काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको राससलाई जानकारी दिए ।

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उनीहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुगेका थिए ।
गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गरेका छन् ।