काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२/०८३ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न एक सय ४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू संचालन गरेको छ ।
बैंकको कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरूमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्नसमेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ । आफ्ना शाखा कार्र्यालयहरूमार्फत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्रलगायत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्र्तगत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका वडा नं. ०४ मा अवस्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका एक सय ९६ गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई विद्यालय पोशाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर’ २०२४/२०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट २० लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।