कुनै बेला मानव सभ्यताको प्रारम्भिक समयमा यो पृथ्वी आजजस्तो राष्ट्रिय सीमा र बन्देजले विभाजित थिएन । न पासपोर्ट थियो, न भिसाको व्यवस्था, न त आज हामीले देखेजस्तो देशको सीमा । मानिसले आफ्नो आवश्यकता र परिस्थितिअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गथ्र्यो । जसले जहाँ सुरक्षित ठाउँ भेट्यो, त्यहीँ बस्यो, जहाँ खाना र पानी पायो, त्यहीँबाट आफ्नो जीवन चलायो ।
ढुङ्गे युगमा मानिसको जीवन आजको जस्तो विकसित र सुविधासम्पन्न थिएन । भविष्यको लामो योजना र आधुनिक जीवनशैलीभन्दा तत्कालको आवश्यकता पूरा गर्नु उसको प्राथमिकता थियो । खाना, पानी, आश्रय र सुरक्षाका लागि उसले प्रकृतिसँग संघर्ष गर्दै जीवन बितायो । उसका प्रमुख चुनौतीहरूमा जङ्गली जनावर, बाढी, पहिरो, मौसम परिवर्तन तथा प्रकृतिका अन्य जोखिमहरू थिए ।
बिस्तारै मानिसले प्रकृतिलाई बुझ्दै गयो, नयाँ सीप सिक्दै गयो र मानव सभ्यताको विकास हुँदै गयो । यही विकासक्रमसँगै मानिसले स्थायी बस्ती बसाल्न थाल्यो, कृषि गर्न थाल्यो, समाज निर्माण गर्यो र पछि राज्य तथा देशहरूको अवधारणा विकास हुँदै गयो । त्यसपछि मानिसले आफ्नो भूभाग छुट्याउँदै सीमा बनाउन थाल्यो । मानव सभ्यताको विकास हुँदै गयो । मानिसले बुद्धि र विवेकको प्रयोग गर्दै नयाँ–नयाँ आविष्कार गर्न थाल्यो । सक्नेले विकास गर्दै गए । मान–सम्मानको खाँचो पर्यो । त्यससँगै लोभ, द्वेष र ईष्र्या पनि बढ्दै गयो । युद्ध हुन थाल्यो । हाते हतियारबाट आधुनिक हतियार बन्न थाले । मानिसको जनसंख्या बढ्न थाल्यो, सीमा बन्न थाल्यो अनि देश बने । त्यही देशहरू टुक्रिए र अन्य देशहरू पनि बन्न थाले ।
आफ्नो भन्ने प्यारो हुन थाल्यो । अरू पराइ हुन थाले । मानिस–मानिसबीचको सम्बन्धमा पनि सीमा र विभेद देखिन थाल्यो । धनी र गरिबको तुलना हुन थाल्यो । कतै खाना धेरै हुन थाल्यो भने कतै मानिसहरू भोकमरीमा बाँच्न बाध्य भए । सीमा छुट्टिएसँगै मानिसको दर्जा छुट्टियो । धनीले गरिबलाई हेर्ने दृष्टिकोणमा झन् फरक हुन थाल्यो । कतै असंख्य विकास भयो भने कतै गरिबीले चरम संकटको रूप लिन थाल्यो । हुनेले नहुनेलाई दिनका लागि विभिन्न संस्था बनाए । सहयोगका संरचना बने । तर विडम्बना के भयो भने हुनेले नहुनेलाई जहिल्यै दबाउन पनि लाग्यो । आफू सुप्रिम हुन अरूलाई तल झार्ने होडबाजी चल्न थाल्यो । शक्ति, पैसा र पहुँच मानिसको मूल्यांकन गर्ने आधार बन्न थाले ।
एकातिर मानिसले विभेद बढाउँदै लगे । एक देशबाट अर्को देश जान पासपोर्ट र भिसाको व्यवस्था हुन थाल्यो । जात, धर्मको लडाइँ र शक्तिको लडाइँ हुन थाल्यो । मानिसले मानिसलाई छुट्याउँदै गयो । तर अर्कोतिर हामीले सीमा लगाए पनि आखिर प्रकृतिलाई भने सीमा नलाग्दो रहेछ । यो हावालाई सीमा नलाग्दो रहेछ । यो खोला–नाला, यो बादल, यो वर्षा, यो वनस्पतिबाट आउने अक्सिजनलाई सीमा नलाग्दो रहेछ । प्रकृतिका यी तत्वहरूलाई हामीले बनाएका राजनीतिक सीमाहरूले रोक्न सक्दैनन् ।
आखिर हामीले सीमा लगाए पनि एक देशको हिमताल फुट्दा त्यो देशको साथै अर्को देशमा पनि विध्वंस मच्चिँदो रहेछ । एक देशको दूषित हावाले अर्को देशलाई पनि वातावरण दूषित हुने रहेछ । आगलागी हुँदा आगोले सीमा नभन्ने रहेछ, न त बाढीले नै सीमा भन्ने रहेछ । एउटा ठाउँमा भएको वातावरणीय क्षतिको असर अर्को ठाउँसम्म पुग्न सक्छ ।
प्रकृतिले कसैलाई अन्याय गरेको त छैन नि । तर हामी मानिस–मानिसबीच त यो सीमा छ, यो भेदभाव छ, गरिब र धनी भन्ने तुलना छ । देश धनी हुँदा जनताले सुख पाउँछन्, सुविधा पाउँछन्, अवसर पाउँछन् । तर देश गरिब हुँदा मानिसहरू यी सबै कुराबाट वञ्चित किन ? प्रकृतिले त उस्तै प्रकारको सुविधा दिएको छ भने मानिसले किन भेदभाव गरेको होला ?
एक देशको चरा अर्को देश जान सक्छ । एक देशको बादल अर्को देश जान सक्छ । एक देशका जीवजन्तु अर्को देश जान सक्छन् । एउटा देशमा उम्रिएको वनस्पतिको बीउ हावा, पानी वा चराचुरुङ्गीमार्फत अर्को देशसम्म पुग्न सक्छ । तर मानिसलाई सीमा छ, बन्देज छ । अझ दुःखको कुरा, त्यो बन्देज पनि सबैलाई समान छैन । धनीको पासपोर्ट बलियो रे, गरिबको कमजोर रे । हुनेले सिधै जहाँ पनि जान पाउने रे, तर नहुनेलाई यो बन्देज किन ?
मानिसले आफ्नो आर्थिक हैसियतअनुसार संसारको ढोका खोल्न र बन्द गर्न थालेको जस्तो देखिन्छ । एउटा देशमा जन्मिएको मानिसले अर्को देशमा अवसर खोज्न चाहँदा उसको आर्थिक अवस्था, पासपोर्टको शक्ति, भिसा र अन्य धेरै कुराले उसको बाटो निर्धारण गर्छ तर प्रकृतिले भने यस्तो प्रश्न सोध्दैन । उसले धनी र गरिब छुट्याउँदैन । एक देशले कार्बन उत्सर्जन गर्छ तर अर्को देशलाई त्यसको असर हुन्छ । सक्नेले प्रकृतिलाई बिगार्छन्, आकाशलाई दूषित गर्छन्, धर्तीलाई बिगार्छन्, तर त्यसको भागीदार चाहिँ सबै हुनुपर्ने । त्यसो भए संसार साझा घर किन नभएको ? एकलाई पर्दा किन अर्को हुनेखाने मुकदर्शक भएर बस्ने ?
युद्धमा अरबौँ डलर खर्च गर्नेले पीडित र चाहेकालाई किन उद्धार गरी सहयोग गर्न नसकेको ? हतियार बनाउन, युद्ध लड्न र एक–अर्कालाई कमजोर बनाउन खर्च गर्न सकिने पैसा भोक, गरिबी, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा खर्च गर्न किन नसकिने ? मन्दिर, मस्जिद, चर्च, गुम्बा र आ–आफ्नो भगवान्को नाममा प्रार्थना गर्न सक्नेले किन पीडितलाई मलम लगाउन नसकेको ? हो कतिले त लगाएका पनि छन् तर उदार मनले गरेको पाइँदैन ।
धर्मले मानिसलाई करुणा, मानवता र सहयोग सिकाउँछ भने संकटमा परेको मानिसलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म होइन र ? देखाउनु छ भने जे पनि गर्दछ मानिस, त्यसैले संसार देखाउनलाई मात्र रहेछ, गरिखान त सबैले सक्छन् यदि अवसर पायो भने तर किन सबैलाई समान विकास गराउन अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्न नसकेको ? के प्रकृतिले समान व्यवहार सबैलाई गर्छ भने मानिसले मात्र किन छुट्याएको ? के हामी सबै मिली संसारलाई हरियाली, प्रदूषणमुक्त र बस्नलायक पृथ्वी बनाउन सक्दैनौँ र ? के विकाससँगै विनाश मानव जातिले खोजेको हो र ? मानिस बाहेक अरू कुनै पनि प्राणीले यो संसारमा खुलेर रम्न नपाउने हो र ?
हो संसारमा विकास आवश्यक छ । मानिस शक्तिशाली बन्न चाहन्छ, नयाँ प्रविधि विकास गर्न चाहन्छ, राम्रो जीवन जिउन चाहन्छ । तर विकासको नाममा प्रकृतिको विनाश नै अन्तिम लक्ष्य हुनु हुँदैन । शक्तिशाली बन, शक्ति देखाऊ, तर पृथ्वीलाई जलवायु परिवर्तन हुनबाट जोगाऊ । बस्नलायक बनाऊ । सीमा हामीले तोके पनि प्रकृति सबैको साझा हो । आफू हरेक व्यक्ति, र देशले गरेको गल्तीले अरूलाई भागीदार नबनाऊ ।
यो पानी सबैको साझा हो । यो माटो सबैको साझा हो । यो वनस्पति, यो वन–जङ्गल, यो हरियाली सबैको साझा हो । यो आकाश, धर्ती, चन्द्र, सूर्य सबैको साझा हो । हामीले देशका नाममा भूगोल छुट्याए पनि प्रकृतिका आधारभूत स्रोतहरूलाई त्यसरी छुट्याउन सकिँदैन ।
एक देशको मानिस अर्को देश जाँदैमा उसले फेर्ने श्वासको हावा अर्को देशको हावामा फरक हुँदैन । प्रकृति उही, उपभोग गर्ने उही । बस फरक मानिसले मात्र गर्दा हो । एउटा देशको चिसो हावा अर्को देशमा जान पाउँछ र अर्को देशको तातो हावा अर्को देशमा जान्छ । त्यसको साथै स्वच्छ हावा, पानी र अस्वस्थ हावा, पानी पनि एक–अर्का देशमा गइरहेका छन् तर विभेद भने मानिसलाई मात्र छ ।
सीमा बनायौँ, बन्देज लगायौँ, तर एकलाई पर्दा अर्कोले होस्टेमा हैंसे गर्नुपर्नेमा एकले अर्कोसँग लडाइँ, झगडा र दोषारोपण हुने गरेको छ । विनाशसँगै हामी एक–अर्कालाई दोष दिइरहेका छौँ । संसारमा प्राकृतिक विपत्ति बढिरहेको छ । विश्व वातावरणमा अस्वस्थता मानिसकै गतिविधिका कारण पनि बढिरहेको छ । वन विनाश, अत्यधिक कार्बन उत्सर्जन, अव्यवस्थित सहरीकरण, नदी तथा प्राकृतिक स्रोतको अतिक्रमण र प्रदूषणले प्राकृतिक जोखिमलाई अझ गम्भीर बनाउन सक्छ । प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा मानिसले सिर्जना गर्छ भन्ने होइन, तर मानिसका गतिविधिले त्यसको असर र जोखिम बढाउन सक्छन् । यस्तो साझा समस्या सीमाले हुँदैन । यस्तो साझा समस्यालाई पृथ्वी सबैको साझा घरको रूपमा सम्झेर अगाडि बढ्नुपर्दछ ।
चीनमा बाढी आयो, नेपालले क्षति भोग्नुपर्दछ । कुनै दिन नेपालको बाढीले भारतलाई असर गर्ला । वा आफ्नै देशमा आएको प्राकृतिक विपत्तिले पनि त्यही ठाउँलाई असर गर्ला, छिमेकी भनेको अन्य कुरालाई सीमा होला, तर वातावरण जोगाउने अवस्थामा हातेमालो गर्नैपर्दछ । नदी, हावा, बादल, हिमाल, वन र वातावरणलाई देशको नक्साभित्र मात्र सीमित गरेर संरक्षण गर्न सकिँदैन । आज एउटा देशमा भएको वातावरणीय समस्या भोलि अर्को देशको समस्या बन्न सक्छ । आज हामीले गरेको प्रदूषणको असर भोलिका सन्ततिले भोग्न सक्छन् । त्यसैले प्रकृति संरक्षण कुनै एउटा देशको मात्र जिम्मेवारी होइन । यो संसारका सबै मानिसको साझा जिम्मेवारी हो ।
हामी मानिस नै प्राकृतिक विनाशको जड हौँ भन्ने कुरा पूर्ण रूपमा बुझ्न आवश्यक छ । पृथ्वी सबैको साझा घर हो । यसलाई सबैले माया गर्नुपर्दछ । वायु प्रदूषण, ध्वनि प्रदूषण, माटो प्रदूषणलाई कम गराउन सबैको सहकार्य आवश्यक छ । हुनेले नहुनेलाई सहयोग गरौँ । सन्ततिलाई माया गर्छौँ भने इकोसिस्टममा बाँच्न सिकौँ । प्रकृतिलाई दोहन गरेसँगै प्रकृतिलाई बचाउने कोसिस गरौँ ।
हामीले आफ्ना सीमाहरू बनाएका छौँ, आफ्ना देश बनाएका छौँ, आफ्ना कानुन बनाएका छौँ । यी सबै मानव समाजलाई व्यवस्थित गर्न आवश्यक पनि छन् । तर यी सीमाहरूले हाम्रो मानवता, हाम्रो जिम्मेवारी र हाम्रो साझा प्रकृतिप्रतिको दायित्वलाई सीमित गर्नु हुँदैन ।देश फरक हुन सक्छन्, भाषा फरक हुन सक्छ, संस्कृति फरक हुन सक्छ, धर्म फरक हुन सक्छ, आर्थिक अवस्था फरक हुन सक्छ । तर हामीले फेर्ने हावा उही हो । हामीले पिउने पानी प्रकृतिको हो । हामी बाँच्ने पृथ्वी एउटै हो । त्यसैले अब प्रश्न गर्ने र अगाडि बढ्ने बेला आएको छ कि केवल ’मेरो देश’ को वातावरण मात्र राम्रो होइन, ’हाम्रो पृथ्वी राम्रो पृथ्वी’ को नारा हुनुपर्छ । त्यसैले हामीले आफ्नो देशलाई माया गरौँ, आफ्नो सीमा र राष्ट्रिय पहिचानलाई सम्मान गरौँ । तर त्यसभन्दा माथि मानवता र पृथ्वीप्रतिको साझा जिम्मेवारीलाई पनि बुझौँ ।
सीमाले देश छुट्याए पनि हावालाई छुट्याउन सक्दैन । सीमाले नदीलाई रोक्न सक्दैन । सीमाले बादललाई रोक्न सक्दैन । सीमाले आगोलाई रोक्न सक्दैन । सीमाले बाढीलाई रोक्न सक्दैन । सीमाले प्रदूषणलाई रोक्न सक्दैन । अनि सीमाले जलवायु परिवर्तनको असरलाई पनि रोक्न सक्दैन । त्यसैले प्रकृतिको साझा समस्याको समाधान पनि साझा प्रयासबाटै सम्भव छ । संसारमा शक्ति प्रदर्शनभन्दा प्रकृति संरक्षण ठूलो हुनुपर्छ । युद्धभन्दा शान्ति ठूलो हुनुपर्छ । प्रतिस्पर्धासँगै सहकार्य पनि ठूलो हुनुपर्छ ।
हामी हाम्रा सन्ततिलाई माया गर्छौं भने, हामीले हाम्रा सन्ततिलाई कस्तो पृथ्वी छोडेर जाने हो भन्ने प्रश्न अब हरेक मानिसले आफैँलाई सोध्नुपर्छ । के हामी विकाससँगै विनाश पनि खोजिरहेका छौँ ? के हामी आफ्ना सीमाहरू जोगाउँदा पृथ्वीलाई नै असुरक्षित बनाइरहेका छौँ ? के हामी मानिस–मानिसबीचको विभेद अन्त्य गरेर प्रकृतिसँग मिलेर बाँच्न सक्दैनौँ ? उत्तर हामीले खोज्नैपर्छ । पृथ्वी कुनै एउटा देशको होइन । यो कुनै धनीको मात्र होइन, कुनै गरिबको मात्र पनि होइन । यो सबैको साझा घर हो ।
यो पानी सबैको हो । यो माटो सबैको हो । यो हावा सबैको हो । यो वन, जंगल र हरियाली सबैको हो । यो आकाश, धर्ती, चन्द्र र सूर्य सबैका हुन् । सीमाले देश छुट्याए पनि एउटै स्वर, एउटै आवाज र एउटै बलले प्रकृतिलाई प्राकृतिक हुन दिऔँ ।
प्रकृतिलाई आफैँलाई सीमा हुँदैन, यो सीमा मानिसले बनाएको हो । आ–आफ्नो सीमा भएता पनि अब ती सीमाभन्दा माथि उठेर पृथ्वीलाई स्वच्छ र बस्नलायक बनाई साझा घरका रूपमा लिएर पृथ्वीलाई बचाउने संकल्प गरौँ ।