Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशभविष्य निर्माण महिला सहकारीद्वारा एक करोड २७ लाख असुरक्षित ऋण लगानी

भविष्य निर्माण महिला सहकारीद्वारा एक करोड २७ लाख असुरक्षित ऋण लगानी


दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको भविष्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्थाले एक करोड २७ लाख रुपैयाँ असुरक्षित ऋण लगानी गरेको पाइएको छ । बैतेश्वर गाउँपालिकाले गठन गरेको छानबिन समितिले संस्थाले एक करोड २६ लाख ९७ हजार पाँच सय ४७ रुपैयाँ असुरक्षित ऋण लगानी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सहकारीमा सञ्चालक र कर्मचारीको मिलेमतोमा प्रक्रिया नपु-याई विनाधितो ऋण लगानी भएको गुनासो आएपछि गाउँपालिकाले समिति गठन गरी छानबिन सुरु गरेको थियो । उक्त समितिले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा संस्थाले कुल तीन करोड ९५ लाख ३१ हजार चार सय ३५ रुपैयाँ ऋण लगानी गरेकोमा एक करोड २६ लाख ९७ हजार पाँच सय ४७ रुपैयाँ भने असुरक्षित ऋण लगानी गरेको उल्लेख छ । त्यस्तै ९० लाख २९ हजार रुपैयाँ ऋण लगानी उच्च जोखिममा रहेको समितिको ठहर छ । त्यसैगरी पुस मसान्तसम्मको बाह्य ऋण लगानीमा समेत फरक देखिएको प्रतिवेदनमा उल्लेख छ । पुस मसान्तसम्म संस्थाको सफ्टवेयरमा ३१ लाख ७७ हजार एक सय ५२ रुपैयाँ बाह्य ऋण लगानी रहेको देखिएको छ भने नेफ्सकुन स्टेटमेन्टमा ३२ लाख ५० हजार रुपैयाँ देखिएको छ । सफ्टवेयर र स्टेटमेन्टमा ७२ हजार आठ सय ४८ रुपैयाँ फरक देखिएको हो । त्यस्तै समितिले भविष्य निर्माण महिला सहकारी संस्थाका सकारात्मक पक्ष तीनवटा मात्रै देखेको छ भने ३० वटा समस्या रहेको उल्लेख गरेको छ ।

समितिले सहकारीका समस्याहरूमा प्रक्रियाहरू पूरा नगरी ऋण लगानी गरेको, दक्ष जनशक्तिको अभाव, सदस्यहरूले इच्छाएको चाहेको समयमा बचत फिर्ता दिन नसकेको, विनियम निति तथा सहकारी मापदण्डअनुसार सहकारी सञ्चालन नभएको, सञ्चालक समितिहरूको निर्णयमा मतभेद रहेको, आवश्यकताको आधारमा नभई व्यक्तिगत हितमा ऋण लगानी गर्ने प्रवृत्ति हाबी भएको, छाता संगठनहरूका सुझावहरू पूर्णरूपमा कार्यान्वयन गर्न नसकेको, प्रविधिमैत्री संस्थाको विकास नभएको, लेखासुपरीवेक्षण समितिले आफ्नो जिम्मेवारी पूरा नगरेको, ऋण असुलीको जोखिम उच्च रहेकोे, सञ्चालक पदाधिकारीको नाममा ठूला ऋण बढी देखिएको लगायतका ३० वटा समस्या प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी संस्थामा आबद्ध सेयर सदस्यले उठाएका ११ वटा प्रश्न तथा आरोपमा छानबिन गर्दा धेरैजसो प्रश्न र आरोप सही भएको समितिले जनाएको छ । संस्थाका पदाधिकारी र कर्मचारी मिलेर सेयर सदस्यको किर्ते हस्ताक्षर गरि आफ्ना आफन्तको नाममा विनाधितो, विनाप्रक्रिया केही ऋण लगानी भएको समितिले ठहर गरेको छ । यस्तै संस्थाको कारोबारमा प्रश्न उठेपछि बचतकर्ता बचत फिर्ता र निकाल्न खोज्दा नदिएको पनि यथार्थ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष छवि लामाको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति बनेको थियो । समितिका सदस्यहरूमा वडा नम्बर–५ का वडा अध्यक्ष भुवन घिमिरे, बैतेश्वर गाउँपालिका प्रशासन प्रमुख रबिन्द्र चौलागाईं, सहकारी अभियान्ता मुक्ति प्रसाद दहाल, दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष तेन्जिङ शेर्पा, नेफस्कुनका फिल्ड अधिकृत पवन घिमिरे, जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्ति र बैतेश्वर गाउँपालिका न्यायिक सहजकर्ता नविन कुमार खतिवडा रहेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश

तपाईको प्रतिक्रिया