विराटनगर, विजया दशमीको बिदासँगै भित्रिन लागेको दोस्रो ठूलो चाड तिहारका लागि आवश्यक उपभोग्य वस्तुको आयात बढेसँगै विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार देखिएको छ ।
चालू आर्थिक वर्षको असोज महिनामा एलपी ग्यास र भटमासको कच्चा तेलको आयात उल्लेख्य हुँदा भन्सार कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्न सफल भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित एकीकृत जाँच चौकीमा रहेको भन्सार कार्यालयले असोजमा राजस्व संकलन लक्ष्यको एक सय २६ प्रतिशत पुगेको जानकारी दिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतले असोज महिनामा आयात भएका वस्तुमध्ये एलपी ग्यास र भटमासको कच्चा तेलले प्रमुख स्थान लिएको बताए ।
उक्त अवधिमा नौ अर्ब १५ करोड २२ लाख ७० हजार रुपैयाँबराबरको ६९ लाख ५७ हजार नौ सय ७० किलोग्राम एलपी ग्यास आयात भएको छ । त्यस्तै चार अर्ब ८६ करोड ७१ लाख ४७ हजार रुपैयाँबराबरको दुई करोड ४९ लाख पाँच हजार लिटर भटमासको कच्चा तेल विराटनगर नाकाबाट मोरङ सुनसरी औद्योगिक करिडोरमा भित्रिएको विराटनगर भन्सारले सार्वजनिक गरेको छ ।
भर्खरै गएको दशैँ तथा आउँदो तिहार चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढेकाले त्यसको प्रभाव आयातमा समेत देखिएको भन्सार कार्यालयले दाबी गरेको छ । दशैँको असोजमा तयारी कपडाको आयात पनि उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा १२ लाख १९ हजार एक सय ५९ थान तयारी कपडा आयात भएको छ । यसरी असोज महिनामा राजस्व संकलनले लक्ष्य पार गरे पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको समग्र प्रगति भने लक्ष्यभन्दा कम रहेको भनाइ विराटनगर भन्सारको छ ।
कार्यालयले साउनदेखि असोजसम्मको तीन महिनामा निर्धारित लक्ष्यको ९५.८२ प्रतिशत राजस्व मात्रै संकलन गरेको जानकारी दिएको छ । तर गत आर्थिक वर्षको असोजमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८२.५१ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । यो वर्ष गत वर्षको सोही अवधिको तुलनामा असोज महिनाको राजस्व असुलीमा सुधार देखिएको भन्सार कार्यालय बताएको छ । यसरी एक महिनाको राजस्व संकलन लक्ष्यभन्दा बढी भए पनि पहिलो त्रैमासिकको समग्र लक्ष्य भने पूरा हुन सकेको छैन ।