Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने काम गरेकोे छैन : अर्थमन्त्री

मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने काम गरेकोे छैन : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठ्यारो पार्ने काम आफूले नगर्ने दाबी गरेका छन् । अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले मौद्रिक नीति कहिले ल्याउने भन्ने निर्णय बैक आफैँले गर्ने बताए । आफूले स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको उनको दाबी छ ।

चालू आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । मौद्रिक नीति ल्याउन अर्थमन्त्रीले रोकेको चर्चा चलिरहेको छ । अर्थमन्त्री शर्माले भने वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सिर्जना गर्नेगरी नीति ल्याउन मात्रै सुझाव दिएको बताए । उनले राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको जानकारी दिए ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरूसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नरसाबलाई फेरि ब्याजदर बढेर नागरिक वित्तीय सुविधाबाट वञ्चित नहुन् भनेको हुँ ।’ ‘आम नागरिकलाई अप्ठ्यारो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन’, शर्माले भने । ऋण पाउने पक्का भएकाहरूले ऋण नपाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए । यस्तै शर्माले मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन माग आएको बताए । एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागे मात्र समाधान सम्भव हुने उनले बताए ।

यसैगरी मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्रै श्वेतपत्र ल्याउन खोजिएको बताए । ‘कसैको अवमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मूल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो’, शर्माले भने । केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए ।

‘श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ ।’ उनले थपे, ‘आफूलाई जे लाग्छ त्यति मात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति ग-यो, कसले कति गरेन पनि भन्दिनँ ।’ मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मूल योजना रहेको पनि बताए । नयाँ सरकार गठन भएको स्थितिमा आर्थिक अध्यायदेश संसद्मा टेबल भएको बताउँदै उनले यसलाई टुंग्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै पुँजीगत खर्च बढाउने र व्यापारघाटा कम गर्ने दिशामा मिहिनेत गर्नुपर्ने अवस्था रहेको बताए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भए पनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए । यस्तै सचिव ढुंगानाले पनि अर्थ मन्त्रालयले मौद्रिक नीति नरोकेको स्पष्ट पारे । उनले भने, ‘हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ ।’

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले श्रमजीवी पत्रकारहरूको श्रम शोषण गर्ने मिडिया हाउसलाई सरकारी सुविधा रोक लगाउने खालको व्यवस्था गर्न सुझाव दिएका थिए । यस्तै उनले पत्रकारहरूको लागि आर्थिक राहतभन्दा सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन, स्वरोजगारमूलक साना तथा मझौला मिडिया हाउसहरूलाई राहत हुनेगरी कार्यक्रम ल्याउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन, मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट उपलब्ध गराउन सुझाव दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया