Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौद्धिक जनशक्ति विकासका लागि सार्वजनिक पुस्तकालय

बौद्धिक जनशक्ति विकासका लागि सार्वजनिक पुस्तकालय


काठमाडौं । कुनै पनि देशको सर्वतोमुखी विकासका लागि बुद्धिजीवीहरुको धेरै आवश्यकता हुन्छ । वास्तवमा यिनीहरु यस्ता सचेत व्यक्तिहरु हुन जसले आफ्नो समाजलाई समय सापेक्ष बनाउन हरसम्भव प्रयत्न गर्छन् । जुनसुकै देशमा यस किसिमका व्यक्तिहरु प्राप्त गर्न सार्वजनिक पुस्तकालयले धेरै सघाउ पु-याउँछ । साधारणतया जहाँ ज्ञानविरोधी नेतृत्व सत्तामा हुन्छ, त्यहाँ अन्धकार हुन्छ । तर, जहाँको सत्तामा बौद्धिक नेतृत्व हुन्छ, त्यहाँ कुनै पनि समस्या समाधानका लागि उपायहरु पत्ता लगाई व्यवहारमा उतार्न सहज हुन्छ ।

वस्तुतः कुनै पनि देशमा एक सभ्य र दिगो समाज निर्माणका लागि बुद्धिजीवीहरुको व्यक्तिगत एवं सामाजिक ज्ञान, कौशल, दृष्टिकोण, इमानदारी आदि विस्तृत छलफलको विषय हुनुपर्छ ।

वर्तमान समयमा नेपाल नाजुक अवस्थामा छ । किनभने यहाँको परम्परागत संरचना बिगारिएको छ भने नयाँ प्रणालीको पूर्णरुपले विकास गर्न सकिएको छैन । यस्तो अवस्थामा यहाँका बुद्धिजीवीहरुको भूमिका महत्वपूर्ण हुन्छ । किनकि यहाँका परिवर्तन र चुनौतीहरुको सामना गर्ने उनीहरु रचनात्मक विचारको धेरै आवश्यकता पर्छ । हाल नेपालमा बौद्धिक इमानदारीको खाँचो छ । केही अपवादबाहेक यहाँका धेरैजसो शान्तिको नजिक पुग्न इच्छुक छन् । जुन आजसम्म पनि विश्वव्यापी समस्याको रुपमा रहेको छ ।

यहाँ आन्तरिक तथा बाह्य समस्याहरु धेरै भए पनि सम्बन्धित विषयका बुद्धिजीवीहरुको कमीले उपयुक्त किसिमबाट समाधान गर्न सकिएको छैन । वर्तमान समयमा यहाँ खास गरी अन्तर्राष्ट्रिय कानून, राजनीति र कूटनीति क्षेत्रका विद्वान्हरुको आवश्यकता छ । जसको लागि सार्वजनिक पुस्तकालयको धेरै नै महत्व छ ।

कुनै पनि व्यक्तिको ज्ञानोपार्जनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्छ । तर विगतमा विश्वका धेरै देशमा सार्वजनिक पुस्तकालयहरुको कमीको कारण अध्ययनशील व्यक्तिहरुले आफ्ना ज्ञान अभिवृद्धि गर्ने मौका पाएनन् । वस्तुतः सार्वजनिक पुस्तकालयको अवधारणा एवं विकास चौधौँ शताब्दीमा इटालीमा सुरु गरिएको हो । सत्रौं शताब्दीमा बेलायतमा सिटी लाइब्रेरीको रुपमा व्यापक विस्तार एवं विकास गरी सन् १८५० मा पब्लिक लाइब्रेरी एक्ट बनाई कार्यान्वयन गरियो । त्यसपछि क्यानडा, अमेरिका, जापान आदि देशहरुमा पब्लिक लाइब्रेरीको विकास एवं विस्तार गरियो । नेपालमा शिक्षित व्यक्तिहरुको संख्या कम हुनाले यहाँ धेरै वर्षसम्म पुस्तकालयको आवश्यकता महसुस गरिएन । सन् १९३० मा यहाँ स्वर्गीय महाकवी लक्ष्मी प्रसाद देवकोटाको पहलमा सरस्वती सदनको रुपमा प्रथम सार्वजनिक पुस्तकालय स्थापना गरियो ।

सन् १९५० पछि यहाँका विश्वविद्यालय, महाविद्यालय र विद्यालयहरुमा पुस्तकालयहरु स्थापना गर्न थालियो । जसले गर्दा यहाँको समाजमा केही मात्रामा भए पनि चेतनाको लहर फैलाउन सघाउ पु-यायो ।

यहाँ हालसम्म पनि जुन गतिमा पुस्तकालयहरुको विकास एवं विस्तार हुनुपर्ने थियो त्यस्तो हुन सकेको छैन । यहाँका विश्वविद्यालय र केही विद्यालयहरुमा पुस्तकालयहरु स्थापना गरिए पनि पाठकहरुको संख्या भने निकै कम छ । गाउँघरका विद्यालयहरुमा त यिनीहरुको संख्या झन् कम छ । केही सामुदायिक विद्यालयका पुस्तकालयहरु आजसम्म पनि राम्ररी प्रयोग गर्न सकिएको छैन । यहाँ हालसम्म पनि पढ्ने संस्कृतिको विकास गर्न नसकिएकोले यस्तो भएको हो ।

बालबालिकाहरुले अरुले गरेका काम देखेर सिको गर्छन् । यिनीहरुले आफ्ना आमाबाबुले पुस्तक पढेको देखे भने पुस्तकपुस्तिका पढ्नुपर्ने रहेछ भन्ने ठान्छन् र विभिन्न पुस्तकपुस्तिका पढ्न अभ्यस्त हुन्छन् । यो कुरा सबै अभिभावकले बुझ्नुपरेको छ ।
अभिभावक तथा बालबालिकाहरुले आफ्ना रुचिअनुसार साहित्यका विभिन्न विधाका पुस्तक तथा पुस्तिकाहरु पढ्ने बानी बसाल्नुपर्छ । यसो गर्नसके अभिभावक एवं बालबालिकाहरुको ज्ञानको दायरा फराकिलो हुने मात्र होइन, उनीहरुको इन्टरनेटमा धेरै समयसम्म झुम्मिने कुलत पनि विस्तारै न्यून हुँदै जान्छ ।

बालबालिकाहरुलाई प्राथमिक तहदेखि नै विभिन्न पुस्तकपुस्तिकाहरु निरन्तर रुपले अध्ययन गर्ने बानी बसाल्न सके उनीहरुमा पठन संस्कृतिको विकास भई भविष्यमा पुस्तकालयमा गएर अध्ययन गर्न अभ्यस्त छन् । योबाहेक आजको सूचना प्रविधिको युगमा इ–लाइब्रेरीको नितान्त आवश्यक छ जसले पठन संस्कृतिको विकासमा मात्र सघाउ नपु-याई भविष्यको कर्णाधारहरुको जीवनमा समेत आमूल परिवर्तन ल्याउनेछ ।

पुर्खाले आर्जेका ज्ञान, सीप र अनुभवलाई सञ्चित गर्न सके भावी पुस्तालाई काम लाग्नेछ । पुस्तकालयमा यिनीहरु राम्ररी संचय गर्न सकिन्छ ।

विश्वमा पूर्वीय दर्शन र साहित्य अब्वल मानिन्छ । यसैले आज उक्त दर्शन र साहित्य पश्चिमाहरुको लागि खोज र अध्ययनको विषय भएको छ । सार्वजनिक पुस्तकालयहरुको विकास गर्न सके उक्त दर्शन र साहित्यलाई जीवन्त राख्न सकिन्छ ।

केहि वर्ष अघिसम्म नेपाल संस्कृत विषयको लागि उर्वर भूमि मानिन्थ्यो । तर, वर्तमान समयमा यहाँ उक्त विषयको महत्व घटेको छ । सार्वजनिक पुस्तकालयहरुको ठोस विकास गर्न सके उक्त विषयका पुस्तक तथा पुस्तिकाहरु संचित गरी इच्छुक व्यक्तिहरुको चाख अभिवृद्धि गर्ने ठूलो सघाउ पुग्ने कुरामा शंका गर्न सकिँदैन ।

विकसित देशहरुमा सार्वजनिक पुस्तकालय सर्वसाधारणको जमघट हुने थलो हो । जहाँ बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै क्षेत्रहरु छुट्टाइन्छ । यस्ता पुस्तकालयहरुमा विभिन्न उमेर समूहकोे रुचि एवं आवश्यकताअनुसार पुस्तकपुस्तिकाहरु राखिन्छन् । यति मात्र होइन, यी पुस्तकालयहरुमा पाठकहरुका बैठक एवं छलफलका लागि छुट्टै कोठाको व्यवस्था गरिन्छ ।

सार्वजनिक पुस्तकालयहरुमा अनलाइन अध्ययनका लागि कम्प्यूटर र इन्टरनेटको व्यवस्था गरिएको हुन्छ भने अनुसन्धानकर्ताहरुको लागि आवश्यक स्रोतसाधनहरुको पनि व्यवस्था गरिएको हुन्छ । यस्ता पुस्तकालयहरु विकसित देशहरुमा प्रत्येक विश्वविद्यालय तथा विद्यालयको आ–आफ्नै पुस्तकालयहरु हुन्छन् । जहाँ विद्यार्थीहरुको आवश्यकताअनुसार पुस्तकपुस्तिकाहरु राखिन्छन् ।

उक्त देशहरुमा समुदायका नागरिकको सहज पहुँच हुने स्थानमा पुसतकालय स्थापना गरिन्छ । यहाँको हरेक सहर र इलाकामा सामुदायिक पुस्तकालयहरु स्थापना गरिन्छ जसको व्यवस्थापन सम्बन्धित स्थानीय सरकारले गर्दछ ।

विकसित देशहरुमा सहर होस् वा गाउँ एउटा पुस्तकालय हुनुपर्ने प्रावधान छ । पुस्तकालयको सहज पहुँचले गर्दा यी देशका नागरिकहरुमा पठन संस्कृतिको विकास मात्र नभई सर्वाङ्गीण विकासमा समेत केही योगदान पुगेको छ ।

नेपालमा पुस्तकालयको संख्या एवं यसको लागि आवश्यक जनशक्तिको कमी छ । आजको सूचना तथा प्रविधिका युगमा प्रत्येक वडा तहसम्म पुस्तकालयहरु स्थापना गरी पठन संस्कृतिको विकास गर्नुपर्नेमा स्थानीय तहको केन्द्रमा समेत पुस्तकालय नहुनु दुःखको कुरा हो ।

वर्तमान समयमा यहाँका विभिन्न ठाउँमा सामुदायिक भवन निर्माणको लागि होडबाजी चलेको भए पनि पुस्तकालय स्थापनाका लागि कसले चासो देखाएको देखिँदैन । यति मात्र होइन, केही ठाउँमा स्मार्ट सिटी निर्माण गर्ने चर्चा छ । तर, स्मार्ट गाउँपालिकामा स्मार्ट लाइब्रेरी स्थापना गर्ने कुरा छैन । जुन दुःखको कुरा हो । यथार्थतः भौतिक विकासले मात्र कुनै पनि देश सम्पन्न् बन्न सक्दैन । यसका लागि त मानव जातिको बौद्धिक विकासको आवश्यकता पर्छ । जसका लागि सार्वजनिक पुस्तकालय महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया