Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड रोकथाममा केन्द्रित हुन सरकारलाई कांग्रेसको आग्रह

कोभिड रोकथाममा केन्द्रित हुन सरकारलाई कांग्रेसको आग्रह


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकभर कोभिड–१९ को महामारी भयावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न आग्रह गरेको छ । यस्तै कांग्रेसले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आए पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको समेत उनले स्मरण गराएका छन् ।

‘कांग्रेस आफैँ पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागि परेको छ । तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम कांग्रेसले गर्नसक्ने कुरा भएन । सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पीरमर्का गौण हुनपुगेका छन्’, देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

देशैभर अस्पताल पहुँचको सीमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन नसकेको उल्लेख गर्दै सभापति देउवाले सरकारको अकर्मण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको आरोप समेत लगाएका छन् । संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनुपर्नेमा निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको उनको टिप्पणी छ ।

साथै उनले कोभिड–१९ विरुद्धको खोप तत्काल आपूर्ति गर्न, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था गर्न तथा निम्न आय भएका नागरिकलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न पनि माग गरेका छन् । देशको हरेक गाउँ÷नगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न; संक्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्न; ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले निषेधाज्ञालाई व्यावहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी आवश्यकताअनुसार कार्यान्वयन गर्न, विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरूबाट आएको सहयोगको दुरूपयोग र पार्टीकरण बन्द गर्न तथा खोपलगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि माग गरेका छन् ।

उनले भनेका छन्, ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिँदै छ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया