काठमाडौं । आफ्नी श्रीमतीलाई सार्वजनिक बिदाको दिन सरकारी गाडी चढाउँदा अवरोध भएकामा विरोधस्वरूप सिंहदरबार जलाइदिन्छु भनेर फेसबुकमा स्टाटस लेखेर देश नै जलाउने योजना बनाएर सफल भएका भनिएका वालेन्द्र शाह (बालेन)ले आत्मदाहभन्दा सडक जाम ठीक होइन भन्ने पुष्टि गर्न अपराधको साहारा लिएको संकेत मिलेको छ ।
गत चैत १३ गते बालेनको नेतृत्वमा सरकार गठन भएपछि पहिलो सिकार नै सञ्चार माध्यमलाई बनाए । जुन काम अहिले पनि विभिन्न रूपमा गरिरहेका छन् । संसद्मा देखाएको व्यवहारले पुष्टि गर्दै गएको छ, बालेन प्रजातान्त्रिक संस्कार भएका होइनन् । उनी निरङ्कुश शासनका पक्षधर हुन् । उनी लोकतान्त्रिक संरचनाहरूलाई ध्वस्त बनाउन चाहन्छन् । उनी संसद्लाई पनि पङ्गु बनाउन चाहन्छन् । किनकि उनी यस्ता लोकतान्त्रिक संरचना मन नै पराउँदैनन् ।
निरङ्कुश शासकहरू सञ्चार माध्यमबाट धेरै नै त्रसित हुन्छन् । उनीहरूको चाहना नै सञ्चार माध्यमलाई बन्द गराउने हुन्छ । सञ्चार माध्यम बन्द भएपछि आफ्ना निरङ्कुश शासनको सुरुवातमा कसैले पनि विरोध गर्न पाउँदैन । बालेन त्यही गर्न चाहन्छन् । त्यसैले बालेनले पहिला मिडिया निमोठ्न चाहेका हुन् । सिधै मिडियाहरू बन्द गरिदिँदा त्यसको अन्तर्राष्ट्रिय रूपमा विरोध हुने भएपछि उनले मिडियाको आयस्रोत बन्द गराउने योजना बनाए । उनी मिडियालाई विज्ञापन रोकेर आफैँ बन्दको घोषणा गराउन चाहन्छन् । आम्दानी नभएपछि मिडियाहरूले आफैँ बन्दको घोषणा गरे भने आफूमाथि अन्तर्राष्ट्रिय दबाब नपर्ने विश्लेषण बालेनको छ । त्यही भएर उनी यो वा त्यो नाममा मिडियामा आक्रमण गर्ने वा मिडियाका मालिकहरूलाई विभाजित गर्ने प्रयासमा निरन्तर छन् । मिडियालाई कमजोर बनाउन बालेनको योजनाअनुसार मिडियाहरूलाई संगठित हुन मात्र रोकेका छैनन्, मिडियाका संगठनबाट केही मिडियालाई अलग्याउन उनी सफल भने भएका छन् ।
मिडियाले आफ्ना काला कर्तुत लेख्छन् र प्रशारण गर्छन् भन्ने त्रासले बालेन सरकारले चैत १८ गते सूचनाको नाममा उर्दी जारी गरेर सरकारी विज्ञापनहरू निजी सञ्चार माध्यममा नदिने घोषणा ग¥यो । त्यसको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज मंगलबार ३० गते फैसला सुनाउँदै छ । त्यही फैसला सुनाउने अघिल्लो दिन बालेनले आफ्ना मान्छे लगाएर सञ्चार माध्यम, दलका नेता तथा व्यावसायिक प्रतिष्ठान (भाटभटेनी)मा आवतजावत नै बन्द गरेर गाडी पार्किङ गर्न लगाए । सरकारमा बसेकाहरूले यसरी गैरकानुनी काम गर्नु ठूलो अपराध हो । तर, यहाँ यस्तो अपराधलाई बालेनको संरक्षणमा स्वतन्त्र छाडिन्छ । बालेको एकमात्र उद्देश्य देखिन्छ, ‘पार्किङ व्यवस्थित भएन भने कसरी अस्तव्यस्त हुन्छ भन्ने ।’ यसको अर्थ जो–कोहीले काम गरी खान नपाएर मृत्युवरण गरे पनि गरोस् तर समाजमा शान्ति चाहिन्छ भन्ने हो ।
अहिले बालेन प्रधानमन्त्री छन् भने चीनविरोधी तिब्बतका निर्वासित धार्मिक नेता दलाइ लामाको जन्मदिन मनाउन सहमति दिने सुधन गुरुङ गृहमन्त्री छन् । यदि गुरुङ एक चीन नीतिप्रति प्रतिबद्ध थिए भने दलाइ लामाको जन्मदिन यसरी विदेशी कूटनीतिज्ञ सहभागी गराएर कसैले पनि गर्न सक्ने थिएन । यी घटनाले त्यसको पुष्टि गरेको छ । त्यही भएर मिडियाको अगाडि गाडी पार्किङ गरेर फरार हुनेहरूलाई उनीहरूले कारबाही गर्ने छैनन् ।
नेपालका अधिकांश मिडियाहरूले सुकुमबासीहरूलाई वैकल्पिक व्यवस्था नगरी एक्कासि उठाउने बालेन सरकारको काम, गरी खान पर्ने वर्गलाई विकल्प नदिएको र काम गरिरहेकाहरूलाई सामान्य गल्तीमा पनि ढाड नै भाँच्ने गरी जरिबाना लगाउने कार्य मानवताविरोधी काम भएको भनेर आवाज उठाएका छन् । मिडियालाई तर्साएर विज्ञापन रोकेका बालेनको कदमविरुद्ध सर्वोच्चमा मुद्दा परेर अन्तिम भएको बेला फेरि गेटमा लगेर गाडी राख्न लगाउनु मिडिया तर्साउनु हो । बालेनको संरक्षणमा सोमबार सारा मिडियालाई तर्साउने काम मात्र भएको छैन गरीखाने वर्गको पक्षमा वकालत गर्ने राजनीतिक दल तथा तिनका नेता, व्यावसायिक प्रतिष्ठानहरूलाई पनि आफ्नो सरकारको अनुकूल सहयोग नगरेमा अवरोध गर्छु भन्ने हो ।
मिडियाको गेटमा गरेको रोकावटविरुद्ध कांग्रेस, एमाले र नेकपा मात्र होइन बालेन नै नेता भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निष्पक्ष छानबिनको माग गरेको छ । यो माग केवल माग मात्र हो । यसलाई पूरा हुन न त गृहमन्त्री सुधन गुरुङले दिन्छन् न त बालेनले नै ! यही २५ गते पठाओ चालक गणेश नेपालीले त्रिपुरेश्वरमा सडकमा भएको सरकारी ज्यादतीविरुद्ध आवाज उठाएर आत्मदाह गरेपछि सरकारी कारबाही ठीक थियो र आत्मदाह गर्ने बेठीक भनेर बालेन निकटहरूले प्रचार अभियान थालेका छन् । तर, नेपाली मिडियाले जनताको आवाजलाई स्थान दिएको छ । त्यही भएर बालेन निकटकाहरूले सोमबार अनलाइन खबर, कान्तिपुर, हिमालयन टेलिभिजन, अनामनगरको भाटभटेनी, कांग्रेसका सभापति गगन थापाको निवासलगायतका ठाउँमा लगेर गाडी पार्किङ गरेर चालक हराएका छन् । गाडी पहिचान भएपछि त्यसको मालिक सजिलै पहिचान हुन्छ । सोमबार रातिसम्मको पहिचानअनुसार सबैजसो बालेन निकटका छन् । कान्तिपुरअगाडि गाडी पार्किङ गरेर भाग्दै गरेका युवाले त बालेनको सिको गरेर सेतो जुत्ता लगाएको बताइएको छ । गाडी समातेर ल्याएर उपत्यका ट्राफिक कार्यालयले सम्बन्धित व्यक्तिलाई बोलाएर बुझाउने काम गर्दैछ । किनकि यस्तो तर्साउने काम सरकारको संरक्षणमा भएको हो । यसरी मिडिया, नेता तथा व्यवसायीहरूलाई तर्साउँदा अब सफल हुन्छु भन्ने सपना बालेनले नदेख्दा नै राम्रो छ । उनी लोकतान्त्रिक होइनन् र निरङ्कुशताको अभ्यास गरिरहेका छन् भन्ने आम नागरिकलाई थाहा भइसकेको छ । निरङ्कुशताविरुद्ध दशकौँ लडेकाहरू अब फेरि अर्को निरङ्कुशताको पक्षमा जाने छैनन् । किनकि युवा होस् वा वृद्ध सबैलाई स्तन्त्रतासहितको शुसाशन चाहिएको छ ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर भएको बेला उनकी श्रीमती सविना काफ्ले सुत्केरी भएकी बेला शनिबार सार्वजनिक बिदाको दिन अस्पताल जान÷आउन महानगरको गाडी प्रयोग गरेकी थिइन् । सार्वजनिक बिदाको दिन किन सरकारी गाडी चढेको भन्दा ट्राफिक प्रहरीले चेकजाँच गर्दा उनै बालेनले सिंहदबार जलाइदिन्छु भनेर फेसबुकमा स्टाटस लेखेका थिए ।
त्यसपछि गत भदौ २४ गते बालेनकै योजनाअनुसार सिंहदरबार मात्र जलाइएन सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालत पनि जलाइएको थियो । देशभर सरकारी, सार्वजनिक, व्यावसायिक र व्यक्तिगत घर, कारखाना, सवारीसाधन, प्रतिष्ठानमा आगो लगाएर खरानी बनाएको उक्त खरानी समूहले अहिले मानव मृत्युभन्दा सडकको जामलाई प्राथमिकता दिएको छ । भदौ २४ गतेको घटना छानबिन नगर्ने गौरीबहादुर कार्की आयोगको कामले पनि उक्त घटनामा बालेनको संलग्नता अस्वीकार गर्न सकिन्न । सत्ता वा गुण्डा लगाएर मिडियामाथि जति आतङ्क सिर्जना गर्न खोजे पनि बालेन यसमा सफल हुने छैनन् । सुकुमबासी र आत्मदाह प्रकरण मात्र होइन अन्य अराजकतालाई विषयान्तर गर्न मिडिया हाउसको गेटमा गाडी रोकेर अवरोध गर्न लगाउने बालेन सरकारको उक्त कार्य मिडियामाथि विज्ञापन रोकेपछिको अर्को अपराधको प्रयास हो । बालेनको यो अवराधलाई जनअनुमोदन मिल्ने छैन ।