काठमाडौं, नेपालका करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघ (डब्लूटीए)को सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।
गैह्रेको नियुक्ति पोल्यान्डको क्राकोमा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा भएको हो । संघको साधारणसभाबाट भएको यस नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ । विश्वका ५० भन्दा बढी देशका करदाता संगठनहरूलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जाल डब्लूटीएले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली, पारदर्शी सार्वजनिक खर्च तथा उत्तरदायी सरकारको अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ ।
गैह्रेको नियुक्तिलाई नेपालको करदाता अधिकारसम्बन्धी अभियान र अन्तर्राष्ट्रिय कर नीति संवादबीच सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष समेत हुन् । गैह्रेको नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने, कर प्रशासन सुधारसम्बन्धी विचार आदानप्रदान गर्ने तथा करदातामैत्री नीति निर्माणका लागि सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।