आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने
काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयअनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भएपश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउनलागेको हो । जसअन्तर्गत केबुलकारको दुवै स्टेसनमा यात्रुहरुको ज्वरो मापन गरिनेछ, १०० डिग्री फरेनहाइटभन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिइनेछैन ।
केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ र हात सेनिटाइज गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिह्न अंकित घेरामा लामबद्ध भई बस्नुपर्नेछ । कम्पनीका अनुसार केबुलकार हाताभित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुनपानीले हात धुनुपर्नेछ । स्टेसन हाताभित्र भीडभाड नगर्ने तथा पिकनिक र वनभोजलाई अस्थायी रुपमा बन्द गरिएको कम्पनीले जनाएको छ ।
केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोहीअनुसार आफ्नो यात्रा तय गर्नुपर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थायी रुपमा बन्द गरिएको कम्पनीको भनाइ छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिसकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीले आफ्नो जनशक्तिलाई फेस सिल्ड, मास्कलगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने बताइएको छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिनेछ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेष्टुरेन्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । साथै मनकामना मन्दिर पनि आइतबारदेखि नै खुल्ने मनकामना क्षेत्र विकास समितिले गराएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया