काठमाडौँ, स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।
बोर्डका प्रवक्ता डा पवनकुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिए। “हामीले बिमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ”, उनले भने , “अबदेखि दर्ता सहयोगीविना बिमा आबद्धता, नवीकरणलगायत सबै काम हुन्छन् ।”
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनमार्फत बिमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको प्रवक्ता शाहले बताउनुभयो । उहाँका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त प्रणालीमार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमालेख नवीकरण गर्न सक्नेछन् । अहिले बिमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।
थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । रासस