Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके नेपाल सतीको श्रापले अभिशप्त छ ?

के नेपाल सतीको श्रापले अभिशप्त छ ?


काठमाडौं । हाम्रो देश नेपाल के श्रापित नै हो त ? सतीले यो देशमा राम्रो काम गर्नेहरूको कहिल्यै भलो नहोस् भनेर श्राप दिएकै हो त ? यस्तो अवैज्ञानिक र अन्धविश्वासी भनाइ पनि नेपाल र नेपालीले के पत्याउने अवस्था आएकै हो त ? कस्तो विडम्बना सरसर्ती र वर्तमानलाई विहङ्गम दृष्टि फिराउँदा कताकता यो देश सतीको श्रापले ग्रसित भएझैँ देखिन्छ ।

आधुनिक इतिहासमा हेर्दा त्यत्रो भोटयुद्धमा नेपाललाई विजयी बनाई तिब्बतलाई नेपालसँग नेपालको पक्षमा सन्तुलित व्यापार गर्न बाध्य पार्ने लक्ष्मीनरसिंह मल्ललाई राष्ट्रघाती भनी बेतुकको फतुरमा गिरफ्तार गरी मल्लकालका सरकारले फाँसी दिए । तर दुःखद कुरा के हो भने तत्कालीन देश र राजभक्त लक्ष्मी मल्लका पक्षमा कोही पनि नेपाली जनता बोलेनन् । केवल मुकदर्शक भई तत्कालीन शासकको अन्यायलाई स्वीकार गरे । यस अन्यायपूर्ण कदमको विरोधमा उनी लक्ष्मीनरसिंह मल्लको श्रीमतीले सती जाने बेलामा उक्त श्राप दिएको भनिन्छ । त्यसरी नै राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाह जसले नेपालको तत्कालीन सीमालाई तीन गुणा बनाई टिस्टा र सतलजसम्म पु-याए । उनीजस्ता राष्ट्रको सच्चा सपुतलाई पनि राष्ट्रद्रोहको आरोपमा गिरफ्तार गरी आजीवन कारावासमा राखियो । उनको मृत्यु कारागारमा नै भयो तर यस्तो अन्याय एउटा राष्ट्रवादीमाथि हुँदा पनि नेपाली जनताले उनको पक्षमा चुँ पनि गरेनन् । तत्कालीन शासकको अन्यायलाई मौन समर्थन गरे, उफ्फ ! कस्तो विडम्बना ? सतीको श्राप साँच्चै लागेको अंग्रेज साम्राज्यसँग आफ्नो गुमेको भूभाग बुटवल र स्युराजलाई (जसलाई नयाँ मुलुक भनिन्छ) नेपालमा फिर्ता गराई नेपालको सिमानामा वृद्धि गरी नेपालको पक्षमा दरिलो राष्ट्रवाद प्रदर्शित गरे । नेपालको पक्षमा दरिलो राष्ट्रवाद प्रदर्शित गरेका तिनै राणा श्री ३ जंग बहादुर राणालाई आजका शासकहरूले दानवीकरण गरिरहेका छन्, नेपालीहरू पत्याइरहेका छन् । के राष्ट्रवादीहरूको वास्तै छैन त ? यहाँ पनि सतीको श्राप फलित भएझैँ देखिन्छ । किनकि श्री ३ जंगको पक्षमा कोही पनि बोल्दैनन् र लेख्दैनन् । वीपी कोइराला जसले प्रजातन्त्र र राष्ट्रवादको पक्षमा आन्दोलन गरी नेपाललाई प्रजातन्त्र र राष्ट्रवादको पक्षमा आन्दोलन गरी नेपाललाई प्रजातान्त्रिक र स्वाभिमानी देश बनाउन नेहरूलाई झुकाई नेपालको सिमाना मात्रै हिमालसम्म हो, भारतको होइन भन्ने स्वीकार गर्न लगाएको तथा सगरमाथा नेपालको भन्न चिनियाँ नेता माओेसेतुंगलाई बाध्य पारेका थिए । तिनै विश्वेश्वरप्रसाद कोइरालालाई राष्ट्रघातको आरोपमा गिरफ्तार गरी कालकोठरीमा राख्दा पनि नेपालीहरूले प्रतिरोध गरेनन् । बरु उल्टै उक्त आरोप सत्य मानी हालसम्म पनि पत्याइरहेका छन् । के हो यो नेपालीको शून्यता? सतीको श्रापको प्रभाव त होइन यो ? राजा महेन्द्र जसले नेपाललाई विश्वसामु चिनाए, जसले नेपालभित्र नेपाली मुद्रा चलाए, जसले नेपाललाई पूर्व–पश्चिम राजमार्ग र कोदारी राजमार्ग बनाई नेपालीहरूलाई एक सूत्रमा जोडे, जसले विभिन्न उद्योगधन्दाहरू र औधोगिक क्षेत्रहरू खोली नेपाललाई विकास र सम्वृद्धिको बाटोमा लगाए आज उनी महेन्द्र राजाले अपनाएको स्वाभिमान राष्ट्रियता र विकासको बाटोलाई महेन्द्रपथ भनी बदनाम गर्दा पनि नेपाली जनता होइन महेन्द्र राजा राष्ट्रवादी थिए र उनले अपनाएको बाटो महेन्द्रपथ सही थियो भनी बोल्दैनन् । त्यस्ता हल्ला चलाउनेविरुद्ध कुनै प्रतिकार गर्दैनन्, बरु हो भनी समर्थन गर्छन् । यो के त्यति सतीले श्राप दिएको कारणले भएको हो ? कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता राष्ट्रवादीहरूले अपमानित हुनुपर्ने, मदन भण्डारीजस्ता नेपालप्रेमी मारिनुपर्ने के हो यो राष्ट्रवादीहरूको नियति नै हो नेपालमा ?

ब्रिटिस साम्राज्यवादीहरू नेपालसहित सम्पूर्ण भारत वर्षलाई आफ्नो साम्राज्यमा मिलाउन अनेक सामरिक र कूटनीतिक दाउपेचहरू चलाइराखेको बेला नेपालका प्रधानमन्त्री भीमसेन थापाले त्यस बेलासम्म भारत वर्षमा स्वतन्त्र रहेका पञ्जावसहित केही राष्ट्रहरूको संयुक्त मोर्चा बनाई सम्पूर्ण भारत वर्षबाट अँग्रेज उपनिवेशवादीहरूलाई खेदाउन प्रयासरत थिए । उक्त समूह निर्माणमा असफल भएपछि ग्रेट ब्रिटेनका परम सत्रु फ्रान्सबाट सैनिक विशेषज्ञहरू सिकाई हल्काराका रूपमा रहेका नेपाली सेनालाई व्यावसायिक सेनाको रूपमा तयार गरी सैनिक ओहोदा र पोसाक फ्रान्सको सेनाको जस्तै बनाई अंग्रेजसँग युद्धको तयारी गरी युद्ध गरे । युद्धको परिणाम भनेजस्तो नआए पनि जस्तो राष्ट्रवादीलाई अन्तर्राष्ट्रिय घोषणा गरी जेलमा घाँटी सेरिएर मर्न बाध्य बनाइयो र उनको लासलाई निन्दनीयरूपमा नष्ट गरियो, एउटा राष्ट्रवादीका यस्तो अवसान हुँदा पनि नेपाली जनताले कुनै प्रतिक्रिया जनाएनन् कुनै समवेदना जनाएनन् । केवल मुकदर्शक बने के नेपालमा राष्ट्रप्रेमीहरूको कुनै इज्जत र सम्मान छैन, के सतीको श्रापले गर्दा नै यस्तो भएको हो त ?

अझ शालीन, सौम्य, राष्ट्रवादी, सुशील राजा वीरेन्द्रसहित उनको सम्पूर्ण परिवारको जघन्य नरसंहार हुँदा पनि नेपाली जनताहरूले उनको परिवारसहितको नृशंस हत्या गर्ने हत्याराहरू पत्ता लगाई कारबाही गर्नका लागि कुनै ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गरेनन् । बरु चुपचाप नियतिको रूपमा यसलाई स्वीकार गरी आफ्नो दिवंगत राष्ट्रवादी राजाप्रति कायरतापूर्ण उदासीनता प्रकट गरे । एउटा राष्ट्रवादीको अञ्जानरूपमा नै अपमान गरे । साँच्चै नै के हामी नेपाल र नेपाली सतीको श्रापले गर्दा अभिशप्त भएका हौं त ? प्रश्न बडो विचारणीय छ ।

हो, विदेशी शक्ति राष्ट्रहरूको कुत्सित र भयानक षड्यन्त्रको तानाबानाबाट नेपालको पहिचान, स्वाभिमान एकता र सम्पूर्ण अस्तित्व नै समाप्त पार्ने दृष्टिकोण र अभिप्रायले नेपालमा अहिले रहेका पुराना भनाउँदा ठूला राजनीतिक दलहरूलाई प्रयोग गरी नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता लादियो, आफ्नो कुत्सित उद्देश्य पूरा भएकाले षड्यन्त्रकारी पश्चिमा शक्त्तिहरू रमाए, तिनका सहयोगी भनिएका दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबी देशलाई तन्नम र हरिकंगाल बनाए । तर यिनै राजनीतिक दलहरूले अरू जे अपराध गरे पनि राष्ट्रघातचाहिँ गर्दै गरेनन् । नेपालको भौगोलिक सम्पुभ्रता कायमै राखेका मात्रै होइन यसको प्रवर्द्धन गर्दै अरूको दासता स्वीकार गर्ने माध्यमलाई पनि नेस्तानबुद गराए, उदाहरणस्वरूप लिन सकिन्छ कि नयाँ महाकाली सन्धि गर्नु, लिपुलेक लिम्पियाधुरालाई शतप्रतिशत बहुमतको आधारमा संसद्बाट पारित गरी नेपालको नक्सामा उक्त स्थानहरू सामेल गरी संविधानमा स्थान दिनु र उक्त नक्सा संयुक्त राष्ट्रसंघमा नेपालको आधिकारिक नक्सा हो भनी सम्झौता चीनसँग गर्नु, बीआरआईमा नेपाल सामेल हुनु, ट्रान्स हिमालयन अप्टिकल फाइबर चीनबाट ल्याउनु, भैरहवा र लुम्बिनी विमानस्थलको निर्माण गर्नु, काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिनु, सांघाई कर्पोरेसनमा सदस्य बन्नु, ब्रिकको सदस्य बन्नु, रसिया युक्रन युद्धमा तटस्थ भूमिकामा बस्नु नेपालका धार्मिक सामाजिक परम्परालाई पूर्ववत्रूपमा नै कायम गर्नु, भारतको अग्निवीर परियोजनाको घोर विरोध गर्दै नेपालीलाई भारतीय सेनामा सामेल हुनबाट पूर्णरूपमा रोक्नु, अमेरिकी युद्धनीति एसपीपी अस्वीकार गर्नुजस्ता कार्यहरू गरे । जसले नेपालको राष्ट्रियता समृद्ध हुनुको कारण भए । हो, यी पुराना राजनीतिक दलहरूले भ्रष्ट्राचार गरे यिनीहरूलाई कुनै पनि दिन कारबाही गर्न सकिन्छ । थुन्न र अन्य सजायहरू दिन सकिन्छ तर यिनीहरूको राष्ट्रवादी कार्यहरूको सराहना गर्नुपर्नेमा आफ्नो नेपाललाई विखण्डित र अराजक बनाई नेपालमा आफूले परेड गर्न नसकेको यही पुराना राजनीतिक दलहरूले गर्दा हो भन्ने ठानी पश्चिमासहित केही नेपालविरोधी शक्ति राष्ट्रहरूले अब आफैँले राजनीतिक दलहरू खोली नेपालका सम्पूर्ण राज्यसत्ता कब्जा गरी आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यले यिनीहरूले बिनाएजेण्डा भएका आफ्नै देशका पढेका र आफूले आर्थिक सहयोग गरिरहेका व्यक्तिहरूको झुण्ड खडा गरी राष्ट्रघातभन्दा ठूलो अपराध भ्रष्टाचार हो, देशको सार्वभौमिक अखण्डताभन्दा ठूलो समृद्धि हो भन्नेजस्ता भ्रमपूर्ण न्यारेटिभ खडा गरी रास्वपा, जनमत र उन्मुक्ति पार्टी जन्माई सम्पूर्ण दलाल मिडियाहरूलाई जनताको आँखामा नायकको रूपमा स्थापित गराई नेपालको सत्तामा सत्तासीन केही मात्रामा भए पनि गराएका छन् । केबल छ महिनाभित्र पुराना राष्ट्रवादी कार्यलाई पूर्णरूपले भुली नयाँ भनाउँदा पश्चिमी शक्तिका दलाल दलहरूलाई नेपाली जनताले रुचाएको देखिन्छ । यो के कारणले गर्दा भएको हो, नेपालीहरूले यी नयाँ भनाउँदा राष्ट्रघाती दलहरूलाई चिन्न नसकेको किन ?

के नेपाली सतीको श्रापले अभिशप्त नै हुन् त ?
खबरदार ! यी नयाँ दलहरू नेपालको अस्तित्व नै मेटाउन तयार गरिएका विदेशी शक्तिहरूका दलाल हुन् । पूर्वी तराई जनमतले चुनावमार्फत कब्जा गर्ने, पश्चिम तराई चुनावमार्फत उन्मुक्तिले कब्जा गर्ने र पहाड राष्ट्रिय स्वतन्त्र पार्टीले कब्जा गर्ने उद्देश्यले गठन भएका हुन् । यी तीन पार्टीहरूले चुनावमार्फत नेपालको सत्ता पूर्णरूपमा कब्जा गरेपछि पश्चिमा र भारतीय सत्ताले नेपाल कब्जा गर्नेछ । नेपालको सार्वभौमिकता सदाका लागि समाप्त हुनेछ । नेपालीहरू आफ्नै देशमा विदेशीको गुलाम हुनेछन् । यो पश्चिमा षड्यन्त्रबाट सबै राष्ट्रवादी नेपाली सचेत हुन जरुरी छ । सबैमा चेतना भया !


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया