सोलुखुम्बु, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकोप्टर एक–आपसमा ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
हेलिकोप्टर दुर्घटनामा भारत–तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेल घाइते भएका हुन् । उनीहरुलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए । हेलिकोप्टर दुर्घटना हुँदा फिस्टेल एयरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । मंगलबार बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकोप्टर दुर्घटनाको छानबिन सुरु गरेको छ । क्यानले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको जानकारी दिएको हो । छानविनबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने क्यानले जनाएको छ । मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको पनि क्यानले जानकारी दिएको छ ।