Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गर्छौँ’ : मुख्यमन्त्री पोखरेल

‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गर्छौँ’ : मुख्यमन्त्री पोखरेल


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको बताएका छन् । साथै उनले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गर्दै उनले यस बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगतरूपमै जानकारी लिन आफू अनुगमनमा आएको सुनाए ।

इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरीजस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको सुनाउँदै उनले यसका लागि अस्पतालबाट सुझावको अपेक्षा गरेको उनले सुनाए । उनले भने, ‘रगत लिँदा बिरामीका आफन्तले रकम तिर्नु पर्ने अवस्था थियो, हुन त प्राविधिक परीक्षण र अन्यमा खर्च भएको रकम हो त्यो, त्यै पनि अब प्रदेश सरकारले बेहोरिदिने भएको छ ।’ मृगौलाको बिरामीको निःशुल्क डायलासिस गर्ने बारेमा समेत प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री पोखरेलले सुनाए ।

उक्त अवसरमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध क्षेत्रमा पु-याएको सेवाको खुलेरै कदर गरे । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

आइएनएफका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पोखरा वाहेक सुर्खेत र नेपालगञ्जमा समेत अस्पताल सञ्चालनमा रहेको भन्दै पोखरामा अन्यत्रभन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी गराए । अस्पतालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा अस्पतालका निर्देशक डा. अरुणकुमार बुढाले जानकारी गराए ।

राणा शासनको अन्त्य लगत्तै भारतबाट आएको विशेषज्ञको टोलीले नेपालीको समेत सहभागितामा विसं २००९ सालमा पोखरामा सबैभन्दा पहिला साइनिङ अस्पताल खुलेको थियो । करिब ८५ लाख जनसंख्या र करिब २ प्रतिशत नागरिक कुष्ठरोगको प्रभावमा रहेका बेला पोखरामा साइनिङ अस्पताल खुलेको थियो । डा. बुढाले परिवर्तित अवस्थासँगै सेवा प्रवाहमा समेत विकास गरिएको उनले जानकारी गराए । अपांगता भएकाहरूको लागि कृत्रिम हातखुट्टा बनाउनेदेखि, श्रवणयन्त्रको काम समेत उक्त अस्पतालमा हुनेगरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया