काठमाडौं, वालेन्द्र शाह नेतृत्वको सरकारको अक्षमताका कारण नेपाल वायुसेवा निगममा धमिजा काण्डलाई पनि बिर्साउने गरी राष्ट्रघातको प्रयास भइरहेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको आँखैअगाडि निगममा राष्ट्र घातको प्रस्ताव अघि बढाउने प्रयास भइरहेको हो ।
मन्त्रालयअन्तर्गत रहेका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आफूले चलाउन नसकेको कारण देखाएर एक भारतीय व्यापारीलाई लिजमा लिने प्रस्ताव भित्रभित्रै अघि बढाइएको छ । त्यसैगरी नेपाल वायुसेवा निगममा रहेको दुईवटै वाइडबडी विमान र दुईवटै न्यारोबडी विमानलाई एकैसाथ ग्राउन्डेड गराएर चारवटै विमानको इन्जिन चेन्ज गर्ने अर्को प्रस्ताव अघि सारिएको छ ।
आठ करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर इन्जिन परिवर्तन गर्ने प्रस्ताव प्रदीपजंग राणाले अघि सारेका हुन् र त्यसलाई डोलेश्वर कोइराला जीवन कुमार भट्टराईलगायतको भित्री समर्थन रहेको बताइएको छ । उनीहरूले एउटा विदेशी कम्पनीसँग मिलेर पुरानो इन्जिन फेर्न लागेको र त्यसका लागि विदेशी कम्पनीको प्रतिनिधि नेपाल आएको बुझिएको छ ।