Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगऋण ल्याउने तनाव, आत्महत्या र समाधानका उपाय

ऋण ल्याउने तनाव, आत्महत्या र समाधानका उपाय


काठमाडौं । ऋण जीवन लक्ष्यप्राप्तिको साधन हो । ऋण लक्ष्यप्राप्तिको लागि सहयोगी महसुस हुनुपर्छ । तर अहिले ऋण तनाव र आत्महत्याको कारक भइरहेको छ । यसलाई बेलैमा सम्बोधन नगरे आत्महत्या महामारीको रूपमा बढ्ने खतरा बढेको छ । यसका नियमक निकाय राष्ट्र बैंक तथा कार्यान्वयन गर्ने बैंकहरू तथा सहकारीहरू भने नाफामुखी भइदिँदा पीडित झन् पीडित भएर आर्थिकजन्य कारणले आत्महत्या गर्नेको संख्या वृद्धि भएको हो । यसलाई बेलैमा जोगाउने हो भने तुरुन्त खराब ऋणीमा सूचीकृतहरूको नाम प्रकाशन गर्न, अनावश्यक तनाव दिन र बेइज्जत गर्न रोकेर उचित वैयक्तिक समस्या पहिचान र उपयुक्त समस्या समाधानको लागि पहलकदमी लिनु पर्दछ ।

अहिलेको समयमा आम मानिसदेखि उद्योगपतिसम्म सबैलाई आफ्नो सपना साकार पार्न तथा अतिरिक्त काम गर्न ऋणले ठूलो सहयोग पु-याउँदै आएको छ । बैंक तथा सहकारीहरूले पनि ऋणीलाई लगानी गरेर फाइदा कमाएका छन् ।

नेपालमा वर्तमान सन्दर्भमा सहकारी तथा बैंकहरूले सदस्य बनाई विभिन्न व्यवसाय गर्न सहयोग गरेका छन् । यसले अनौपचारिक, पराम्परागत पेसा र आय आर्जनलाई टेवा समेत दिएको छ । घर–व्यवहार धान्न र विशेष काम गर्न मिटर ब्याज लिनबाट केही हदसम्म जोगाएको पनि छ । अबको समयमा सहकारी तथा वित्तीय संस्थाहरूले आफूलाई साँच्चीकै सदस्यको हित चाहने हो भने सरोकारवाला पक्षहरू, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी मिटरब्याज लिनुपर्ने अवस्थाबाट मुक्त गर्नुपर्छ । हातमुख जोड्न, साधारण जीवन जिउन, साधारण उपचार गर्न, ऋण तिर्नका लागि अर्को ऋण लिनुपर्ने अवस्थाबाट यथासक्य चाँडो मुक्त गर्नुपर्छ । अनिमात्र वित्तीय व्यवस्था, सहकारी आन्दोलन, गरिबी निवारण, आर्थिक वृद्धि र प्रजातान्त्रिक समाजवाद सफल हुन सक्दछ ।

नेपाल प्रहरीको विभिन्न प्रतिवेदन, विज्ञहरूको अनुसन्धान तथा सामाजिक घटनाक्रमहरूलाई केलाउँदा अहिलेको महंगो जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा र गलत आनीबानीको कारणले मानिसहरूलाई जिउन, व्यवसाय टिकाउन, स्थापित हुन, समाजमा इज्जत जोगाइराख्न धौधौ परिरहेको छ । फलत घरका मुलीदेखि अन्य सदस्यहरू समेत दबावमा आएर जस्तोसुकै महंगो ऋण लिन र व्यवहार चलाउन बाध्य भएका छन् । एकातिर आवश्यक सीप नहुन, काम/रोजगारी नहुनु, बेच्नयोग्य सम्पत्ति नहुनु, खर्च बढिरहनु अर्कोतर्फ आफू बसेको समाज तथा राष्ट्रमा समस्याको उचित सुनुवाइ तथा सम्बोधन नहुनु आदिले निम्नवर्गकाका मानिसहरू आर्थिक समस्याजन्य मनोसामाजिक पिडाहरूबाट गुज्रिरहेको पाइन्छ । अहिले बढिरहेको विदेश पलायन, पारिवारिक विखण्डन, पारिवारिक पिडा, पारिवारिक नरसंहार, आत्महत्या, अन्य मानिसहरूको हत्या यसैको उपज हो । अहिलेको जीवन सरल जिउन सहयोग गर्ने आधार भनेको सहज दैनिकीमा साथ, उत्पादनशील तालिम, बजारमा पहुँच, उत्पादनमुखी सरल र सस्तो ऋणप्रवाह नै हो ।

आम मानिसले ऋणलाई नकारात्मकरूपमा लिए पनि यसका फाइदाहरू पनि छन् ।
ऋणका फाइदा
– उद्योग व्यवसाय चलाउन हौसला, बल प्रदान गर्ने
– आफ्नो सोच तथा बैंकको पैसा सापटी मिलान गरी उद्योगपति, लगानीकर्ता हुन सकिने
– सीप र श्रम भएकाहरूलाई रोजगारी दिन सकिने
– आपत्विपत्मा गर्जो टार्न सकिने
– आफ्ना सन्तानलाई उच्चशिक्षा हासिल गर्न लगानी गर्न सकिने

ऋण तिर्ने आधारहरू
– कुशल व्यवसाय सञ्चालन/उचित नाफा
– नियमित तलब /आम्दानी
खराब ऋणी हुनुपर्ने कारणहरू
– महामारी, भुइँचालो
– उद्योग व्यवसाय एकाएक बन्द हुनु
– लगातार घाटामा जानु
– आफ्नो काम छुट्नु र नियमित तलबमा अवरोध
– एक्कासि बिरामी भई उपचार गर्दागर्दै टाट पल्टिनु

ऋणका कारण हत्या तथा आत्महत्या हुने कारणहरू
– राष्ट्र बैंकले खतरा तथा खराब श्रेणीमा परेका ऋणी सदस्यको मर्का नबुझ्नु र जबर्जस्त गर्नु
– बैंक तथा सहकारीले आफ्ना ऋणी सदस्यहरूलाई तनावपूर्ण दबाव दिनु
– घरपरिवारमा झै–झगडा हुनु र समाधानको उपाय ननिस्कनु
– व्यक्तिविशेषलाई दोष थोपर्नु र चाहिनेभन्दा वढि जिम्मेवारी लिनु

समाधान कसरी गर्ने त ?
– मानवजीवन अमूल्य छ । हामीले आफ्नो जीवन प्रगति गर्न/समाधान गर्न ऋण लिएका हौँ । ऋण सम्भव भएसम्म नियमितरूपमा तिर्दै जानु पर्दछ ।

– जोखिमको समयमा ऋणी र बैंक/सहकारीको निरन्तर संवाद हुनुपर्छ । ऋण तिर्न सहज उपायहरूको खोजी गर्नुपर्छ । सकेसम्म जरिवाना छुट र हौसला प्रदान गर्नु पर्दछ ।

– बैंक तथा सहकारी संस्थाहरूले आफूलाई जोगाउन विपत् विज्ञ नियुक्ति गरेर राखेका हुन्छन् । ती सुविधाहरू अप्ठ्यारोमा परेका, खतराका सूचीमा रहेका आफ्ना ग्राहक/सदस्यहरूसम्म पु-याउन सक्नु पर्दछ ।

– सहकारी बैंक गरिब, निम्न वर्ग र सीमान्तकृत समुदायका लागि आँगनको बैंक हुनाले जोखिममा रहेकाहरूसँग झन् बढी आपसी समाधानमुखी छलफल गर्नुपर्छ । आम्दनी र अवसर नभएको समयमा उनीहरूलाई थोरै रकमले पनि हतास बनाउन सक्दछ । अतः सहकारी कर्मचारीहरूले वित्तीय परामर्शदाता र सरोकारवालाको मलमपट्टीको भूमिका समेत निभाउन सक्नु पर्दछ ।

– सहकारीहरूले खराब कर्जा भएकाहरूलाई मनोवैज्ञानिक परामर्श प्रदान गर्न सक्दछन् र तनाव व्यवस्थापनका सीप सिकाउन सक्दछन् । यसले उनीहरूमा आशाको दियो जाग्रित गर्न सक्दछ ।

– स्थानीय सरकार तथा विकास साझेदार संस्थाहरूले काम व्यवसाय तथा बजारको प्रवर्द्धन गर्नुपर्छ ।

– खराब ऋणीहरूको समस्या बुझी समय सीमा बढाउन सहयोग गर्ने, तनावपूर्ण अवस्थाबाट जोगाउने र जीवनको सम्भावना बढाउने ।

– कुनै तरिका अपनाएर भए पनि आत्महत्या हुनसक्ने अवस्थाबाट व्यक्ति तथा परिवारलाई सरोकारवालाहरूले जोगाउने । (लेखक मनोविद् तथा अध्यक्ष सडक आश्रित मानवमुक्त अभियान नेपाल (सम्मान) हुनुहुन्छ ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया