काठमाडौं, ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा एनआईसी एसिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पुँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कास्कीको पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेसनल कलेजमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीलाई बचत, लगानी र पुँजी बजारका विविध पक्षबारे जानकारी दिइएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही अभियानलाई निरन्तरता दिँदै शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले विद्यार्थीलाई सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न र बचत भएको रकमलाई उपयुक्त क्षेत्रमा लगानी गर्न प्रेरित गरेका थिए ।
कार्यक्रममा रायमाझीले विद्यार्थी जीवनमा समेत थोरै रकम बचत गरेर भविष्यका लागि आर्थिक आधार तयार गर्न सकिने बताए । उनले बचत गरिएको रकमलाई सरल र व्यवस्थित तरिकाले लगानी गर्ने उपायबारे जानकारी दिँदै धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, मुद्रा बजारका उपकरण, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) तथा एसआईपी (व्यवस्थित लगानी योजना) लगायतका विषयमा प्रकाश पारेका थिए ।
त्यसैगरी, दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयरमा लगानी गर्ने प्रक्रिया, लगानीसम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने पक्ष तथा समग्र पुँजी बजारको पछिल्लो अवस्थाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो । लगानी गर्नुअघि सम्बन्धित कम्पनीको वित्तीय अवस्था, जोखिम र सम्भावित प्रतिफलको अध्ययन गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा विद्यार्थी तथा प्राध्यापकहरूको सहभागितामा मुद्रा बजारका उपकरण, पुँजी बजारको वर्तमान अवस्था र लगानी गर्दा अपनाउनुपर्ने सावधानीबारे अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामार्फत सहभागीहरूले लगानीसम्बन्धी जिज्ञासा राख्दै वित्तीय साक्षरताबारे थप जानकारी लिएका थिए । कार्यक्रममा एक सय जना भन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कलेजका कर्मचारीहरूको सहभागिता रहेको एनआईसी एसिया क्यापिटलले जनाएको छ ।