Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशून्य लागत कार्यान्वयन नहुँदा युवा ठगिने क्रम रोकिएन, ४८ करोड ठगी

शून्य लागत कार्यान्वयन नहुँदा युवा ठगिने क्रम रोकिएन, ४८ करोड ठगी


प्रवीण राउत
काठमाडौं, फागुन ११
सरकारले वैदेशिक रोजगारी शून्य लागत (फ्रि भिसा फ्रि टिकट) मा भने पनि त्यसको कार्यान्वयन गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । यता वैदशिक रोजगार विभागले विदेश पठाउने नाममा विदेश पठाउने संस्था अर्थात् मेनपावरले एजेन्ट राख्न नपाउने व्यवस्था गरे पनि ठग्ने क्रम समेत रोकिएको छैन ।

चालू आर्थिक वर्ष (२०७६-०७७) को सात महिनामा (साउनदेखि माघ मसान्तसम्म) गरी युवाहरुलाई विदेश पठाउने भन्दै मेनपावर तथा व्यक्तिहरुले ४८ करोड १७ लाख ५२ हजार रुपैयाँ ठगी गरेको विभागले जानकारी दिएको छ । जसमध्ये मेनपावरले २६ करोड ८० लाख ५३ हजार तथा व्यक्तिले २१ करोड ३६ लाख ९८ हजार रुपैयाँ ठगी गरेका छन् । पीडित युवाहरुले मेनपावरमार्फत सो रकम ठगी भएको भन्दै आठ सय २५ वटा उजुरी दिएका छन् । यसमध्ये व्यक्तिगततर्फ दुई सय ९० वटा उजुरी दिएका छन् ।

उजुरी आएसँगै विभागले सो अवधिमा मेनपावरमार्फत जरिवाना र बिगोस्वरुप पाँच करोड सात लाख ९० हजार भराएको छ भने व्यक्तिगततर्फ भने बिगो भराएको पाइँदैन । व्यक्तिगततर्फको उजुरी वैदेशिक रोजगार न्यायाधिकरणले हेर्छ भने मेनपावर अर्थात् संस्थागत उजुरी भने विभागले हेर्ने गरेको छ । यसमध्ये विभागले निर्णय गरी मेनपावरलाई ५९ लाख जरिवाना भराएको छ । त्यस्तै, चार करोड ४८ लाख ९० हजार बिगो समेत भराएको छ । विभागले चार सय ९६ वटा जाहेरी फरफारक तथा तीन सय ३७ वटा पुरानो उजुरी तामेली गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणले भने मेनपावरको ठगी नरोकिनुमा भने विभागको कमजोरी भएको बताएको छ । न्यायाधिकरणका एक अधिकारीले विभागले अनुगमन नगर्ने तथा उजुरी आएका व्यक्तिहरुको हकमा समेत फितलो अनुसन्धान गर्दा पीडित बढ्नुका साथै उजुरीको रकम समेत प्राप्त गर्न नसकेको अवस्था आएको बताए । ‘विभागले राम्रोसँग अनुसन्धान गरिदिने हो भने न्यायाधिकरणसम्म मुद्दा आउने थिएन’, अधिकारीले भने ।

यता पीडितहरु भने विभागका अधिकारीहरुले आफ्नो गुनासो नसुनेको आरोप लगाउँछन् । मकाउ पठाउने भन्दै ठगीमा परेका कञ्चनपुरका २९ वर्षीय जुम्ल्याहा दाजुभाइ राम चौधरी र लक्ष्मण चौधरीले विभागले आफूहरुको समस्या नसुनेको बताए ।

‘विभागका अन्य कर्मचारीहरुले आफ्नो कुरा नसुनेपछि विभागका महानिर्देशकलाई भेट्न खोजेको हो’, रामले भने, ‘महानिर्देशकलाई भेट्नको लागि करिब दुई हप्ताको समय लाग्यो । कहिले बैठक, कहिले बाहिर भनेर दुई हप्तासम्म भेट्न सकेनौं ।’

उनीहरुलाई मकाउ पठाउने नाममा एक समूहले ३८ लाख रुपैयाँ ठगी गरेका थिए । ठगी गर्नेमा लक्ष्मण अधिकरी, पर्शुराम अधिकारी, अर्जुन बास्ताकोटी, मनिका अधिकरी लिम्बु, पम्फा राई रहेका छन् ।

माघ :चालू आवको माघ महिनामा युवाहरुले विदेश पठाउने नाममा दुई करोड ८९ लाख ४८ हजार रुपैयाँ ठगी गरेको भन्दै मेनपावरविरुद्ध ७७ वटा उजुरी विभागसमक्ष दिएका छन् । उजुरी आएसँगै विभागले मेनपावरलाई सात लाख ५० हजार जरिवाना गराएको छ भने बिगोस्वरुप ४६ लाख १२ हजार भराएको छ । यस्तै उसले चार वटा संस्थाहरुलाई जरिवाना गराएको जनाएको छ ।

सोही समयमा युवाहरुले व्यक्तिहरुले तीन करोड ९० लाख ३१ हजार ठगी गरेको भन्दै विभागसमक्ष ४४ वटा उजुरी दिएका छन् भने विभागले अदालतसमक्ष १७ वटा मुद्दा दायर गरेको छ । यस्तै अदालतमा युवाहरुले बिगो दाबीस्वरुप एक करोड ३२ लाख ५७ हजार माग गरेका छन् ।

पुस :पुस महिनामा मात्र मेनपावरले चार करोड ६१ लाख ८० हजार चार सय रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभिन्न मेनपावरविरुद्ध विभागसमक्ष एक सय सातवटा उजुरी दिएका छन् । उजुरी आएसँगै विभागले निर्णय गरी सात लाख रुपैयाँ मेनपावरलाई जरिवाना गराएको छ भने ३३ लाख १५ हजार बिगो समेत भराएको छ ।

व्यक्तिगततर्फ भने सोही महिनामा युवाहरुले एक करोड ९२ लाख ९५ हजार ठगी भएको भन्दै ३७ वटा उजुरी दिएका छन् । विभागले न्यायाधिकरणसमक्ष पुस महिनामा मात्र सात लाख ५७ हजार पाँच सय बिगो दाबी गर्दै उजुरी दिएको छ । यस्तै अदालतसमक्ष ठगी गरेको भन्दै १९ वटा मुद्दा दायर गरेको छ ।

मंसिर : मेनपावरले आफूहरुलाई ठगी गरेको भन्दै युवाहरुले मंसिरमा एक सय ३९ वटा उजुरी दिएका छन् भने पाँच करोड ५२ लाख ३८ हजार नौ सय रकम दाबी गरेका छन् । मंसिरमा भने विभागले निर्णय गरी र बिगो भराएको पाइँदैन ।

यता व्यक्तिगततर्फ भने मंसिरमा ३४ वटा उजुरी एक करोड ८७ लाख दुई हजार आठ सय ठगी भएको भन्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । अदालतमा दायर मुद्दा संख्या २४ वटा रहेको छ भने अदालतमा बिगो दाबी दुई करोड तीन लाख १२ हजार पाँच सय रहेको छ ।

कात्तिक : कात्तिक महिनामा मात्र मेनपावरले तीन करोड ७ लाख ९५ हजार पाँच सय ठगी गरेको भन्दै एक सय एक वटा उजुरी दिएका छन् । विभागले उजुरी आएसँगै ३२ वटा मेनपावरलाई तीन लाख जरिवाना गरेको छ भने २६ लाख ६५ हजार पाँच सय बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा ४१ वटा उजुरी परेको छ भने तीन करोड ५० लाख २९ हजार दाबी गरिएको छ । अदालतमा १५ वटा मुद्दा दायर तथा दुई करोड ३७ लाख ५८ हजार सात सय बिगो दाबी परेका छन् ।

असोज : असोजमा मेनपावरले आफूहरुलाई दुई करोड २८ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले विभागसमक्ष २५ वटा उजुरी दिएका छन् । विभागले सोही निवेदनलाई आधार मानी निर्णय गरी मेनपावरलाई पाँच लाख रकम जरिवाना गराएको छ भने ३३ लाख ८१ हजार रुपैयाँ बिगो भराएको छ । विभागबाट निर्णय भई जरिवाना गराइएको मेनपावरको संख्या भने पाँचवटा रहेको छ । विभागले युवाहरुलाई ठगी गरेको भन्दै १८ वटा मुद्दा अदालतमा दायर गरेको छ भने युवाहरुले एक करोड ३७ लाख ८६ हजार बिगो दाबी गरेका छन् ।
भदौ

युवाहरुले भदौमा पाँच करोड १२ लाख ६२ हजार सात सय रुपैयाँ ठगी भएको भन्दै मेनपावरविरुद्ध एक सय ६७ वटा उजुरी विभागसमक्ष दिएका छन् । उजुरीपछि विभागले मेनपावरलाई १९ लाख ५० हजार जरिवाना गराएको छ भने बिगोस्वरुप दुई करोड १३ लाख ९८ हजार तीन सय भराएको छ । यस्तै उसले १४ वटा संस्थाहरुलाई जरिवाना गराएको जनाएको छ ।

सोही समयमा युवाहरुले व्यक्तिहरुले तीन करोड १८ लाख ४७ हजार चार सय ठगी गरेको भन्दै विभागसमक्ष ४८ वटा उजुरी दिएका छन् भने विभागले अदालतसमक्ष ४० वटा मुद्दा दायर गरेको छ । यस्तै अदालतमा युवाहरुले बिगो दाबी स्वरुप दई करोड ८१ लाख ७८ हजार माग गरेका छन् ।

साउन : संस्थागततर्फ विभागसमक्ष युवाहरुले एक सय ४६ वटा उजुरी दिएका छन् । पीडित युवाहरुले उजुरीसँगै तीन करोड ५३ लाख ८८ हजार ७ सय ३२ रुपैयाँ दाबी समेत गरेका छन् । उजुरीपछि विभागले मेनपावरमार्फत ७१ लाख ३८ हजार २ सय रकम बिगो भराएको छ । व्यक्तिगततर्फ भने सोही समयमा तीन करोड ८० लाख ४१ हजार बिगो दाबी गर्दै युवाहरुले विभागसमक्ष उजुरी दिएका छन् । विभागले युवाहरुलाई ठगी गरेको भन्दै २४ वटा मुद्दा अदालतमा दायर समेत गरेको छ ।

मुलुकमा पर्याप्त रोजगारी नहुदाँ युवाहरु युरोपदेखि लिएर अफ्रिकासम्म जाने गरेका छन् । यसरी विभिन्न मुलुकमा राम्रो रोजगारीको प्रलोभनमा परी युवाहरुलाई मेनपावर तथा व्यक्तिहरुले ठगी गर्दा समेत सरकार तथा सम्बन्धित निकायले कुनै ठोस कदम चाल्न सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया