काठमाडौं, विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी वित्तीय शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्तालाई सशक्त बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले आयोजना गरिरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ यही असोज १९ गतेदेखि २५ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङले असोज २१ गते इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस, काठमाडौंमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि वित्तीय शिक्षा तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ पनि कम्पनीका प्रतिनिधिहरूले दिएका थिए ।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित कार्यक्रममा लगानीकर्ता सचेतना, डिजिटल माध्यमबाट हुने लगानी तथा पुँजीबजारसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, मर्चेन्ट बैंकिङका काम, सेवा तथा पुँजीबजारमा यसको भूमिकाबारे पनि सहभागीलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । कार्यक्रमले विद्यार्थी तथा अन्य सहभागीमा पुँजीबजार र सेयर लगानीसम्बन्धी आधारभूत ज्ञान तथा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । विशेषगरी डिजिटल माध्यमबाट हुने लगानीका क्रममा आवश्यक जानकारी र सावधानीबारे ज्ञान हासिल गर्दा सहभागीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो । कम्पनीले पुँजीबजार सम्बन्धी सेवा प्रदान गर्नुका साथै लगानीकर्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।