काठमाडौं, सन सेक्युरिटिज प्रालिको आयोजनामा इस्लिङ्टन कलेजको सहकार्यमा विद्यार्थीका लागि सञ्चालन गरिएको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ । भदौ ८, २०८३ देखि सुरु भएको प्रतियोगिता ३० दिनसम्म सञ्चालन गरिएको थियो । विद्यार्थीलाई सेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले सिमुलेसन प्लेटफर्ममार्फत सेयर खरिद–बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका थिए ।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूले सेयर बजारका गतिविधि तथा विभिन्न कम्पनीको प्रदर्शनको विश्लेषण गरी लगानी र कारोबारसम्बन्धी निर्णय लिएका थिए । वास्तविक रकम लगानी नगरी सिमुलेसनमार्फत बजारको अभ्यास गर्ने अवसर पाएका विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्ने अवसर प्राप्त गरेका आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार अजजुरना पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हासिल गरेका छन् । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै सुनिल भण्डारी प्रथम उपविजेता बन्दै १५ हजार रुपैयाँ तथा स्नेहा गुमर द्वितीय उपविजेता बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पुँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सन सेक्युरिटिजले जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई सेयर बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन, जोखिम पहिचान गर्न तथा सही लगानी निर्णय गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । सन सेक्युरिटिजले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै विजेता अजजुरना पाण्डे, प्रथम उपविजेता सुनिल भण्डारी र द्वितीय उपविजेता स्नेहा गुमरलाई बधाइ दिएको छ ।
प्रतियोगिता सफल बनाउन सहकार्य तथा सहयोग गर्ने इस्लिङ्टन कलेज र मनीमेकर्स इन्स्टिच्युसनल कम्युनिटीप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ । सन सेक्युरिटिजले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पुँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।