Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्वमा सबैभन्दा बढी योगदान भन्सार महशुलको

राजस्वमा सबैभन्दा बढी योगदान भन्सार महशुलको


काठमाडौं । राजस्व संकलनमा सबैभन्दा बढी योगदान भन्सार महशुल रहेको छ । भन्सार महशुलपश्चात् मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, निकायको मुनाफामा लाग्ने कर, पब्लिक लिमिटेड र निकायको मुनाफामा लाग्ने कर, प्राइभेट लिमिटेड गरी पाँचवटा शीर्षक रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ती पाँचमध्ये भन्सार महशुल र मूल्यअभिवृद्धि करअन्तर्गत भने आयात राजस्वले मुलुकको अर्थतन्त्रमा बढी योगदान दिने गरेको छ । शीर्षकगत रुपमा सबैभन्दा बढी राजस्व संकलन भएका ती पाँच राजस्व शीर्षकहरुको रकम मात्र कुल राजस्व संकलनको ४० प्रतिशतभन्दा बढी हुने गरेको छ । गत आर्थिक वर्षमा ती पाँच शीर्षकमा राजस्व संकलन झण्डै ४९.१० प्रतिशत छ ।

गत आर्थिक वर्षमा राजस्व संकलनमा भन्सार महशुल आयात र मूल्यअभिवृद्धि कर आयात क्रमशः पहिलो र दोस्रो स्थानमा बसेको थियो । गत आर्थिक वर्षमा भन्सार महशुल आयात शीर्षकमा एक खर्ब ९८ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ, मूल्यअभिवृद्धि कर आयात शीर्षकमा एक खर्ब ८७ अर्ब ३१ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो । यस्तै अन्तःशुल्क आयात शीर्षकमा पाँच दशमलव १४ प्रतिशत अर्थात् ५७ अर्ब ३० करोड १४ लाख रुपैयाँ, निकायको मुनाफामा लाग्ने कर, पब्लिक लिमिटेड शीर्षकमा पाँच प्रतिशत अर्थात् ५५ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ र निकायको मुनाफामा लाग्ने कर, प्राइभेट लिमिटेड शीर्षकमा चार दशमलव ३० प्रतिशत अर्थात् ४७ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैबीच गत आर्थिक वर्षमा यी पाँचवटा शीर्षकमार्फत ४९ दशमलव १० प्रतिशत अर्थात् पाँच खर्ब ४६ अर्ब ८५ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

यस्तै, आन्तरिक राजस्व विभागले पनि पछिल्लो तीन आर्थिक वर्षमा राजस्व संकलनको अवस्था हेर्दा मूल्यअभिवृद्धि करभन्दा आयात राजस्व संकलन निरन्तर बढी रहेको जनाएको छ । विभागका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा आयात राजस्व संकलन र मूल्यअभिवृद्धि करको अवस्था क्रमशः आर्थिक वर्ष २०७८/०७९ मा एक खर्ब ९८ अर्ब र एक खर्ब १५ अर्ब, आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ७० अर्ब र एक खर्ब १६ अर्ब र आर्थिक वर्ष २०७६/०७७ मा एक खर्ब २९ अर्ब र ९८ अर्ब रहेको छ ।

पछिल्ला वर्षहरुमा आयात भन्सार संकलन र विप्रेषणले मुलुक सञ्चालनमा महत्वपूर्ण योगदान पु-याएको पाइन्छ । जसले गर्दा मन्त्री, कर्मचारी, विज्ञ तथा जानकारहरुले नै आयात भन्सार र विप्रेषणले मुलुक सञ्चालन गर्दा भविष्यमा संकट आउने चेतावनी दिएको पाइन्छ । अर्थमन्त्री जनार्दन शर्माले देश आयात र विप्रेषणले धानेको सार्वजनिक रुपमा बताउँदै आएका छन् । उनले चितवन पुगेर देश चलाउनका लागि भन्सारको राजस्वमा भर पर्नु नहुने बताउँदै आन्तरिक उत्पादनलाई महत्व दिनुपर्ने बताएका थिए । ‘मुलुक चलाउनको लागि भन्सारको राजस्वमा भर नपरी आन्तरिक उत्पादनको राजस्वले मुलुक चलाउनुपर्छ, त्यसका लागि मुलुकमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनले बताएका थिए । उत्पादनमुखी अर्थतन्त्रले मुलुक आत्मनिर्भर बन्ने मन्त्री शर्माको भनाइ थियो ।

यसैबीच सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भन्सार महशुल ७५ अर्ब ५५ करोड रुपैयाँ र मूल्यअभिवृद्धि कर ८६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा क्रमशः ४३ अर्ब ८९ करोड र ६६ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रथम त्रैमासमा कुल राजस्व संकलन लक्ष्य दुई खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा दुई खर्ब आठ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । मूल्यअभिवृद्धि करको दायरा फराकिलो अर्थात् विभिन्न शीर्षकमा हुँदा राजस्व संकलन ठूलो परिमाणमा हुने गरेको पाइन्छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि आयात राजस्वमा भरपर्दा विदेशी मुद्रा भने ठूलो परिमाणमा बाहिरिन पुग्छ ।

नेपालको अर्थतन्त्रको चुनौतीको रुपमा आयात रहेको पाइन्छ भने यसका साथै तरलता अभाव, उत्पादनमा कमी, औद्योगीकरणमा कमी, न्यून निर्यातलगायतका समस्या रहेको पाउन सक्छौँ । आन्तरिक उत्पादन र मुलुकमा औद्योगीकरणको विकास नहुँदा आयात राजस्व संकलनमा सरकार निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको पाइन्छ ।

यस्तै अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेट भाषणको क्रममा आयातमा निर्भर रहेको राजस्व संरचनालाई परिवर्तन गरी क्रमशः आन्तरिक राजस्वको हिस्सा बढाउने र राजस्वको दायरा विस्तार गर्ने नीति लिएको बताएका थिए । बढ्दो सार्वजनिक खर्चको आवश्यकता धान्न सक्ने गरी दिगो, भरपर्दो र व्यवस्थित कर प्रणालीको विकास गर्न उद्देश्यमा रही राजस्व परिचालन गरिने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया