Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविद्यालय शिक्षामा लगानीको प्रतिफल जाँच्ने कसी हो एसईई

विद्यालय शिक्षामा लगानीको प्रतिफल जाँच्ने कसी हो एसईई


बाबुकाजी कार्की
राज्यले विद्यालय शिक्षामा गरेको लगानीको प्रतिफल विद्यार्थीको उपलब्धिस्तरले निर्क्योल गर्दछ । राष्ट्रियस्तरमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजालाई शिक्षामा गरिएको लगानीको सदुपयोग कति भयो भएन भनी जाँच्ने कसीको रुपमा लिइनुपर्छ । परीक्षाको नतिजालाई विविध पक्षलगायत परीक्षा सञ्चालनको व्यवस्थापनले पनि विशेष महत्व राख्ने वास्तविकतालाई सरोकार र सरकारले हेक्का राख्नुपर्ने हुन्छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रुपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार विद्यालयतहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ । वि.सं. १९९० सालदेखि एसएलसीको रुपमा राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालयतहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । वि.सं. १९९८ सालमा सबैभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं.२०३८ सालमा सबैभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबैभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । शिक्षा

क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धिस्तर शतप्रतिशत पु-याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिकाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहान ८ देखि ११ बजेसम्म सञ्चालन भइराखेको छ । यस परीक्षाको ८७औं संस्करणमा ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी हुँदै छन् । विश्वव्यापी रुपमा तीव्ररुपमा फैलिइरहेको कोरोना भाइरसको कारण एसईई सञ्चालनमा जोखिम बढेको सर्वत्र महसुस गरिएको छ । लाखौं विद्यार्थीको भाग्य र भविष्यसँगको जोडिएको यस परीक्षालाई सावधानीपूर्वक सञ्चालन गर्न सरकार र सरोकार पक्ष दुवैको उत्तिकै दायित्व हो ।

सरकारले कोरोना संक्रमणबाट जोगिन विद्यालय, विद्यार्थी र परीक्षामा खटिने जनशक्तिलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक निर्देशन र तयारी गरेको सार्वजनिक भइराखेको छ । कार्यान्वयन पक्षमा लापरबाही भएमा कुनै पनि बेला ठूलो क्षति व्यहोर्नुुपर्ने वास्तविकताप्रति सबै चनाखो हुनुको विकल्प छैन । कोरोनाबारे फैलिएका अनेकौँ अफवाहलाई मूल्यांकन गर्दै आधिकारिक सूचना र जानकारीलाई अवलम्बन गरिनु आजको खाँचो हो ।

कोरोना भाइरसको अहिलेसम्म कुनै पनि औषधि पत्ता नलागिसकेकोले आत्तिनुभन्दा पनि सावधानीपूर्वक रोकथामको सजगता अपनाउनु बुद्धिमानी ठहर्छ । विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्दा र परीक्षा दिँदा स्वास्थ्यकर्मीको सल्लाहअनुसार सावधानी अपनाउन प्रेरित गरिनुपर्दछ । परीक्षार्थीको अध्ययन र परीक्षालाई स्वस्थकर र सहज वातावरणमा सम्पन्न गर्न सबैको चिन्ता र चासो उत्तिकै महत्व रहन्छ ।

एसईई तयारीको समयमा स्वस्थकर आहारविहार र सहज परिश्रमको नियमितताप्रति विशेष चनाखो रहनुपर्दछ । परीक्षालाई हाउगुजीको रुपमा नलिई सहजरुपमा आत्मसात् गरेर सकारात्मक सोच र उच्च मनोबलका साथ परीक्षा दिने मनस्थिति बनाउनु पर्दछ । मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुने गरी अनिँदो समेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचेजस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकताप्रति हेक्का राख्नुपर्दछ ।

अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका वास्तविकतालाई बिर्सनुहुन्न् । कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिँदै अध्ययनको दैनिक समयतालिका नै बनाएर सबै विषयलाई समानुपातिकरुपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ । सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयामिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो । विगत वर्षहरुका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तरबारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।

परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्दछ । विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेकजाँच गर्नुपर्दछ । परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारे अवलोकन पहिले नै गर्दा सहजता हुन्छ । प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरु परीक्षा सुरु हुनुअगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ । उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्न क्रमशः लेख्न सुरु गर्नुपर्दछ । प्रश्नले मागेको उत्तर एकीन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ । सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरुको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातावरण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाडस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ । यसमानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनुपर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । एसईईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकीन गर्ने परीक्षा पनि हो एसईई ।

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्योल गर्दछ । यसप्रकार एसईई प्रत्यक्षरुपमा विद्यार्थीको लागि मात्र भएजस्तो लागे पनि परोक्षरुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत विद्यालयतहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु-याए भन्ने कुराको एकीन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक तथा समग्र शिक्षा नीतिको प्रभावकारिता आदि जाँच्ने कसी पनि होभन्दा अन्यथा नहोला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया