काठमाडौं, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजना तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुढानीलकण्ठमा हालै सम्पन्न सम्मेलनमा नेपालसहित विभिन्न देशका २२० जना सहभागी थिए । सम्मेलनमा एआई, कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसँग सम्बन्धित ३९ वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ । चार समानान्तर प्राविधिक सत्रमा अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा नाइजेरियाको युनिभर्सिटी अफ एग्रिकल्चरका प्रोफेसर डा. डेनियल ओलुवासेगुन एडम्स, लिथुआनियाका प्रोफेसर डा. अदिबायो अबायोमी–अल्ली, दक्षिण कोरियाका प्रोफेसर डा. क्युङ वाई. बे र अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका डा. सोजेन प्रधानले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारी, अन्तर्राष्ट्रिय प्रतिनिधि र विषयविज्ञहरूले नेपालमा एआई तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङको विकास र सम्भावनाबारे धारणा राखेका थिए । सम्मेलनका अनुसन्धान पत्रहरूको निचोड समेटिएको प्रकाशनसमेत सार्वजनिक गरिएको थियो । नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका विज्ञलाई एक घण्टा बराबरको निरन्तर व्यावसायिक विकास (सीपीडी) मूल्यांकनमा समावेश गरेको आयोजकले जनाएको छ । समापन समारोहमा सहआयोजक, प्रायोजक, सत्र अध्यक्ष तथा सहअध्यक्षलाई सम्मान गरिएको थियो । मुख्य वक्ता तथा अनुसन्धान पत्र प्रस्तुतकर्तालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।