काठमाडौं, नबिल बैंक लिमिटेडले पाँच दशमलव पाँच प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक पाँच दशमलव पाँच प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कूल दुई अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ ।
साथै, १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ६० करोड ऋणपुँजी रकम (सोमध्ये पाँच प्रतिशत अर्थात् ६५ हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका दुई सय ६३ शाखा सञ्जाल र तीन सय १५ वटा एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।