काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारी सिर्जना र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्रालयले बिहीबार आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग गरेको छलफलमा उनले सीपयुक्त जनशक्ति निर्माण गरी आवश्यक रोजगारी सिर्जना गर्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए । साथै उनले आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम र प्रशिक्षार्थी कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरे । आगामी दशकलाई सरकारले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेकोले मन्त्रालयले सोहीअनुरूप श्रम व्यवस्थापनका सम्बन्धमा नयाँ नीति र सोचसहित कार्य गरिराखेको उनले बताए । मन्त्रालयले आगामी आवमा १२ वटाभन्दा बढी प्रमुख आन्तरिक रोजगारी कार्यक्रम सञ्चालन गर्न कार्यस्थलमा आधारित प्रशिक्षार्थी तालिम दिने योजना अघि सारेको छ । हाल सञ्चालित ‘श्रम संसार’ अनलाइन पोर्टललाई व्यवस्थित गरिने जानकारी दिइएको छ ।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले निजी क्षेत्रलाई केबल ‘साक्षी’का रूपमा मात्रै हेरिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले तालिम मागमा आधारित हुनुपर्ने र पाठ्यक्रम निर्धारणदेखि प्रमाणीकरणसम्म निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिए । नेपालमा श्रम गरिरहेका युवाको ठूलो हिस्साले विदेशिने आकाक्षा बोकेकाले त्यसलाई सम्बोधन हुनेगरी युवालाई देशमा आकर्षित रोजगारी सिर्जना गरी सहज व्यवस्थापन गर्नेबारे छलफल गरिएको थियो ।