पछिल्लो समय एउटा छिमेकी देश नेपालप्रति अनुदार देखिएको पाइयो । यसको कारण के होला भन्ने अहिले चोतर्फी चर्चाको विषय बन्न पुगेको छ । खासगरी नेपाल चीनबीचको व्यापारिक सम्बन्धमा महत्वपूर्ण मानिने र उपत्यकाको व्यापारिक कारोबारमा जनजीवनसँग समेत जोडिएको तातोपानी सीमानाकाको अवरोधले व्यापारमा गम्भीर अवरोध त भयो नै बजारलाई नियन्त्रणमा राख्ने ठानिएको यस्तो कारोबार नहुँदा उपभोक्ता मारमा परको सकेत देखियो । यसले एकातिर अर्बौं रुपैयाँको कारोबार र उपभोक्ता बजारलाई मात्र होइन सरकारी राजस्वमा समेत प्रत्यक्ष असर पारिरहेको देखिन्छ । यो नाकाको अवरोध प्रकृतिले गरेको होइन अर्थात् बाढी पहिरो कारक होइन भन्ने अस्थायी रूपले तीन दिनका लागि खुलाइएको अवस्थाले नै बताउँछ । तीन दिन चल्ने ठाउँमा नाका परिचालन हुन राजनीतिक अवरोध रहेको भन्ने नै बुझ्नुपर्छ । यो भनेको एउटा छिमेकी देशसँग कूटनीतिक पहल गर्न नपुगेको हो कि भन्ने शंका जन्माउने ठाउँ हो । केही पहिले आएको भोटेकोशी बाढीले पुर्याएको क्षतिले चीनतर्फको व्यापारलाई गम्भीर असर पारेको थियो । नेपाल दशैँको चाडबाडको रमझममा थियो, जुनबेला उपभोग हुने अत्यावश्यक वस्तुहरूको ठूलो मात्रा चीनबाट आउँथ्यो । यो पटक व्यापारका लागि सहज हुँदाहुँदै उक्त नाका परिचालन भएन ।
उपत्यकाका लागि अत्यन्त सहज रूपमा रहेको तातोपानी नाका खोल्न अर्को पक्ष चीनको किन अनिच्छा कायम रहृयो भन्ने प्रश्न अहिले गम्भीर रूपले उठेको छ । यो नाकाबाट हुने व्यापारले वास्तवमा नै उपत्यकाका बजारलाई एकप्रकारले हस्तक्षेप नै गर्थे । यो पटकको दशैँमा उपत्यकाबाट बाहिरी जिल्ला जानेहरूको संख्या १५ लाखभन्दा बढी देखियो । यिनले गर्ने किनमेलमध्येको ठूलो अंश चीनतर्फबाट आउने सामान हुन्छन् । दैनिक घरायसी प्रयोगमा आउनेमा पनि त्यताका वस्तुको मूल्य अन्यत्रको भन्दा सस्ता हुने गरेको उपभोक्ताका अनुभव भएर पनि यसलाई हस्तक्षेपकारी भनिएको हुनुपर्छ । भन्न त सुरक्षा चासोका कारण नाका नखोलिएको भनिएको छ । केही पहिलेको महाभूकम्पभन्दा अघि यो नाकालाई चीनले कहिल्यै पनि सुरक्षाको चासोमा राखेको थिएन । त्यो महाभूकम्पले दुवैतर्फका यातायातमा गम्भीर अवरोध खडा गरेको थियो । त्यसपछि एउटा महामारीले पनि नाकालाई खुला हुन रोक्यो । यी क्रम चल्दा नै रसुवा नाका खुलेका हुन् । यो दशैँका लागि त्यो नाका पनि विपद्मा परेपछि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका सबैभन्दा सुलभ मानिएको अवस्थामा त्यसलाई समेत भरपर्दो रूपमा खुलाउन नसकिँदा दशैँ बजार अभूतपूर्व रूपले महंगिएको हुन सक्तछ । नाका बन्दका कारण व्यापारमा थप कठिनाइहरू भोग्नुपरेको अवस्थाले बजार प्रभावित हुनु पनि स्वाभाविक नै हो । अस्वाभाविकचाहिँ के हो भने, यो नाका खुलाउन सरकारले पहल नै गरेन भन्ने महसुस गर्नुपर्ने स्थिति आउनु ।
बढी व्यापारिक कारोबार हुने तातोपानी नाकाजस्तो सहज अरु वैकल्पिक नाका कोरला पनि होइन । यो नाकाबाट हुने कारोबारमा भौगोलिक विकटता र मौसम प्रमुख समस्यामा परिरहेका देखिन्छ । यी नाकाबाट हुने ढुवानीमा अत्यधिक खर्च लाग्ने र आपूर्तिमा पनि अतिरिक्त ढिलाइ हुने हुन्छ । छिमेकी देश चीनबाट सामान आयात गर्ने नेपाली व्यवसायीले सहज रूपमा व्यापार गर्ने नाका भनेको तातोपानी नै हो त्यो नपाउँदा वा अवरोधमा पर्दा चाडपर्वको मुखमा लत्ताकपडा, जुत्ता, गाडी र अन्य उपभोग्य वस्तु नाकामै तथा बाटोमा अलपत्र परेका समाचारहरू प्रमुख रूपमा आइरहेका छन् । नेपाल चीनसँग जोडिएका १४ वटा नाका सञ्चालनमा रहेको बताइन्छ । तातोपानीबाहेक यी सबै नाका व्यावसायिक दृष्टिले भरपर्दो र सहज आवागमनको रूपमा मानिँदैनन् । यी नाकाबाट हुने कारोबारमा भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार, बाढीपहिरो आदिले अवरोध पारिहेका हुन्छ । यो दृष्टिबाट सरकारले कम्तीमा चाडपर्वका बेला मात्रै भए पनि यीमध्ये सहज नाका खुलाउन लाग्नु पर्दथ्यो । नयाँ सरकारले गरेको यस्तो पहललाई अर्को पक्षले पनि स्वीकार गर्ने थियो होला भन्ने अपेक्षा हो । सरकारले आफ्नो कौशलता देखाउने अवसर नगुमाओस् ।