काठमाडौं, भारतको ड्रोन निर्माता कम्पनी गरुडा एरोस्पेसले रसुवा बाढी प्रभावितहरूको लागी राहत वितरणमा सहयोग गर्न ड्रोन परिचालन गर्ने भएको छ ।
कम्पनीका अनुसार बाढीबाट रसुवा जिल्लामा सडक, दूरसञ्चार तथा अत्यावश्यक आपूर्ति प्रणालीमा व्यापक क्षति पुगेपछि उद्धार तथा राहत सामग्री पु¥याउन ड्रोन प्रयोग गर्न लागिएको हो । गरुडा एरोस्पेसले प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी क्षतिको द्रुत मूल्यांकन गर्न, आपत्कालीन उद्धार टोलीलाई सहयोग गर्न तथा परम्परागत यातायातमार्फत पुग्न कठिन क्षेत्रसम्म राहत पहुँच विस्तार गर्न ड्रोन प्रयोग गर्ने जनाएको छ ।
राहत अभियानअन्तर्गत कम्पनीले ‘सञ्जीवनी’ लजिस्टिक्स ड्रोन परिचालन गरेको छ । उक्त ड्रोनले एकपटकमा २५ किलोग्रामसम्म सामान बोक्न सक्ने कम्पनीको दाबी छ । यसमार्फत बाढीका कारण अलग्गिएका तथा प्रभावित समुदायमा खाद्यान्न, औषधि र पानीजस्ता अत्यावश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइनेछ ।
पहाडी तथा चुनौतीपूर्ण भूगोलमा राहत अभियानलाई निरन्तरता दिन कम्पनीले ब्याट्री प्रणाली, सञ्चार तथा ग्राउन्ड–सपोर्ट उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । आवश्यकताअनुसार प्रमाणित ड्रोन पाइलटसमेत परिचालन गरिने कम्पनीले बताएको छ । गरुडा एरोस्पेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अग्निश्वर जयप्रकाशले विपद्को समयमा समुदायलाई सहयोग गर्नु कम्पनीको प्राथमिकता रहेको बताए । दुर्गम तथा पहुँच कठिन भएका क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउन ड्रोन र आफ्ना टोलीले सहयोग गर्ने उनको भनाइ छ । गरुडा एरोस्पेसले भारतमा पनि विपद् व्यवस्थापन, आपत्कालीन सेवा तथा मानवीय राहतका क्षेत्रमा ड्रोन प्रयोग गर्दै आएको जनाएको छ ।