ललितपुर, आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । भाद्र कृष्ण अष्टमीलाई हिन्दू धर्मअनुसार द्वापर युगमा कृष्ण जन्माष्टमी पर्वका रुपमा मनाइएको हुँदा भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीकै दिन भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रहेको छ ।
हरेक वर्ष जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । मन्दिरमा पूजा अर्चनाका लागि दक्षिण र उत्तरतर्फ भक्तजनहरुको लाइन लागेको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
मन्दिर परिसरमा भक्तजनको सुविधाको लागि मङ्गल टोलसुधार समितिले स्वास्थ सेवा र पानीको व्यवस्थापन गरेको छ । शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेका छन् भने लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरु खटिएका छन् ।