काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतनामूलक वेबिनार आयोजना गरेको छ ।
बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयमा भदौ १६ गते मंगलबार वेबिनार आयोजना गरेको हो । विशेषगरी ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीलाई लक्षित गरिएको उक्त कार्यक्रममा बैंकका चार सय ४६ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । वेबिनारमा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतका कार्डियाक केयरअन्तर्गत क्लिनिकल ७ इन्टरभेन्सनल कार्डियोलोजीका उपाध्यक्ष डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा हृदय तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम कारक, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्वलगायतका विषयमा जानकारी दिइएको बैंकले जनाएको छ । त्यस्तै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली अपनाएर हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको थियो । कर्मचारीको स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रम प्रभावकारी र अन्तरक्रियात्मक रहेको बैंकको भनाइ छ ।
बैंकले कर्मचारीसँगै आफ्ना ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई समेत प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यसैक्रममा बैंकका कार्डवाहक ग्राहकलाई उपचारका क्रममा थप सहजता प्रदान गर्ने उद्देश्यले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको बैंकले जनाएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल देशभरका ६१ जिल्लामा दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।