काठमाडौं, एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग रुपैयाँ सहयोग गरेको छ । एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो । यससँगै, फोनपे र इसेवा मार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुप आभार व्यक्त गरेको छ ।
ग्रुपका अनुसार हालसम्म इसेवाका एक लाख २९ हजार १३ प्रयोगकर्ताले नौ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् भने फोनपेका आठ लाख ६२ हजार चार सय ४५ प्रयोगकर्ताले दुई अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार आठ सय ५८ प्रयोगकर्ताले चार करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत दुई हजार नौ सय ६५ प्रयोगकर्ताले एक करोड ६३ लाख सहयोग गरेको ग्रुपले जनाएको छ ।