Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय बीमा संस्थान ५४औँ वर्षमा

राष्ट्रिय बीमा संस्थान ५४औँ वर्षमा


काठमाडौं ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औँ वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गरे । संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्वारा सर्वसाधारणको संस्थानप्रतिको विश्वसनीयता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुपर्ने बताए ।

जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु-याई बीमाको पहुँच र दायरामा वृद्वि गर्दै संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनको आग्रह थियो । समिति नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने उनले बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे ।

व्यावसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकासमार्फत आर्थिक समृद्वि हासिल गर्न बीमा व्यवसाय ठोस आधार स्तम्भ हुने बताए । उनले संस्थानले बीमाको पहुँच विस्तारमार्फत उद्योग व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पु-याउनुपर्ने आवश्यकता औँल्याए । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बीमाको पहुँच वृद्वि भएको भए पनि अझै विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । मुलुकको जेठो बीमा कम्पनीको रूपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उनको जोड थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले कर्मचारीहरूको सावधिक जीवन बीमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बीमा प्रिमियम ह्वात्तै बढेको उनले बताए । अगामी वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स)का कारणले सरकारी संस्थान, स्थानीय निकाय, बंैक, सहकारी संस्थाहरूमा यो प्रडक्ट लगेर सामूहिक बीमाको विस्तार गरी बीमा प्रिमियमलाई बढाइने लक्ष्य राखिएको उनको भनाइ थियो ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालू आवको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोडमध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा आठ दशमलव ५९ प्रतिशत रहेको जानकारी दिए । जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको उनले बताए । सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार छ सय ८७ रहेकोमा संस्थान सात लाख ३५ हजार आठ सय १९ बीमालेखसहित पाचौँ स्थानमा रहेको प्रशासक पाठकले बताए ।

नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो । सेयर पुँजी, जीवन बीमा व्यवसायबाट प्राप्त बीमाशुल्क र जीवन बीमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय स्रोत भएको बताउँदै उनले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशनबमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुनेगरी लगानीलाई व्यवस्थित गरिएको बताए ।

संस्थानले जारी गरेका बीमालेहरूको आफ्नो धारण क्षमताभन्दा बढी रकमको पुनर्बीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीबाट गर्दै आएकोमा देशभित्रै स्थापित नेपाल पुनर्बीमा कम्पनीसँग सत प्रतिशत पुनर्बीमा गर्ने व्यवस्था गरी पुनर्बीमा शुल्कको नाममा रकम विदेशिने कार्यलाई निरुत्साहित गरिएको उनको भनाइ छ । संस्थानको लेखापरीक्षण र साधारणसभा निकै लामो समयदेखि हुन नसकेको जानकारी उनले दिए । उनले भने, ‘यो नै संस्थानको मुख्य समस्या हो ।

जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा समेत समयमा सम्पन्न हुन सकेको छैन । विगतका समयमा बीमाङ्कीय मूल्याङ्कन हुन नसक्दा यस्तो अवस्था आउन गएको हो । संस्थानले छ वर्षको बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गरी स्वीकृतिको लागि बीमा समितिमा पठाइएकोमा तीन वर्षको स्वीकृति प्राप्त भएको छ भने अर्को तीन वर्षको समेत स्वीकृति प्राप्त हुने विश्वास लिएका छौँ । सोभन्दा पछिल्लो अवधिको बीमाङ्कीय मूल्याङ्कनको प्रतिवेदन ड्राफ्ट रिपोर्ट बीमाङ्कीबाट प्राप्त गरिसकिएको छ ।’

अघिल्लो अवधिको स्वीकृति प्राप्त हुनासाथ मिलाउनुपर्ने विषयहरू समायोजन गरी स्वीकृतिको लागि समितिमा पठाइने उनले बताए । बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन र अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृत नभई पछिल्लो वर्षको लेखापरीक्षण कार्यलाई अन्तिम रूप दिन नसकिने बाध्यताका कारण संस्थानको लेखापरीक्षण सम्पन्न गर्न कठिनाइ भएको उनको भनाइ थियो । लेखापरीक्षणपश्चात् बाँकी अवधिको साधारणसभा सम्पन्न गरिने उनले जानकारी दिए ।

उनका अनुसार संस्थानले आन्तरिक लेखापरीक्षणलाई नियमितता दिनुको साथै वित्तीय विवरणहरू त्रैमासिकरूपमा प्रकाशन गर्ने गरेको छ । लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित गराउन एनएफआरएस लागू गर्न लेखापरीक्षकको नियुक्ति गरी कार्य अगाडि बढाइएको छ । संस्थानको नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने अभिकर्ता, कर्मचारी र शाखाहरूलाई पुरस्कृत गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया