काठमाडौं, गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको बुधबार निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिरअगाडि उनी अचेत अवस्थामा भेटिएका थिए ।
तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
‘अचेत अवस्थामै उहाँलाई अस्पताल पु¥याएका थियौँ’, प्रवक्ता मल्लले भने, ‘चिकित्सकले उपाध्यायको निधन भइसकेको जानकारी गराए ।’ उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको र उनको परिवारका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रवक्ता मल्लले जानकारी दिए । उनी साहित्यमा पनि कलम चलाउँथे ।