Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा जल संरक्षणको महत्व

आर्थिक समृद्धिमा जल संरक्षणको महत्व


काठमाडौं । प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ कि सीमित अवस्थासम्म, यो स्वयं नै आफ्नो शुद्धता आफैँ बनाउन सक्छ । मानव तथा जीवित प्राणीको लागि खानाको करिब ३ भाग बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । जसको करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण एक सय ४० लाख क्युबिक मिटर पानीमा जम्मा ४० लाख क्युबिक मिटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ । नेपालको कुल क्षेत्रफलको २ दशमलव ६ प्रतिशत पानीले ओगटेको छ ।

यहाँ सानाठूला गरी आठ हजार एक सयभन्दा बढी नदीनालाहरू छन् । जुन बाह्रै मासे बहने नदीनाला ७० प्रतिशत र ७ महिना निरन्तर बग्ने नदीहरू २० प्रतिशत र १० प्रतिशत ४ महिना बग्ने नदीहरू रहेका छन् । नेपालमा २५ देखि पाँच सय किमिसम्मका लामा नदीहरू छन् । प्रतिकूल मौसमका कारण हिमनदी र अन्य नदीनालामा समेत असर परी यस वर्ष कात्तिकदेखि फागुनसम्म वर्षा भएन । यसको मुख्य कारण प्राकृतिक सम्पदनको विनाश नै हो भन्नु अत्युक्ति नहोला ।

विश्व जल दिवस पानीको महत्वबारे सचेत गर्न प्रत्येक वर्ष मनाइन्छ । यसको उद्देश्य गुणस्तरीय पानीको महत्व र दिगो व्यवस्थापनबारे सचेतना बोध गराउनु हो । सन् १९९२ मा वातावरण र विकासबारे संयुक्त राष्ट्रसंघको सिफारिसअनुसार सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा विश्व जल दिवस मनाइन्छ । यस सिलसिलामा हाम्रो देशको पानीसम्बन्धी समस्याहरू तथा जलस्रोतको दिगो विकासबारे सबैमा सचेतना फैलाई क्षमता बढाउने यो दिवसको मुख्य उद्देश्य हो । जलवायु परिवर्तनको असर न्यून गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा मानव जीवनमा प्रयोग हुने सबै वस्तुहरूको असर सरोकारवालालाई सचेतना गराउने सम्बन्धित निकायले जनाएको छ ।

सुरुदेखि हालसम्म गुणस्तरीय पानीको क्षेत्रमा करिब २१ दशमलव ४३ प्रतिशत र सरसफाइको क्षेत्रमा १८ दशमलव २१ प्रतिशत योगदान पु-याएको छ । काठमाडौंमा मात्र हालको अवस्थामा प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । आगामी ३० देखि ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै भू–भाग घरैघरले ढाक्ने अनुमान गरिएको छ । सोको प्रभावले हाल भएको पानीको मुहानमा तीव्र असर परी पानीको आपूर्तिमा ठूलो हाहाकार हुने निश्चित छ । २०७८ साउन भदौमा बाढीले क्षतिग्रस्त बुहचर्चित मेलाम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा सुचारु भएको छ ।

सहरी विकास मन्त्रालयको गत वर्षको आँकडाअनुसार एक लाख ८० हजार निजी र एक हजार एक सय ९६ वटा सार्वजानिक धाराबाट करिब २६ लाख सेवाग्राहीले पानीको प्रयोग गरिरहेका छन् । सो कार्यको लागि केयूकेएलले ३५ वटा सतह स्रोत ५९ ओटा ट्युबेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल वितरण गर्दै आएको छ । हालसम्म उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटरभन्दा माथि पुगेको छ भने मेलाम्ची समेत गरी आपूर्ति हिउँदमा ३० करोड लिटर मात्र छ । त्यसैले मेलाम्चीअन्तर्गत दोस्रो चरणमा दैनिक ३४ करोड लिटर आएपछि मात्र उपत्यकामा पानी समस्याको समाधान हुने बुझिन्छ ।

प्राकृतिक सम्पदा दोहनबाट धेरै खानेपानीको मूलहरूमा असर पुगेको छ । ४० देखि ६० प्रतिशतसम्म खानेपानीको दुरूपयोग भएको संयुक्त राष्ट्र संघले जनाएको छ । माथिका कारण प्राकृतिक सम्पदा जोगाई पानीको मुहान संरक्षण, चुहावट र दुरूपयोग रोकी पानीको आवश्यक व्यवस्थापन गर्नु आजको प्रमुख आवश्यकता हो । पानी यस्तो पदार्थ हो जुनविना प्राणी बाँच्नै सक्दैन । यसको संरक्षण अपरिहार्य छ । जलको उपयोग पिउनको लागि, सिँचाइ, जलविद्युत, सरसफाई आदिमा गरिन्छ ।

हाम्रो देशमा करिब १८ सय मेगावाट जलविद्युत् उत्पादन भएको छ । चौधौँ अवधिक योजनाको प्रगति विवरणअनुसार १७ दशमलव ४ लाख हेक्टर सिँचाइ भएको छ । साथै पहाडी भेगमा घट्ट, डुङ्गा आदि भने अन्य मुलुकमा पानीलाई यातायात सञ्चालन गर्ने ठूलो माध्यम बनाइएको छ । जलीय जीव तथा खाद्यपदार्थ उत्पादन गर्ने क्रम बढ्दै छ । अतः जलस्रोतको संरक्षण तथा संवद्र्धन गर्दै बहुआयामिक दिगो उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

नेपालमा पानीको समस्या हुनको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुख्य मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षरोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानको रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु, शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिसन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्तीकेन्द्र हुनु, योजनाहरूको छनोटमा जनताको आवश्यक सहभागीको कमी, योजना छनोट प्रक्रिया राजनीतीकरण, दिगो योजनाको निर्माण हुन नसक्नु, सरकारी एवं गैरसरकारी निकायहरूको समन्वयमा कमीले गर्दा नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने सुरुमा हामी गौरव गर्ने विश्वकै दोस्रो जलस्रोतको धनी देश नेपाल, कुनै दिन काठमाडौंवासीले सबैभन्दा सस्तो वस्तुको रूपमा नाम लिनुपर्दा पानीलाई लिइन्थ्यो तर माथिको कारकतत्वले गर्दा काठमाडौं उपत्यका साथै देशका अन्य प्रमुख सहरहरूमा समेत खानेपानीको हाहाकार छ । देशको आर्थिक स्थिति झनझन नाजुक हुँदै छ ।

गुणस्तर जीवन र आर्थिक विकासको लागि खानेपानी व्यवस्थापना तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । किनभने खानेपानी र गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान नभएका त भन्न नमिल्ला । सम्पूर्ण अध्ययनको निचोडको रूपमा पानी नै जीवनको आधारशीला तथा गुणस्तरीय जीवन बिताउन पानीकै कारणले मात्र सम्भव भएको उल्लेख भएको पाइन्छ । साथै जनताको आर्थिक उन्नतिको लागि पानी नै आधारशीलता हो । आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतको रूपमा स्वीकार गरिसकेका छन् । किनभने वैज्ञानिकहरूले अनुसन्धानको क्रममा विभिन्न मानव तथा अन्य प्राणीको आवश्यकताको रूपमा नयाँ वस्तुको आविष्कार गर्न सक्षम भए पनि आजको एक्काईसौँ शताब्दीसम्म पनि पानीको विकल्पको रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन ।

पानी नै जीवन हो किनभने मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ जब कि हामी बस्ने पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि माथिको बाधक तत्वले खानेपानीमा ठूलो नकारात्मक असर पु-याएको छ । यी कारण खानेपानी व्यवस्थापना तथा वितरणमा अविलम्ब पुनः संरचनाको आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्दछ, राजनीतिक भागवण्डा होइन वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको कार्यान्वयन गर्नुपर्ने हुन्छ, स्वतन्त्र पारदर्शी राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता, भ्रष्टाचार मुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्दछ ।

यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नुपर्दछ, नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिकीकरण द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त्य गरी विश्वकै जलस्रोतको दोस्रो उपाधि पाएको नेपालको राजधानीवासी तथा देशमा खानेपानी, विद्युत्, कृषि आदिमा आत्मनिर्भर बनाउन आवश्यक छ । तबमात्र देश आर्थिक समृद्धिमा अगाडि बढ्नेछ । लेखकः गुणस्तरीय जीवन विषयमा विद्यावारिधि


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया