धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युरोपका विभिन्न सहरहरूमा साइबर आक्रमणको नयाँ स्वरूप देखापरेको जनाएका छन् । सोमबार युरोपका सुपरमार्केटहरूमा भएको ह्याकिङ आक्रमण स्विडेनदेखि बेल्जियमसम्म फैलियो । यस आक्रमणका कारण सुपरमार्केटका फ्रिज र फ्रीजरहरू प्रभावित भए र धेरै पसलहरूले बिग्रिएको खाद्य सामग्री फाल्न बाध्य भए । यो घटना गत महिना फ्रान्समा भएको यस्तै प्रकारको साइबर आक्रमणसँग मिल्दोजुल्दो देखिएको छ ।
यस साइबर आक्रमणका कारण दर्जनौँ सुपरमार्केटका रेफ्रिजेरेटर र फ्रिजरहरूको तापक्रम असामान्य रूपमा बढ्यो । यसबाट बेल्जियम र लक्जेम्बर्गका सुपरमार्केट समूह अहोल्ड डेलहाइज र कोल्रुइट, साथै स्विडेनका आईसीए र कुपजस्ता किराना पसलहरू प्रभावित भए । फर्निचरदेखि लिएर प्रसिद्ध मिटबलसम्म बिक्री गर्ने आइकियाका कम्तीमा एक स्टोर पनि यस आक्रमणबाट प्रभावित भएको थियो । स्टकहोमस्थित आईसीए फ्रेन्चाइज स्टोरका एक बिक्री प्रबन्धकका अनुसार यो साइबर आक्रमण स्थानीय समयअनुसार बिहान २ः०० बजे भएको थियो । तर यसको असर केही घण्टापछि मात्र थाहा भएको थियो ।
‘हाम्रो प्रणालीमा साइबर आक्रमण भएको छ र त्यसका कारण हाम्रो सबै फ्रिजरहरूको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ ।’ हालै भएका यी घटनाहरू गत महिना फ्रान्समा भएको साइबर आक्रमणपछि भएका हुन् । त्यसबेला प्रहरीले ह्याकरहरूले सयौँ सुपरमार्केटका शीतलन (कुलिङ) प्रणालीमाथि नियन्त्रण कब्जा गरेको, जसका कारण केही स्थानमा आगलागी भएको र ठूलो परिमाणमा खाद्य सामग्री नष्ट भएको जनाएको थियो । यी दुवै साइबर आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै व्यक्ति वा समूहले स्वीकार गरेको छैन । तर, हालका सुरक्षा तनावहरू बढ्दै गएका बेला यस्ता घटनाहरूले युरोपेली अधिकारीहरूमा पूर्वाधारमाथि हुने हाइब्रिड (मिश्रित) खतराहरूप्रति गम्भीर चिन्ता बढाएको छ ।
रेफ्रिजेरेटर र ताप नियन्त्रण प्रणालीदेखि सुरक्षा क्यामेरा र अलार्मसम्म, पहिले प्रायः यान्त्रिक रूपमा मात्र सञ्चालन हुने उपकरणहरूको दायरा अहिले विस्तार हुँदै गएको छ । यस्ता उपकरणहरूलाई अब टाढाबाट निगरानी गर्न र नियन्त्रण गर्न सकिने भएको छ, जसले साइबर अपराधीहरूका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । सोमबार प्रभावित भएका केही रेफ्रिजेरेटर एकाइहरूमा डेनमार्कको कम्पनी ड्यानफोसले विकास गरेको तापक्रम नियन्त्रण प्रविधि प्रयोग गरिएको थियो । यही प्रविधि गत महिना फ्रान्समा भएको साइबर आक्रमणको क्रममा पनि लक्षित गरिएको थियो । कम्पनीले आफ्ना ग्राहकहरूसँग मिलेर आवश्यक सुधारात्मक उपायहरू लागू गर्न काम गरिरहेको जनाएको छ ।
इन्टरनेटद्वारा जडित समाजमा, जहाँ आधारभूत पूर्वाधार, उपयोगिता सेवा र विभिन्न सेवाहरू एक–अर्कासँग जोडिएका छन्, साइबर खतरा दिनप्रतिदिन बढ्दै गइरहेको छ । भविष्यको साइबर संसारमा नेपालजस्तो देश पर्याप्त तयारी र सुरक्षा उपायविना असहाय बन्न सक्ने जोखिम रहेको छ ।