विराटनगर, जुट उद्योगमा देखिएका समस्या तत्काल समाधान गर्न सरोकारवालाहरुले सरकारसंग माग गरेका छन् । साउथ एसियन वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गरेको जुट उद्योगका समस्या, अवसर र चुनौती विषयक अन्तरक्रिया सहभागीहरुले उक्त माग गरेका हुन् ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग गम्भीर संकटमा परेको बताए । उनले उद्योगको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । कोशी प्रदेशका जुट उद्योगमा हजारौँ श्रमिकले रोजगारी पाइरहेको र नेपालको निर्यात व्यापारमा समेत यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । जुट सङ्घका अध्यक्ष राजकुमार गोल्छाले वर्तमान समस्या समयमै समाधान गर्न नसकिए नेपालमा सञ्चालनमा रहेका अधिकांश जुट उद्योग बन्द हुने अवस्थामा पुग्न बताए । उनले हालै भारतले बढाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको जानकारी दिए । उद्योगहरूले उत्पादन विविधीकरण र आधुनिक मेसिनरीमा लगानी गरिसकेको हुुँदा अहिलेको मुख्य आवश्यकता उद्योगलाई सफ्टबाट जोगाउनु रहेको रहेको उनको भनाइ छ ।
जुट विज्ञ डा. मोहन चन्द्र घिमिरेले जुट उद्योग श्रममा आधारित उद्योग भएकाले यसमा ठूलो सख्यामा श्रमिकहरू आश्रित रहेको बताए । यस क्षेत्रका समस्यालाई अन्य उद्योगको जस्तै सामान्य रूपमा नहेरी सरकारले विशेष प्राथमिकताका साथ माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी, जूट उद्योगी चम्पालाल राठीले भारत र बङ्गलादेशमा जुट उद्योगलाई सरकारले संरक्षण र प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै नेपालमा पनि उद्योगको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न आवश्यक नीतिगत सहयोग गर्नुपर्ने बताए । विगतमा खाद्यान्नलगायत विभिन्न वस्तुको प्याकेजिङमा जुट सामग्रीको प्रयोग बढाउने नीति अघि सारिएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल शाहले जुट उद्योग नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए ।
इन्भाइरोन्मेन्टका उपाध्यक्ष रविशंकर सैँजुले जुट उद्योगसँग सम्बन्धित कार्यपत्र र अनुसन्धानकर्ता रुपेश थाहले प्रस्तुत गरेका थिए । कार्यक्रममा कोशी प्रदेशमा सञ्चालनमा रहेका जुट उद्योगसहित विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो । नेपालमा औद्योगिकीकरणको सुरुवाती चरणदेखि नै योगदान दिँदै आएको जुट उद्योगले पछिल्लो समय भोगिरहेका समस्या, उद्योगको भविश्य र संरक्षणका उपायबारे छलफल गरिएको हो ।