Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबोझिलो बन्दै व्यापारघाटा

बोझिलो बन्दै व्यापारघाटा


काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहास लामै रहेको भए पनि यसबाट मुलुकले फाइदा लिनसकेको छैन । वस्तु र सेवा निर्यातका तुलनामा आयातको आकार फराकिलो र ठूलो रहेको तथा निर्यातको विस्तार कमजोर बनेका कारण देशको वैदेशिक व्यापार वर्षेनी असन्तुलित हुँदै व्यापारघाटा निरन्तर वृद्धि हुने क्रममा रहेको छ । अर्थतन्त्र स्वस्थ रहनका लागि वैदेशिक व्यापारमा सन्तुलनको आवश्यकता रहन्छ । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने विकरालरूपमा बढिरहेको व्यापारघाटा मुलुकका लागि बोझिलो बन्दै गएको देखिन्छ । पछिल्लो समयमा नेपाली अर्थतन्त्र समस्याग्रस्त बन्दै जानु र वैदेशिक मुद्रा सञ्चिति घट्नुको एउटा प्रमुख कारक पनि चुलिएको व्यापारघाटा नै हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ । जसमध्ये १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँबराबरका वस्तु आयात भएका छन् भने दुई खर्ब रुपैयाँबराबरको मात्र वस्तु निर्यात भएको देखिन्छ । यसरी हेर्दा, नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा करिब ९१ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा केवल ९ प्रतिशत मात्र रहेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै व्यापारघाटा १७ खर्ब २० अर्ब रुपैयाँबराबरको भएको देखिन्छ । यो आकार वार्षिक बजेटकै हाराहारी रहेको छ । व्यापारघाटाको यो विकराल सिलसिला विगत वर्षहरूमा मात्रै देखिएको होइन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा कुल वस्तु व्यापारघाटा आठ खर्ब २५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा नेपाल सरकारले आयातमा प्रतिबन्ध र कडाइ गरेको भए पनि व्यापारघाटामा उल्लेख्यरूपमा कमी आउन सकेको देखिँदैन । यसरी हेर्दा नेपालको व्यापारघाटा वर्षेनी अत्यधिक बढ्दै गइरहेको मात्र होइन, निरन्तररूपमा वृद्धि हुने क्रममा वार्षिक बजेटकै हाराहारी आकार ओगटीरहेको असन्तुलित वैदेशिक व्यापारको मारमा अर्थतन्त्र पनि नराम्ररी फस्दै गइरहेको छ ।

आयातनिर्यात अनुपात आकाशिएको अवस्थामा व्यापारघाटा कम गर्न निर्यातमा बढोत्तरी हुन आवश्यक छ । निर्यात बढ्न देशमा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने उच्च प्रतिस्पर्धी क्षमता भएका निर्यातयोग्य वस्तुहरूको उत्पादन हुनुपर्छ । यसको अर्थ, कम मूल्यमा उच्च गुणस्तरका वस्तु स्वदेशमा उत्पादन गर्नसके व्यापारघाटा कम गर्न सकिन्छ । तर, नेपालको सन्दर्भमा यो क्षमता अपेक्षितरूपमा कमजोर भएकै कारण व्यापारघाटाको मार चुलिँदै गएको अवस्था छ । प्रतिस्पर्धी क्षमताका हिसाबले विश्वका एक सय ४१ देशहरूमध्ये नेपाल १०८औँ स्थानमा रहेको ग्लोबल कम्पिटिटिभ्नेस रिपोर्टले पनि यसलाई पुष्टि गरिरहेको छ । यसरी हेर्दा नेपाली अर्थतन्त्रमा व्यापारघाटाको मार वर्षेनी बोझिलो बन्दै जानुको मुख्य कारण स्वदेशभित्र कम लागतमा वस्तु तथा सेवाको उत्पादन गर्न नसकिनु नै हो । विगतदेखि नै निर्यात प्रवर्द्धनमा पर्याप्त ध्यान नपुगेका कारण समस्याहरू थुप्रिँदै अहिलेसम्म आइपुग्दा व्यापारघाटाको आकारले राष्ट्रिय बजेटकै आकार ग्रहण गर्नपुगेको देखिन्छ ।

यसबाहेक, निर्यात प्रवर्द्धनमा रहेका अनेकथरी व्यवधानहरूका साथै राजनीतिक अस्थिरतालगायत विभिन्न आन्तरिक समस्याहरूका कारण बजार पहुँच बढे पनि नेपालको वैदेशिक व्यापार असन्तुलन झन्झन् बढ्दै गएको र व्यापारका लाभहरू उल्लेख्य रूपमा लिन नसकिएको अवस्था छ । अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चापदार्थमा आधारित हुनु, निकासीलाई टेवा पुग्ने गरी पर्याप्त मात्रामा भौतिक एवं व्यापार पूर्वाधारको विकास हुन नसक्नु, प्रमुख निकासीजन्य उत्पादनहरूको निश्चित मापदण्डअनुसारको गुणस्तर कायम हुन नसक्नु, सीमित वस्तु तथा बजारमा नेपाली उत्पादन केन्द्रित हुनु, सेवा व्यापार र बौद्धिक सम्पत्ति व्यापार प्रवर्द्धनमा विभिन्न नीतिगत र संस्थागत कमजोरी रहनुजस्ता समस्याहरू नेपालको व्यापार क्षेत्रका मुलभूत समस्याहरू हुन् । यसैगरी देशगत र वस्तुगत व्यापार विविधीकरणको अभावमा अन्तर्राष्ट्रिय वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्नु, निकासीजन्य उद्योगहरूलाई कृषि, वन, पर्यटनजस्ता अन्य उत्पादनमूलक आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसकिनु, खुला सिमानाका कारण हुनेगरेको अवैध व्यापारलाई नियन्त्रण गर्न नसकिनुजस्ता समस्याहरू पनि यस क्षेत्रमा विद्यमान रहेका छन् । देशका वयस्क जनशक्ति लाखौँको संख्यामा विदेश पलायन भइरहेका र देशभित्रकै युवापुस्ताको कृषि पेसाप्रति घट्दो आकर्षणका कारण कृषि उत्पादनमा ह्रास हुनु पनि पछिल्लो समयमा व्यापार असन्तुलन बढ्नुमा जिम्मेवार देखिएको छ । यस्तैगरी, लगानी, उचित प्रविधि र दक्ष जनशक्तिको अभावमा उत्पादन र श्रम लागतमा कमी ल्याउन नसकिनुु, भन्सारलगायतका आयात निर्यातका प्रक्रिया अझै पनि जटिल रहनु, अत्याधिकरूपमा भइरहेको विलासिताका वस्तुहरूको आयातमा कटौती गर्न नसकिनु तथा आयात प्रतिस्थापनका लागि आन्तरिक उत्पादनमा जोड दिन नसकिनु पनि नेपालको निकासी प्रवद्र्धनमा बाधकका रूपमा रहेका समस्याहरू हुन् ।

विकसित एवं उदीयमान अर्थतन्त्रमा तुलनात्मक लाभका वस्तुहरूको निर्यात गर्नसकिने अथाह सम्भावना र अवसर विद्यमान रहन्छ । तर, नेपालले तुलनात्मक लाभ भएका निर्यातयोग्य वस्तुहरूको उत्पादन र तिनीहरूको निर्यात प्रवर्द्धन गर्नसकेको छैन । नेपालबाट निर्यात हुने वस्तुको परिमाण र मूल्य दुवै कम छ भने आयात गरिने वस्तुहरू ठूलो परिमाणमा रहनुका साथै तिनीहरूको मूल्य समेत उच्च रहेको छ । यो स्थितिमा योजनाबद्ध रूपमा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा जोड नदिने हो भने व्यापारघाटाको बोझ हल्का बनाउन सकिन्न । कृषिप्रधान देश र कृषिमा आधारित अर्थतन्त्र भन्ने गरिए पनि कृषि उत्पादन र खाद्यान्नको आयातमा समेत वर्षेनी बढोत्तरी भइरहेको देखिन्छ । कृषिप्रधान देश कृषि उपजमा नै परनिर्भर बन्दै जानु आफैंमा विडम्बनापूर्ण स्थिति हो । यसलाई चिर्नका लागि कृषि क्षेत्रमा देखिएका यावत समस्याहरूको समाधान गरी उत्पादनमा बढोत्तरी गरिन आवश्यक छ ।

अर्कोतर्फ, दलहन, तेलहन, तरकारी, फलफूल, छालाजुता, सिमेन्टजस्ता वस्तुहरू समेत उल्लेख्यरूपमा आयात भइरहेको परिप्रेक्ष्यमा आयात प्रतिस्थापनका लागिजस्ता वस्तुहरूको आन्तरिक उत्पादन अभिवृद्धि गर्नेतर्फ पनि ध्यान पु-याइन आवश्यक छ । हाल आयातित वस्तु तथा सेवामध्ये देशमा नै उत्पादन गर्नसकिने र भविष्यमा निर्यातमा प्रतिस्पर्धी हुनसक्ने वस्तु र सेवाको पहिचान गरी स्वदेशी उत्पादन अभिवृद्धिका लागि जोड दिनसके आशातितरूपमा आयात प्रतिस्थापन गर्न सकिन्छ ।

आयात प्रतिस्थापन सँगसँगै निर्यात व्यापार अभिवृद्धि गर्नका लागि नेपालले निरपेक्ष, तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका निर्यातजन्य वस्तु तथा सेवाहरूलाई प्रोत्साहन, सुविधा तथा सहुलियत प्रदान गर्नसकेमा फैलिँदै गएको बजार पहुँचको लाभ लिन सक्दछ । आयातलाई निर्यात व्यापार वृद्धितर्फ आबद्ध गरी मूल्य अभिवृद्धियुक्त वस्तुको निकासीमा बढोत्तरीमार्फत व्यापारघाटा कम गर्न अब ढिला गर्ने हुन्न । मूल्य अभिवृद्धि भएका प्रशोधित तथा तयारी वस्तुहरूको निर्यात बढाउनमा हरतरहले प्रयास केन्द्रित गरिन आवश्यक छ । यसैगरी, निर्यात व्यापारका सन्दर्भमा विशेष केन्द्रित क्षेत्रका रूपमा सरकारले पहिचान गरेका तयारी पोशाक, गलैँचा तथा उनी सामान, पश्मिना तथा रेशमजन्य वस्तुहरू र हस्तकलाका सामानहरू तथा नेपाल व्यापार एकीकृत रणनीति २०१० ले पहिचान गरेका ७ सेवाक्षेत्र एवं १२ वस्तुहरूलगायतका स्थापित निर्यातमूलक वस्तुहरूको उत्पादन प्रविधि, क्षमता र गुणस्तर वृद्धि गर्न सरकारी तवरबाट त्यस्ता उद्योगहरूलाई उचित प्रोत्साहन गर्न जरुरी छ । यसैगरी, निर्यात प्रवर्द्धनका लागि स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने, विश्वबजारको मागअनुरूप नयाँ निकासीजन्य वस्तुहरूको अध्ययन, अनुसन्धान, पहिचान र प्रवर्द्धन गर्नेजस्ता उपायहरूमार्फत निर्यात व्यापारलाई प्रतिस्पर्धात्मक तुल्याउन सकिन्छ । नेपालको सन्दर्भमा व्यापार क्षमता अभिवृद्धिका लागि अतिकम विकसित राष्ट्रका हैसियतले पाउने आर्थिक तथा प्राविधिक सहायताको अधिकतम सदुपयोग गर्ने, प्रतिस्पर्धात्मक लाभका वस्तुहरूको निकासी प्रवर्द्धनका लागि राज्यले निकासी प्रवर्द्धन गृहको सुविधा दिने, प्रक्रियागत सरलीकरण एवं संस्थागत सुधारमार्फत व्यापारको कारोबार लागत घटाउने तथा निकासीजन्य उद्योगहरूको संवेदनशीलतालाई मध्यनजर राखी राजनीतिक स्थिरतामार्फत बन्द, हड्ताल, औद्योगिक असुरक्षा र असहज श्रमसम्बन्धजस्ता क्रियाकलापहरूको न्यूनीकरण गरिन पनि उत्तिकै आवश्यक छ ।

कुनै पनि देशको आर्थिक समृद्धिका लागि कम लागतमा वस्तु र सेवाको उत्पादन गर्नसक्नु पहिलो सर्त हो । तुलनात्मक लाभका वस्तु कम लागतमा उत्पादन गर्न नसकेसम्म विश्व बजारमा प्रतिस्पर्धा गर्न र व्यापारघाटाको ग्राफलाई ओरालो झार्न सम्भव छैन । व्यापारको तीव्र विकास हुन नसक्दा देशमा लगानी र उत्पादन निरुत्साहित हुनुका साथै स्वदेशी मुद्रा बाहिरिने र बिदेशी मुद्रा नभित्रने, अन्तर्राष्ट्रिय सम्बन्ध संकुचित हुने, प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, कृषि तथा उद्योगधन्धादाहरूको विकासमा नकारात्मक प्रभाव पर्ने तथा आय एवं रोजगारीका क्षेत्रहरू साँघुरिने अवस्था रहन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यी सबै अवस्थाहरूको सोझो नकारात्मक असर देशको अर्थतन्त्रले भोगिरहेको छ । कुनै पनि मुलुकको शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिको स्तर निर्धारणमा आयातमा हुने भुक्तानीले सोझो प्रभाव पार्दछ । यद्यपि विप्रेषण आप्रवाहका कारण नेपालको शोधनान्तर स्थिति व्यापारघाटाको आँकडाजस्तै विकराल बनिसकेको छैन । तर, विप्रेषण आप्रवाहले सिंगो अर्थतन्त्रलाई यसकिसिमले टेवा नदिने हो भने व्यापारघाटाको बोझले अर्थतन्त्रलाई निकै अगाडि नै थला पारिसक्ने सहज अनुमान गर्न सकिन्छ । अतः आगामी दिनमा यस्तो स्थिति आउन नदिन बेलैमा उपयुक्त कदमहरू चाल्न सरकार, निजी क्षेत्रलगायतका सरोकारवालाहरूले बेलैमा गम्भीरता देखाउन आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया