Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनयाँ बर्ष २०८०ः पैसा हराएको बर्ष जस्तो नहोस !

नयाँ बर्ष २०८०ः पैसा हराएको बर्ष जस्तो नहोस !


नेपाल राष्ट्र बैंक भन्छ, वित्तीय प्रणालीमा पैसा छ । बैंक तथा फाईनान्स कम्पनीहरुमा तरलता अभावको समस्या छैन, कर्जा दिन सक्ने अवस्थामा रहेका छन् । तर बैंक तथा फाईनान्स कम्पनीहरु भन्छन, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकले भनेजस्तो सहज अवस्थामा छैनन् । कर्जाको माग अनुसार कर्जा प्रवाह हुन सकेको छैन, आदि इत्यादी । एउटा ग्राहक नयाँ कर्जाको लागि होईन, स्वीकृत भईसकेको पुरानो कर्जाको बाँकी रकम दिन बैंकमा दर्जनौं पटक ताकेता गर्छ, तर बैंक उसलाई स्वीकृत भईसकेको कर्जा समेत दिदैंन ।

भन्छ चैत मसान्त सकिन लागिसक्यो, तत्कालको लागि हामीसंग कर्जाको लागि रकम अभाव रहेको छ, हामी कर्जा दिन सक्दैंनौं । ग्राहक रकमको अभावमा अपुरो रहेको आफ्नो आयोजनाको वृतान्त सुनाउँछ । तर बैंकको प्रमुख कार्यकारी अधिकृत, बैंकको बाग्मती प्रदेश प्रमुखलाई ति ग्राहकको व्यवसायीक पीर मर्का सुन्ने फुर्सद छैंन ।

त्यही ग्राहक कर्जाको माग गर्दा अर्को बैंकमा पुग्छ, तर अर्को बाँणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन, अहिले वित्तीय प्रणाली, देशको समग्र अर्थतन्त्र सहज अवस्थामा छैन, हामी तत्कालको लागि नयाँ एक्सपोजरलाई ऋण दिन सक्दैनौं । सबै व्यवसाय धरासायी भएको छ, यो अवस्थामा नयाँ एक्सपोजरलाई ऋण दिएपनि बैशाख पछि मात्र दिन्छौं । अहिले हामी सरकारको नीति, अर्थतन्त्रलाई नजिकबाट नियाल्दै पर्ख र हेरको स्थितीमा बसेका छौं । यो बैंक तथा फाईनान्स कम्पनीहरुमा कर्जाको माग गर्दे हिँडेको एउटा युवा व्यवसायीले भोग्नु परेको पीडा हो । यस्तो पीडा धेरै व्यवसायीहरुले भोगिरहेका छन् ।

यस्तो भईरहंदा पनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक भने वित्तीय प्रणालीमा रकम अभावको समस्या नभएको बताउँदै आएको छ । राष्ट्र बैंक कैं भाषामा भन्नुपर्दा नेपालमा अहिले सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्था बाहेक २१ वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरु रहेका छन् । यि ५५ वटा संस्थाहरुको देशभर छ हजार चार सय ६१ वटा शाखाहरु रहेका छन् । जसमध्ये बाँणिज्य बैंकहरुको पाँच हजार ४९, बिकास बैंकहरुको एक हजार एक सय ३० र फाईनान्स कम्पनीहरुको दुई सय ८२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

बैंक तथा फाईनान्स कम्पनीहरुले देशभर रहेका आफ्ना शाखा सञ्जाल मार्फत कुल ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले चार करोड ८३ लाख २४ हजार नौं सय ३९ वटा निक्षेप खाता मार्फत उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन । जसमध्ये बाँणिज्य बैंकहरुले मात्र चार करोड १६ लाख २६ हजार एक सय ५८ वटा निक्षेप खाता मार्फत चार खर्ब ७१ अर्ब ७० करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् । बिकास बैंकहरुले पनि ५९ लाख ७७ हजार दुई सय ४५ वटा बचत खाता मार्फत पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् भने फाईनान्स कम्पनीहरुले सात लाख २१ हजार पाँच सय २६ वटा बचत खाता मार्फत एक अर्ब नौं करोड २६ लाख २० हजार रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।

निक्षेप खाताको तुलनामा कर्जा खाताको अवस्था भने दयनीय रहेको छ । राष्ट्र बैंकको तथ्याँकलाई आधार मान्दा नेपालमा लघुवित्त बाहेक बैंक तथा फाईनान्स कम्पनीहरुमा रहेको कुल कर्जा खाताको संख्या जम्मा १८ लाख ३३ हजार एक सय ६५ मात्र रहेको छ । यि खाता मार्फत बैंक तथा फाईनान्स कम्पनीहरुले ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये बाँणिज्य बैंकहरुले १५ लाख तीन हजार सात सय ६६ वटा खाता मार्फत ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा बिकास बैंकहरुले दुई लाख ८७ हजार पाँच सय ८१ वटा खाता मार्फत चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने ४१ हजार आठ सय १८ वटा खाता मार्फत ९३ अर्ब चार करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा रकम कुनै नैं कुनैरुपमा वित्तीय प्रणालीमा नैं फर्कन्छ । किनकी अर्थतन्त्रको चक्र नैं यही हो । तर नेपाल राष्ट्र बैंक र बैंक तथा फाईनान्स कम्पनीका प्रतिनिधिहरुको कुरा सुन्ने हो भने अहिले अर्थतन्त्रको चक्र बिथोलिएको छ । राष्ट्र बैंक भन्छ, पैसा छ । बैंकहरु भन्छन् पैसा छैन । त्यसो भए पैसा कहाँ छ, त ? अहिले सबैको चासोको बिषय बनेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई केलाउने हो भने नेपालले प्रत्येक महिना एक खर्ब रुपैंयाँ भन्दा बढीको बैदेशिक व्यापार घाटा बेहोर्दे आएको छ । एक खर्ब भन्दा बढीको सामान आयात गर्दा नेपालले मुस्किलले केही अर्बको सामान मात्र निर्यात गर्ने गरेको छ । आयात र निर्यातबिचको असन्तुलन निकै नैं उच्च रहेको छ ।

बैदेशिक व्यापारको लागि नेपालले नेपाली मुद्रा प्रयोग गर्देन, अर्थात बिदेशमा नेपाली मुद्रा चल्दैन, बैदेशिक व्यापारको लागि नेपालले अमेरिकी डलर नैं भुक्तानी गर्नुपर्ने हुन्छ । जसको प्रमुख श्रोत रेमिटेन्स र पर्यटन नैं हो । बैदेशिक व्यापारको लागि नेपाली रुपैंयाँ प्रयोग हुदैंन भने नेपाली रुपैंयाँ कहाँ प्रयोग हुन्छ त ? नेपाली रुपैंयाँ प्रयोग हुने भनेको नेपालको नेपालको सात वटा प्रदेशको ७७ वटा जिल्ला मात्रै हो । यदि हो भने बैंक तथा वित्तीय प्रणालीमा रहेको ५३ खर्ब रुपैंयाँ निक्षेप र ४८ खर्ब रुपैंयाँ कर्जा कहाँ गयो ? यो बिषयमा राष्ट्र बैंकका उच्च अधिकारीहरु मुख खोल्न चाहाँदैनन् । मुख खोले पनि नाम उल्लेख नगर्ने शर्तमा भन्छन, अहिले बजारमा पैसा छैन, भनिएको छ । त्यो पैसा औपचारिक भन्दा पनि अनौपचारिकरुपमा राखिएको छ ।

ठुला ठुला नेताको घर घरमा, ठुला ठुला उद्योगीहरुको घर, घरमा पैसा राखिएको छ । त्यो पैसा औपचारिकरुपमा वित्तीय प्रणालीमा आउनु पर्यो नि अनि पो अर्थतन्त्रको चक्र नियमित हुन्छ । अर्कोतर्फ सरकारले बिकास खर्च गर्ने सकेको छैन । सरकारी ढुकुटीमा अर्बौं रुपैंयाँ थन्किएर बसेको छ । यो अवस्थामा बिकास खर्च बढाउनु पर्यो नि, बिकास निर्माणका कामहरु गरेर बजारमा पैसा पठाउनु पर्यो नि ।

अनि पो अर्थतन्त्र चलायमान हुन्छ, राष्ट्र बैंकका उच्च अधिकारी भन्छन । सरकार आफै अर्थतन्त्रको चक्रलाई नियमित गर्न नसक्ने अनि नेपाल राष्ट्र बैंक र बैंक तथा फाईनान्स कम्पनीहरुलाई मात्र दोष दिएर हुन्छ, ति अधिकारी भन्छन । तर अब त्यस्तो नहोला, सरकार अहिले आगामी आर्थिक बर्षको लागि बजेटको तयारीमा जुटेको छ । बजेटको लागि सबै क्षेत्रबाट सुझाव मागिरहेको छ, नयाँ बर्ष २०८० राम्रो होला, पैसा हराएको बर्ष जस्तो नहोला नि ति अधिकारी भन्छन् ।
यस्तो छ,नेपालको समग्र बैंकिङ क्षेत्रको अवस्था

No description available.
(श्रोत नेपाल राष्ट्र बैैंक)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया