काठमाडौं, गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघको यही भदौ १५ गते बसेको बैठकले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।
साथै, बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ । बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा अन्य सम्पत्तिको विवरण प्राप्त हुनासाथ बीमा दाबी भुक्तानीको प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने संघले प्रतिबद्धता जनाएको छ । विपद्का कारण बीमितले व्यहोर्नुपरेको आर्थिक क्षति न्यूनीकरणमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले दाबीको यथाशीघ्र मूल्यांकन तथा भुक्तानीमा जोड दिइने संघको भनाइ छ ।
यसैबीच, विपद्मा परेका नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले तीन करोड ४७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघ तथा यसमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले आफ्नो तर्फबाट संकलन गरेको उक्त रकम संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
सहयोग गर्ने संस्थामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको योगदानबापत थप २६ लाख २३ हजार १८ रुपैयाँसमेत राहतका लागि हस्तान्तरण गरिएको संघले जनाएको छ । संघका अनुसार एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरू पनि राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो तर्फबाट योगदान गर्ने प्रक्रियामा रहेका छन् । रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।