प्रस्तुत आलेखको शीर्षक ‘गिरिजा, प्रचण्ड र रवि’ राख्नुको उद्देश्य हो खास गरेर विसं. २०५१को मध्यावधि यताको राजनीतिक इतिहासलाई तीनवटा कालखण्डमा अध्याय छुट्याएर अध्ययन गर्नु । ताकि हातहातका मोबाइलले नवजागरण उपलब्ध भएका तर आर्थिक अभावलगायत विभिन्न कारणले हाइस्कुलसम्म या त्यसभन्दा अगाडिको औपचारिक शिक्षा पाउन बञ्चित बहुमत जनसङ्ख्या (वर्ग)ले पनि आफ्नो तथ्य इतिहास जानकारी भएर परिणामको आँकलन गर्न सकून् । अगाडिको बाटो देख्न सहज होस् ।
पृष्ठभूमि
पृष्ठभूमिमा परचक्री (नेहरू डक्ट्रिन)ले नेपाललाई सिध्याउने षडयन्त्र त हत लादिएका अनगिन्ती लुकाइएका अध्यायहरू यस्ता स्तम्भमा वर्णन सम्भव हुन्न । संक्षिप्तमा प्रतिक उदाहरणका लागि आम सामयिक नवजागरणले सहजै बुझ्ने गरी अलिकति तथ्य पाठ्यक्रममा ल्याउँछु ।दुइटा वक्तव्य बयानबाट विषयमा प्रवेश गरौँ । ०७ सालको परिवर्तनका विषयमा श्री ५ त्रिभुवनले भनेका थिए – ‘राणाको जेलबाट नेहरू (स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री)को जेलमा आइपुगेको छु ।’ जननायक बीपी कोइरालाले भनेका थिए– ‘सन ५०को सन्धि गर्दा हामीलाई थाहै दिइएन ।’ यी दुई बयानपछि धेरै व्याख्यामा जानै परेन । ०७ साल फागुन ७ गतेलाई ‘प्रजातन्त्र दिवस’को जुन भाष्य व्याख्यामा फैलाइयो त्यो पूर्ण रूपमा परचक्री प्रायोजित थियो । तथ्यमा ७ फागुन ‘प्रजातन्त्र दिवस’ नभएर सम्पूर्ण रूपमा ‘भारततन्त्र दिवस’ थियो ।
त्यसको अकाट्य प्रमाण विसं. २००८ सालदेखि ०२७ सालसम्म पूरै १९ वर्ष नेपालका चीन सीमा क्षेत्रका १८ ठाउँमा भारतीय सैनिक क्याम्प गाड्नु । यो भनेको नेपालको सार्वभौमिकता पूर्ण रूपमा भारतको बन्धकमा पर्नु थियो । यो कालखण्डमा प्रधानमन्त्री भएका टंकप्रसाद आचार्य, केआई सिंह, विश्वेश्वरप्रसाद कोइराला (प्रथम जननिर्वाचित प्रधानमन्त्री) सूर्यबहादुर थापा कसैले पनि किन कति कारणले सार्वभौमिकता बन्धक परेको भारतीय सैनिक क्याम्प उखेल्न सकेनन् ? यो प्रश्नको उत्तर प्रष्ट छ । यो कालखण्डका जति पनि दलीय नेतृत्व, प्रा.डा. समाज, पत्रकार जगत, वकिल समुदाय, विद्यार्थी सङ्गठन आदि इत्यादि सबैले नेपालको राजनीतिक परिवर्तनलाई ‘प्रजातन्त्र’ भनेको नै ‘भारततन्त्र’ हो भन्ने बुझे बुझाइए । बीपीले अन्तिम सास फेर्दा (टाउको लत्रिदा) वकिल गणेशराज शर्मा (बीपीका साढुभाइ) उपस्थित थिए । अलिकति खोज्दा बीपीको अन्तिम वाक्य भेटिन्छ । ‘अब जे गर्छ भारतले गर्छ’ बीपीको अन्तिम वाक्य हो ।
गिरिजाप्रसाद कोइराला
बीपीको अन्तिम वाक्य ‘अब जे गर्छ भारतले गर्छ’ अनुसार यसरी काम सुरु हुन्छ । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि उनको छोरा राजीव गान्धी प्रधानमन्त्री हुन्छन् । त्यस अघि राजीव गान्धी हवाइजहाज पाइलट थिए । पाइलटको चौडा छातीमा आकर्षित भएर भारत आइपुगेकी इटालीकी क्रिस्चियन आइटम गर्ल सोनिया गान्धी एकाएक भारतकी प्रथम महिला हुन पुगिन् । राजीव गान्धी प्रधानमन्त्री भएर सबैभन्दा पहिलो काशी विश्वनाथ दर्शन गर्न जाँदा क्रिस्चियन भएका नाताले सोनिया गान्धीले मन्दिर छिर्न पाइनन् । नेपालको पशुपतिनाथ मन्दिरभित्र प्रवेश पाउने हो भने सर्वत्र ढोका खुल्छ भन्ने कसैले सुनाइदियो । अनौपचारिक रूपमा प्रधानमन्त्रीलाई लिएर नेपाल आइन् ।
‘मन्दिर प्रवेशको आदेश गर्न’ राजा विरेन्द्र समक्ष अनुरोध गरिन् । ‘पशुपतिनाथमा मेरो खटन चल्दैन’ राजाको जवाफबाट आक्रोशित भारत फर्केर १८ महिनाको नाकाबन्दी थोपरियो । त्यसै बखत हो ‘मरिचमानले हवाइजहाजमा पेट्रोल ल्याएर आपुर्ति धान्ने’ जोक चलेको । भारतको सत्तारुढ, प्रमुख प्रतिपक्षिदल, पूर्व प्रधानमन्त्री लगायत १२ राष्ट्रिय दलका केन्द्रीय नेतृत्वहरू गणेशमान निवास चाक्सीबारीलाई दुई दिनसम्म भारतको सत्ताराजधानी बनाएर राजालाई हदैसम्म तर्साइयो । सुरक्षा र विदेशनीति (भुटान) भारतको जिम्मा दिए बहुदल रोकिदिने राजासमक्ष प्रस्ताव पनि राखियो । तर राजा वीरेन्द्रले नेपाली जनतामाथि भर गरेर बहुदल नै घोषणा गरिदिए । अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले बडो सुझबुझ र होसियारीपूर्वक ०४७को संविधान ल्याउनुभयो ।
चुनाव भयो, कांग्रेसले प्रष्ट बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । नेपाल सरकारलाई थाहै नदिई नेपालको भूमि टनकपुरमा भारतले खर्बौँ लगानी गरिसकेको थियो । त्यसमा गिरिजाप्रसाद कोइरालाबाट ल्याप्चे लगाउन खोज्दा सर्वोच्चले दुईतिहाइ चाहिन्छ भन्दियो । दुईतिहाइ ल्याउन गणेशमान सिंह, मदन भण्डारी बाधक भए । मदन भण्डारीको हत्या गरियो । गणेशमानलाई कांग्रेसबाट लखेटियो । ‘दुईतिहाइ बहुमत ल्याएर टनकपुर पास गर्छु’ भन्दै बहुमतको एकलौटी सरकार लत्याएर गिरिजाप्रसाद कोइराला मध्यावधिमा गए । नराम्रोसँग पछारिए । कांग्रेसभन्दा एमाले संसद्मा ठूलो पार्टी भयो ।
पूर्वपञ्चहरूको पार्टी राप्रपा निर्णायक पार्टी बन्यो । कांग्रेस, राप्रपा मधेशी दलको सरकारलाई प्रमुख प्रतिपक्षी एमालेले साथ दिएर दुईतिहाइ बहुमतले ‘महाकाली सन्धि’ पास भयो । लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्साभित्र पुग्यो । हेटौँडा निर्मित भुक्के चप्पल लगाएर राजधानी आइपुगेका कांग्रेस, एमाले, राप्रपाका ६०० बढी केन्द्रीय नेतृत्वका बुढानीलकण्ठमा जलेको देउवा दरबार शैलीका महल खडा भए । भारतसँग लेनदेनको हिसाब किताब मिलाउने विचौलियाको भूमिकामा रहेका कांग्रेस एमालेका नेताको चार चारवटा महल खडा गरेका स्वयं यो पक्तिंकारले पनि देखेको हो । भरत दाहाल (त्रिमूल पार्टीका अध्यक्ष)ले भने यसमा गहिरो अध्ययन (खोज) गरेर पाठ्यक्रम उपलब्ध गराइदिएका छन् । ‘महाकाली सन्धि’ पछि गिरिजाप्रसादको अध्याय पनि समाप्त भयो ।
पुष्पकमल दाहाल (प्रचण्ड)
‘महाकाली सन्धि’बाट लिपुलेक लिपियाधुरा कालापानी भारतको नक्साभित्र पुगे पनि राजसंस्था रहँदासम्म भोगचलनमा उसलाई ठूलो अवरोध अवगाल हुने देखियो । त्यसका लागि प्रचण्ड ‘रिक्रुट’ खडा गरिएका भने पछि बाँकी कुरा गिरिजा पछिको कडी प्रभावित भइहाल्यो । त्यसमा भारतका दिवङ्गत राष्ट्रपति (वीरेन्द्र वंशविनाश समयका परराष्ट्रमन्त्री) प्रवण मुखर्जीले नै आफ्नो अनुभव वृत्तान्त पुस्तकमा ‘नेपालमा गणतन्त्र हामीले ल्याएका’ पाठ्यक्रम अभिलेख गरिदिएका पछि १७ हजार भन्दा बढी नेपाल आमाका सपुतहरूको १० वर्षे माओवादी हिंसात्मक रगतपच्छे दुर्भाग्यमा आहुति र बलिदानको सबै तथ्य पुष्टी भइहाल्छ । जब प्रचण्डले १७ हजार बढीको चिहानमा उभिएर गिरिजाप्रसाद कोइरालाको हातबाट टीका थापेर सांसद प्रधानमन्त्री भए त प्राण गएको मानिस लास भएजस्तै विचार हराएको नेता लास भएर, कुहेर, गन्हाएर, रोग फैलाउने चरणमा पुगेर देश जनता प्रणालीका लागि कोरोना भन्दा खतरनाक क्यान्सरमा रूपान्तरण भए । प्रचण्डको आजको मितिको चिनारी भनेको विगत १२ वर्षदेखि अस्पतालको लासगृहमा सडिरहेको अनसनकारी नन्दप्रसाद अधिकारीसँग मात्र तुलनीय छ । नन्दप्रसाद अधिकारीको लाससँग के अपेक्षा राखेर राजनीतिक विश्लेषक कहलिएका प्राडाहरू प्रचण्डको नामलाई उछालीरहेका भेटिन्छन्, जेनजी पुस्ता र त्यसपछि आइसकेका जेन अल्फा पुस्ताले नाङ्गै सबै देखिसकेका छन् । प्राडाहरू होसियार !
रवि लामिछाने
अहिले रवि लामिछाने २१ फागुन ०८२को चुनावबाट झण्डै दुईतिहाइ बहुमतको बालेन सरकार हाँकीरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशन (असार ०८३)बाट सर्वसम्मत चयन अध्यक्ष हुन् । इतिहासमा यस्तो सत्ता प्रथम प्रधानमन्त्री बीपी कोइरालालाई मात्र प्राप्त भएको थियो । ‘रवि लामिछाने आजका बीपी कोइराला’ बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको वक्तव्य छ । यति चिनारी पछि ‘आजको बीपी हुन हिजोको बीपी भएर मात्र पुग्दैन’ भन्नु बाहेक थप चिनारी आवश्यक परेन ।
कांग्रेस, एमाले, राप्रपा, मधेशवादी दल (महन्त ठाकुर÷उपेन्द्र यादव)हरू आदि इत्यादिको बलिया पाखुरी जनसङ्ख्यालाई वैदेशिक कामदारमा धकेलेर रेमिट्यान्समा मोजमस्ती गर्ने प्रतिरोधी क्षमताविहिन जनतामाथि लुटतन्त्र मच्चाउने राजनीतिको शिकार भएर अमेरिका पुगेका रवि लामिछाने अवतार शैलीमा नेपाल फर्केर आजको ठाउँमा कसरी आइपुगे ? पाठ्यक्रम रोचक र भोली आउने पुस्ताले नछुटाइ पाठ सिक्नु पर्ने खालको छ । कालक्रममा सिद्धिए जोगिए दुवै हालतमा पाठ्यक्रम अनिवार्य विषय भइसकेको छ ।
मैले रवि लामिछानेलाई अमेरिकाबाट अवतार शैलीमा नेपाल फर्किएका किन भनेको भने पत्रकारितामा प्रवेश गर्नु अघि उनले सबैभन्दा लामो समयसम्म बोलिरहन सक्ने आइटम प्रदर्शनमा गिनिज बुकमा नाम दर्ता गराएका थिए । त्यस आइटम प्रदर्शनको चिनारीले म लगायत आम सबैको ध्यान उनीतर्फ आकर्षित भएको थियो । धरानका हर्क साम्पाङ, काठमाडौंका बालेन शाह, धनगढीका गोपी हमालको स्वतन्त्र मेयर उम्मेदवारी विजयबाट पाठ सिकेर पत्रकारिता छोडेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा राजनीतिमा हाम फाले ।
प्रचण्डले आफ्नो चुनाव क्षेत्र चितवनमा छोरी रेणु दाहाललाई भरतपुर नगरप्रमुखमा चुनाव जिताउन मतपत्र च्यात्ने गुण्डागर्दी गरेबाट आम मतदाता दाँत किटकिटाएर खरानीको थुप्रोको भुङ्ग्रो भइरहेका थिए । चितवनका जनताले दुईपटक चुनाव जिताएर दुईपटक गृहमन्त्री बन्दा लादिएको संघीयता जानका लागि ‘निमित्त नायक’ बनेका थिए । तेस्रो पटक चुनाव जित्दा त ‘नियति नायक’ हुन पुगे । ‘निमित्त नायक’ भनेको पञ्चायत जानका लागि नानीमैँया दाहाल जस्तै उदय हुनु हो । ‘नियति नायक’ भनेको समयले खोजेको मागअनुसार भूमिका पाउनु हो । यति खेरको समयले खोजेको मुख्य माग भनेको ६ खर्बको लगानीबाट खडा भएको संविधान सभाबाट लादिएको संघीयतालाई धान्न वार्षिक एक खर्ब नेपाल सिध्याउने मिसनका विदेशी दलाल, तस्कर, माफिया, विचौलियाका कामदार भरिया बनेका दलहरूका झोले कार्यकर्ता पाल्नु पर्ने । ३० खर्ब वैदेशिक ऋण नाघीसक्यो । उत्पादन ७ प्रतिशत नाघेको छैन । ८३ प्रतिशत बिहान बेलुका गुजारा गर्न आयातमा निर्भर भनेपछि यस्तो सार्वभौमिकतालाई आजको विश्वमा मान्यता दिन मिल्दैन ।
अन्त्यमा
रास्वपाको चितवन महाधिवेशनले ‘प्रदेश खारेजी’को प्रस्ताव पास गरेको एकदम आवश्यक अपरिहार्य पाइला हो । जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्वको अराजकता मच्चाएर नेपाललाई पङ्गु (सार्वभौमिकता च्यूत) बनाउने रणनीतिक तहत ०७२को संविधान लादिएकोको चौतर्फी पुष्टी र प्रमाणित भइसकेको छ । पार्टीको यस ऐतिहासिक निर्णयको नायकत्व गर्ने जिम्मेवारी पाएका रवि लामिछानेले कार्यन्वयनमा जान अलमलको जिब्रो फट्कार्न या कुरो चपाउन थाले भने पुनः निमित्त नायक (नानीमैँया दाहाल)मा (पुनः मुसिको भव) रूपान्तरण हुने पक्का छ । लेखेर राख्नु होस् । अस्तु ।