीमा सरकारी नियन्त्रण प्रभावकारी भए पनि भारतबाट हुने पैठारीमा निरन्तर वृद्धि हुनगई उक्त मुलुकसँगको स्थिति बिग्रने प्रवृत्ति कायमै रहेको पाइन्छ । व्यापारलाई टेवा दिन अपेक्षित कानुनी र संस्थागत सुधार हुन नसक्नु, निकासीजन्य उद्योगलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग आबद्ध गर्न नसक्नु, निकासीजन्य उद्योगहरूभित्र पनि अग्रपृष्ठ समानान्तर अन्तरसम्बन्ध कायम हुन सकेको छैन ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारततर्फको व्यापारघाटा उच्चदरमा बढ्दै गएको छ । कुल वैदेशिक व्यापारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने छिमेकी मुलुक भारततर्फ निर्यातको तुलनामा आयात वृद्धि उच्च हुँदा व्यापारघाटा डरलाग्दो रूपमा बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालले भारतसँग ठूलो व्यापारघाटा व्यहोरेको छ । वाणिज्यमन्त्री जति पटक फेरिन्छन््, तिनको एउटै भनाइ आउने गरेको छ, निर्यात व्यापारमा सुधार गर्ने र व्यापारघाटा घटाउने तर कामचाहिँ त्यसको उल्टो हुने गरेको पाइयो ।

वैदेशिक व्यापारको समस्याहरू हटाउन निर्यात प्रवर्द्धन कसरी गर्ने ?
आयातमा कटौती प्रतिस्थापन, चिनी कागज, औषधि, कफी, स्टेसनरी जुत्ता आदिको उत्पादनमा विकास गर्नुपर्नेछ ।
– निर्यात वृद्धि लागत कटौती गुणस्तर सुधार, नियमित आपूर्ति, परिणाम वृद्धि नया वस्तु र सेवाको पहिचान सहजीकरण मार्केटिङ विविधीकरणजस्ता पक्षहरूलाई ध्यान दिन आवश्यक छ ।
– बीमा बैंकिङको विकास तथा प्रवर्द्धन गर्नु जरुरी छ ।
– मुद्रा अवमूल्यन, प्रत्यक्ष नियन्त्रण, भन्सार र गैरभन्सार अवरोधहरू लगाउने, विदेशी मुद्राको सीमित उपलब्धता, आयात कर्जामा बढी ब्याज, बढी मार्जिन दर, कर्जा सीमा तोक्ने, उद्योगलाई सुविधा र अनुदान दिने स्वदेशी वस्तु र सेवाको उपभोगमा प्रोसाहन दिनुपर्दछ ।
– नेपालको सोधानान्तर स्थितिलाई अनुकूल बनाउने प्रयासहरूमा कर छुट र सहुलियतमा वृद्धि गर्ने ।
– स्वदेशी वस्तुको खरिदमा प्रोत्साहन, भन्सार सरलीकरण, लचिलो कर भन्सार, वैदेशिक लगानी नीति, नेपाल भ्रमण वर्ष, नयाँ पदयात्रा रुट आदिको व्यवस्था गर्नु पर्दछ ।
– राजनीतिक स्थायित्व कायम गर्ने शान्ति सुरक्षाको प्रत्याभूतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने वातावरणको निर्माण गर्नुको साथै औद्योगिक उत्पादनमा जोड दिन आवश्यक छ ।
– प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने र संस्थागत संयन्त्रलाई प्रभावकारी बनाउनु पनि त्यतिकै आवश्यक छ ।
– वाणिज्य क्षेत्रसँग सम्बन्धित रोजगारमूलक सीप र उद्यमशीलता विकासमा जोड दिने ।

वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा वैदेशिक व्यापार, शोधानान्तर र विदेशी विनिमय कार्यक्रमअन्तर्गत सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र बनाउने सोच, निर्यात प्रवर्द्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नु तथा विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्तिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्य राखिएको छ । उक्त उद्देश्य पूरा गर्न तुलनात्मक लाभ भएका कृषि, जडीबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकास गरी वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि गर्ने, वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने, वस्तुगत तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने, शोधानान्तर स्थिति र बाह्य क्षेत्र सन्तुलन कायम गर्ने, विदेशी विनिमय सिञ्चिति गर्ने रणनीति अवलम्बन गरिएको छ ।

शान्ति सुरक्षाको कमजोर अवस्था, औद्योगिक असुरक्षा, बन्द हडताल, असहज श्रम सम्बन्ध र ऊर्जाको न्यून उपलब्धताका कारण लगानी एवं व्यापारमैत्री वातावरण सिर्जना हुन नसक्नु, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरू (कृषि, वन, पर्यटन आदि)सँग एकीकृत गर्न नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा आधारित हुनु, निकासीलाई टेवा पुग्ने गरी पर्याप्त मात्रामा भौतिक पूर्वाधारको विकास हुन नसक्नु एवं भएका पूर्वाधारहरू पनि पूर्ण उपयोगमा आउन नसक्नु, प्रमुख निकासीजन्य उत्पादनहरूको निश्चित मापदण्डअनुसारको गुणस्तर कायम हुन नसक्नु, निकासी प्रवर्द्धनका लागि थप विशेष वस्तु र विशेष बजारको पहिचान गर्न नसक्नु, सीमित वस्तु तथा बजारमा नेपाली उत्पादन केन्द्रित हुनु, सेवा व्यापार र बौद्धिक सम्पत्ति व्यापार प्रवर्द्धनमा विभिन्न नीतिगत र संस्थागत कमजोरी रहनु, कृषि तथा वनस्पतिजन्य वस्तुहरूको निर्यात कम हुनु आदि व्यापार क्षेत्रका मूलभूत समस्याहरू हुन् । कूटनीतिक नियोगहरूलाई निर्यात प्रवर्द्धन गर्न प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको एवं आन्तरिक व्यापार प्रवर्द्धन कार्य प्रभावकारी हुन नीतिगत र संरचनात्मक व्यवस्था तथा समन्वयमा कठिनाइ रहेको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आबद्धताबाट सिर्जित व्यापार उदारीकरणको दायित्व पूरा गर्न आवश्यक नीतिगत, कानुनी र संरचनागत सुधारका कार्यहरू निर्धारित समयमै पूरा गर्ने, निकासीजन्य उत्पादनमा निश्चित गुणस्तर कायम गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको साख गिर्न नदिई विश्वसनीयता आर्जन गर्ने, तुलनात्मक र प्रतिस्पर्धी लाभ भएका निकासीयोग्य उत्पादनहरूको अग्र र पृष्ठ सम्बन्ध सृदृढ गर्दै त्यस्ता वस्तुको विकास र विविधीकरण गरी नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने, छिमेकी मुलुकहरूसँग कारोबार लागत घटाई निकासी प्रवर्द्धन गर्न भौतिक एवं व्यापारसम्बन्धी पूर्वाधारको विकास गर्ने तथा द्विपक्षीय र बहुपक्षीय व्यापारमा नेपालको हित अधिकतम कायम हुनेगरी वार्ता गर्ने क्षमता विकास गर्ने र समग्रमा निरन्तरताको बढ्दो अन्तर्राष्ट्रिय व्यापार घाटालाई कम गर्दै लैजाने विषयहरू चुनौतीका रूपमा रहेका छन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया